२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

टोपी र बुख्याचाहरू

कविता

सोनाम सज्जन किराती

 

बुख्याचाहरू उभिन्छन्

मात्रै हो र?

ठड्याएर राखेपछि

मात्रै बुख्याचा

मान्छे जस्तै देखिन्छन्।

त्यतिबेला दिखुवा-पिखुवा खोलाहरूको

सुस्तरी हावाले छुन्छन्।

उनलाई ओढाएको

उदेकलाग्दो

नक्कली हाडखोर छोपेको

थोत्रे कपडाले हल्लिएर

रम्छन् बाँदरहरूको पाजी भएर।

ऊ हल्लिनुमा एउटा फाइदा छ

नहल्लिनुमा तस्करलाई काइदा छ

त्यसैले उसलाई

हल्लाइरहन होइन!

बतासको बाटोले कुर्नुपर्छ

र झोक्किएर उसलाई

ठोकाउँदै आउनुपर्छ

छेवैछेउ छोएर जान।

तर,

आज बुख्याचाहरू

नहल्लिने

नझुक्ने शिरहरूमा

टोपी ओढाएर

टोपी दिवस बिर्साइरहेछन्।

एकतमासले

एकमत पोका पार्न

हावाको वेगसित

लुकामारी गर्न चाहिरहेछन्।

जतिसुकै लुक्न खोजोस् न

जाबो बुख्याचा

बुख्याचा आफै सर्न सक्दैन

लुक्न र हिंड्न सक्दैन।

ऊ त्यो माथि र मास्तिर

महुरे र रुपाकोट छ

लु पुगेर देखाओस् त

हेरौं,

कहीं कतै पुग्न सक्दैनन्

यो शताब्दीका बुख्याचाहरू।

याद गर!

त्योभन्दा अझ मास्तिर त

ट्याम्के र सिलिचुङ छ

अनि मात्रै पो

चोमोलुङ पुगिन्छ त।

प्रकाशित: १३ कार्तिक २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App