हेम पोखरेल
छोरी अँध्यारो मुख लगाउँदै कलेजबाट आई र बुबालाई सोधी,‘हाम्रो पसल पनि भत्कन्छ रे हो बुबा?’
बुबाले ओठसम्म झिनो मुस्कान मात्रै ल्याए केही बोलेनन्।
उसले भाइतिर फर्कदै सोधी,‘तेरो बाह्रको रिजल्ट के भयो?’
भाइले उत्तर दियो, ‘ए आयो।’
दिदीले भाइलाई बधाई छ भनी। दिदी-भाइकै मुहारमा मुस्कान थियो र दिदी भाइ गफ गर्न थाले।
यही समयमा बुबाले सम्झिन थाले: छोरी ब्याचलरको अन्तिम सेमेस्टरमा छ, छोराले बाह्र पास गर्यो। जीवनमा मैले नगरेको काम केही छैन। पछिल्लो समय त्यही पसलबाट यिनीहरूको शिक्षा र स्वास्थ्यको जोहो गरेको थिएँ। अहिले अनधिकृत संरचना भनेर भत्काउने सूचना दिएको छ। पसल दर्ता छ, वर्ष-वर्षमा नवीकरण गरेको छु, घरबेटीलाई महिनैपिच्छे भाडा दिएको छु र कर बुझाएको छु। अनधिकृत संरचना थियो भने दर्ता किन गर्यो? घरबेटीले भाडा किन लियो? अनधिकृत संरचनाको भाडा व्यक्तिले लिन मिल्छ?
छोरीले फेरि सोधी,‘बुबा पसलको कुरा के हो?’
बुबालाई उत्तर दिन ज्यादै कठिन भयो।
‘पसल गाँसको जोहो मात्र थिएन छोराछोरीको शिक्षाको भविष्य पनि थियो त्यो पसल, जीवनभरको सबै लगानी पनि थियो।’
उनले फेरि ओठमा जबर्जस्ती मुस्कान ल्याए र भने, ‘अनधिकृत छ भन्छन्। भत्काउन सूचना टाँसेको छ।’
बुबाका कुराले दिदी-भाइ मुखामुख गरे। उनीहरूको अनुहारको भाव र ओठको मुस्कान एकएक हरायो।
छोराले बुबालाई भन्यो, ‘पसल भत्कदा तपाईंलाई खुसी लागेको छ कि के हो? चिन्ता गरेकै देख्दिनँ त।’
बुबाले छोराछोरीलाई नै हेर्दै भने, ‘म आफैं दुःखित भएर आँसु चुहाउँदै हिंडें भने तिमीहरूको ओठमा मुस्कान कसरी आउँछ?’
प्रकाशित: २३ भाद्र २०७९ ०२:४२ बिहीबार