मन्दिरा चापागाईं
१) ब्रम्हज्ञान
‘नेपाली साहित्यकाशको उज्ज्वल नक्षत्र हुनुहुन्छ। साहित्यानुरागीहरूको प्रेरणाको स्रोत पनि। तपाईका रचनाहरूले पुस्तकाकार लिनुअघि उहाँभन्दा अब्बल सम्पादक अर्को भेट्नु हुन्न।’ छेवैमा बसेका बुढा मान्छेको बखान गर्दै हरिले भन्यो।
‘यिनी मेरी साथी श्रद्धा मोफसलमा साहित्य रचना गर्छिन्’ परिचय गरायो। पाठकबाट राम्रो प्रतिक्रिया पाएकाले उत्साहित भएकी छन्।’
‘ठिकै छ, अलि व्यस्त छु। जोशजाँगरले ओतप्रोत नवयुवती रहिछौ। एकदुई दिनमा हेरेर खबर गरौंला।’
यतिञ्जेलमा मनले भने चर्चित हस्तीहरूले पुस्तकबारे बखान गरिरहेको आफू खादा र मालाले ढाकिएर ड्यासमा बसेको पुस्तक विमोचन भएर बधाई र ताली बजिरहेको अनुभूति गरिसकेछ।
प्रतीक्षाको घडी कति ढिलो घुमेको। बुढाले खबर गर्लान् भन्दाभन्दै तीन दिन बिते। आफैंले फोन गरें।
जोशिलो आवाजमा ‘सफलताको उचाइ र साहित्यको गहिराइ कति चाँडो नापिसकिछ्यौ’ श्रद्धाजी भने। हर्ष र संकोचले एकैपटक मन ढक्क फुल्यो।
दिउँसो चार बजे प्रज्ञाप्रतिष्ठानमा भेट्ने सल्लाह भयो। कोठामा अरू पनि तीनचार जना रहेछन्। सबैका सामु ‘यति कलिलै उमेरमा लेखन शुरू गरेर कति चाँडै भाका टिपिछन्’ भनेर प्रशंसा गरिरहँदा अरूहरू ‘बधाई छ’ भन्दै उठे।
‘तपाईंका लघुकथाहरू एकै बसाइमै पढिसकेको थिएँ।’ मुस्कुराउँदै ढोका ढप्क्याउन ईशारा गरे। असहज लाग्दै साहस बटुलेर ढोका घचेटें।
‘श्रद्धाजी! फलानो-फलानो लघुकथा कहाँबाट लिनुभयो?’ भन्छन् बा।
मैलें भनें, ‘आफ्नै मनमस्तिष्कबाट।’
आँखामा आँखा जुधाएर भने, ‘फलानो टिकटकबाट, चिलानो जोक्सबाट र हलानो पूर्व प्रकाशित कथाबाट हैन?
- छातीमा हात राखेर भन त आफूले आफैंलाई ढाट्न त गाह्रो परिरहेको छ नि?
- नानी यस्तो चलाखी सधैं टिक्दैन। तिमीमा सिर्जनशीलताको अथाह भण्डार छ। यसरी अरूको रचना तोडमोड गरेर धेरैलाई उल्लु बनाए पनि एक दिन सच्चाइ उदांगो हुँदा लज्जित हुनुपर्छ। कामकाजी मान्छेले समय श्रम छुट्याई दिमाग खर्चेर जन्माएको रचना चोरी गर्नु पाप र अपराध हो। बौद्धिक सम्पत्ति चोरीको उजुरी लाग्छ।’
डराउँदै सोधें,‘अघि अरूको सामुन्ने त खुब तारिफ गर्नुभा होइन र?’
भन्छन् नि ‘प्रशंसा सबैको सामुन्ने गर। कमजोरी उसैलाई मात्र सुनाऊ।’
२) विश्वास
कतारमा राम्रै कमाएर आएको हो विकास। भड्किलो पहिरन महँगो अत्तरको सुवासमा मगमगाउँदै हाँसीखुशी हिंडेका भेटिन्छ्न् विकास र विना।
एकदिन म पढिरहेको देखेर भनेका थिए,‘जागिर पास गर्न सक्ने होइन, आइमाईले पढेर के काम नि?’
सधै हँसिलो देखिने विकास हिजोआज फेरि अस्वाभाविक देखिन थालेको छ रे। प्रेसर बढेर काँचै तिते करेला कोपर्दै हिंड्छ रे।
फेरि विना पनि मलेसिया गएर सम्पर्कविहीन पो भाकी छन् रे भन्ने सुनें।
मन मानेन। वास्तविकता बुझ्न गएँ। पति र पत्नीको कुराकानी नभएको वर्षौं भएछ। छोडपत्र गर्ने सोचमा रहेछ ऊ।
गाली गरें, ‘दुवैको मन्जुरी बेगर हुन्छ छोडपत्र? विनालाई झिका।’
‘मेरो पाँच वर्षको पसीनाको कमाइ र जायजेथा डुबाएर हिंडेकी छ’ भन्यो।
धेरै प्रयासपछि विना सम्पर्कमा आइन्। जीवनप्रतिको आशा मारिसकेर विक्षिप्त रहिछन् उनी। जति सम्झाउँदा पनि आउन मानिनन्। मैले धेरै कर गरेपछि ‘श्रीमान् र साहुहरूले मार्छन्’भनिन्।
जब राज्यसँग त आफ्ना नागरिकको ज्यान लिने अधिकार छैन भने तिमीलाई मार्ने तिनीहरू को हुन्? सबै तारतम्य म मिलाउँछु भनें।
उनी मलेसियाबाट सिधै मेरो घरमा आइन्। भोलिपल्टै ढुकुटी कारोबारीका गुनासो सुनें र आफ्ना कुरा राखें।
यो पैसो भन्नु आफैंमा कागजको खोस्टोबाहेक केही होइन। विना सहित तपाईंहरूको विश्वासमा कसैले घात गर्यो। विना स्वयं पीडित छन्।
तपाईंहरूको कार्य गैरकानुनी भएकोले कतै उजुरी लाग्दैन। बरु विनालाई डर,त्रास र धम्की दिएर परदेशिन बाध्य पार्नुभएकाले कानुनले समाउँछ तपाईंहरूलाई।
‘मेरो विश्वास गर्नुहुन्छ भने सबै सदस्य खोजेर बराबर जायजेथा भाग लगाउनुस् र सबैको पैसा सबैले तिर्नुस्। कल्याण त्यसैमा छ।’
मेरो कुरामा सबै विश्वस्त भए। विनालाई विकासको जिम्मा लगाएँ। दुवै खुशी भए।
त्यो दिन उनीहरूले मलाई ‘जागिर पास गर्न नसकेपछि पनि आइमाईले पढेर के काम?’ भनेको पश्चातापका चिन्ह मुहारमा सल्बलाएका प्रष्ट देखिन्थे।
मलाई भने ढुकुटीले उजाडिएको उनीहरूको संसारमा हराभरा बन्ने विश्वासको सुखानुभूतिले हर्षित तुल्यायो।
३) पहिचान
कोरोनाको लुकीछिपीले उसको परिवारमा अभाव थियो। बाबु र आमा छोरीको स्कुल फि कसरी तिर्ने भनेर चिन्तामा परेका थिए। उसले बुबाआमाका कुरा सुटुक्क सुनेकी थिई। ऊ बुज्झकी र प्रतिभाशाली थिई।
एकदिन सिरानीबाट बुबाको मोबाइल खुसुक्क तानी। लामो समयदेखि निष्क्रिय रहेको फेसबुक खोली। उदास आँखाले निकास खोजिरहेका थिए। राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता र प्रथम पुरस्कारको राशि बीस हजारमा ठोक्किए। हत्तपत्त नाम दर्ता गराई।
विषयवस्तु सम्बन्धी जानकारी जम्मा गर्दै उच्च मनोबलका साथ आशावादी भई। तोकिएको समयभन्दा आधा घण्टाअघि नै कार्यक्रमस्थलमा पुगी। विभिन्न प्रतिष्ठित निजी विद्यालयका दक्ष कहलिएका जुत्ता टल्काउँदै, टाईसुट ढल्काउँदै आएका प्रतियोगीहरूले भावनालाई प्रतियोगीको रूपमा देखेर खिसीटिउरी गर्न थाले।
कार्यक्रमका प्रतियोगीहरूले जोड्दार भाषण गरे।
भावनाको पालो आयो। उनका हरेक शब्दमा परर तालीको गडगडाहट आयो। पढेका सैद्धान्तिक कुराभन्दा परेका व्यावहारिक अवस्था र व्यवस्था बिचको खाडल दर्शाई उसले। पाँच मिनेटको अवधिमा अरूले ननिकालेका विषयवस्तुको उठान समाधानको उपाय रणनीति सुझाएर वक्तव्य टुंग्याई।
उदघोषकले तृतीय,द्वितीयको नाम घोषणा गरिसकेका थिए। प्रथम आफैं भइएला भन्दै ढुक्क हुनेहरूका विपरीत मान्छेको आउँदाको पहिचान उसको पहिरनले र जाँदाको पहिचान क्षमताले निर्धारण गर्दछ।
‘आजको प्रतियोगितामा आउँदा कसैले नपत्याएकी प्रतिष्पर्धी प्रथम भएकी छन् भावना भुजेल। पुरस्कार ग्रहणका निमित्त मञ्चमा आइदिनुहुन अनुरोध गर्द्छु।
४) खुशी
वल्लापल्ला सिटका यात्रुले झैं सिटबेल्ट बाँधे पनि मन बाँधिएको थिएन मिस्रीलालको। पाँच वर्षपछि मातृभूमि फर्किदै थियोे ऊ। जहाजले बादलका पहाड छुनै लाग्दा उसको मनको आकाशमा भने विचारका अनगिन्ती पहाड ठडिइसकेका थिए।
चार वर्षको प्रेमलाई विवाहमा परिणत गरेर भित्र्याएको थियो मनसरालाई। पाँच महिनाकी गर्भवती छोडेर विदेशिन बाध्य थियो ऊ उनीहरूकै खुशीको निम्ति। रहर-बाध्यता, कल्पना-यथार्थता, आशा- निराशा, हर्ष-बिस्मात विचित्र भावहरू आउँदैजाँदै थिए उसको मानसपटलमा।
भर्खर यौवनको संघारमा पाइला टेकेकी। एउटी स्त्रीले देख्ने सपना देखेकी हुँदी हो उसले पनि। उसका भावना, सपना मिस्रीलालको कतार उडानसँगै उडेका थिए माथिमाथि नील गगनमा। मरुभूमिको प्रचण्ड गर्मीमा भेडा चराउँदै सुखद् भविष्य खोजिरहेको मिस्रीलालको अभावमा कयौं दिनरात आँसुमा रुमलिएर बितेका थिए मनसराका। न दिनमा भोक न रातमा निद। बाटैतिर आँखा बिछ्याउँथी ऊ। छोरो भिडियोमा बाबासँग कुरा गर्न सक्नेभएको थियो।
पाँचपाँचवटा हजारका नोट र एक एकजोर कपडा हातमा राखेर ढोग गर्दा हर्षका आँसु खसाल्दा हुन् बाबुआमा। खेलौनाको झोला र चक्लेट पाएर कति फुरुङ्ग हुँदो हो छोरो।
‘योचाहिँ तिम्रो भाग है मनु!’ भनेर सुटकेस उनीतिर सारिदिँदा पाँच वर्षसम्मको मेरो पीडा यतिकै लागि हो त? भन्दै भावविह्वल हुँदी हो मेरी प्रियतमा...। उसका अंगप्रत्यंग रोमान्चित हुन थाले। बाबुआमा नजिकै नहुदा हुन् त गम्लङ्ग अँगालो मारेर वर्षौदेखिको रिक्तता र तिक्तता निमेषभरमै भुलाइदिन्थें जस्तो लाग्यो उसलाई।
हुन त उनीलाई पनि कसरी प्रतिक्रिया व्यक्त गरौं भएको हुँदो हो।
स्वैरकल्पनातीतबाट धर्तीमा पछारियो ऊ जहाजले भुई टेकेपछि।
गुजुमुज्ज परेका बादल, उत्तरमा चादीझैं टल्किएका हिमाल! मन्दमन्द हावा, मनोरम वातावरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। विवेक र पौरखीहरुको सपनाको द्वार।
कार्यालयीय पोशाक र परिचयपत्रले होला मलाई सोध्यो, ‘म्याम नेपालको विमानस्थल कता छ?’
‘यही त हो! मनमनै सोचें ए ....यो त अन्तर्राष्ट्रिय।’ उसले भनेको ‘ नेपालको’ त आन्तरिक होला। विमानस्थलतिर संकेत गरें।
मुस्कुराउदै हिंड्यो ऊ। मुहारमा अपूर्व प्रसन्नता छचल्किएको देखेर मलाई पनि खुशी लाग्यो।
५) वज्रपात
जसरी खेतका गरामा झपक्क नुहेका धानका बालाहरू थिए त्यसरी नै दुखीलालका मुहारमा पनि दिव्य मुस्कानसाथै मनमा हर्ष र आनन्दका सुनौला बालाहरू झुलेका थिए।
समयमै मनसुन भएकाले बेलैमा खेती मैझारो भएको थियो।
‘देखिस त? बेलामा पसीना बगाइएको थियो र अहिले रमाइएको छ!’ दमयन्तीतिर हेर्दै मुस्कुराएको थियो ऊ।
भोकै-तिर्खै काम गरेको, बीउ लिन जाँदा दिनभरि लाइन बसेको, समयमा मल नपाएर नाराजुलुस लगाउँदा पुलिसको डन्डा खाएको सबैसबै कुरा चलचित्रका दृश्यझैं आउँदैजादै गर्थे उसको पटलमा।
खेशर लगाएर,वर्षभरि भात खाने, नुनभुटुन मसलाको भाग पनि छुट्टयाएको, बेच्न लगेको, साहुको ऋण तिरेको कल्पना गरेको थियो दुखीलालले।
‘यसपालि त दसबीस मन बेच्न नि पुग्छ। जाडोमा एकसरो न्याना कपडा फेर्ने फेराउने’ योजना सुनाएको थियो घरमा।
एक्कासि मेघगर्जनसहित मुसलधारे पानी पर्न थाल्यो। रातभरि जानेसुनेका सबै सिमेभूमे, कुल देउदेउता पुकार्यो उसले। प्रकृतिले आफ्नो लय बिर्सेर प्रलय गर्यो। उसका सारा सपना क्षणभरमै तासको महलझैं भताभुंग भए।
भित्र्याउन ठिक्क पारेको बाली बाढीले बगायो। बैंक र कम्पनी डुब्दा सरकार गरीव जनताले तिरेको करबाट धनीमानीलाई राहत दिन्छ। गरीव किसानलाई कसले हेर्ने? प्रकृतिको झापडले मर्माहत पारेको घाउमा राहतको मलम कहिले लगाउने? चोटैचोट, खोटैखोट मात्र किन किसानको भागमा? श्रमको उचित मूल्य नपाएर, कृषिलाई घृणाको नजरले हेरेर, सलह, रोगव्याधि, मौसम, मनसुन आदिको मुख ताक्नुपर्ने चोट त सहेकै थियो। अकस्मात बेमौसमको बज्र किन भगवान? किन? बिलौना गर्दै बाढीले बगाएका धानका बाला र सपना सम्झिएर डाँको छोडेर रोयो ऊ।
प्रकाशित: २५ भाद्र २०७९ ०४:५८ शनिबार