अजित उत्सव
एक दशकअघिको कुनै बिहान!
खाँदाखाँदैको आधा गाँस छाडेर
आधा निदमा उठेर
फुल्दै गरेको आधा जवानी छाडेर
हिंडेको थें परदेश।
अँगालोभरिकी श्रीमती छाडेर
आँखाको नानीजस्तो काखको छोरा छाडेर
रुँदै गरेकी बुढी आमालाई छाडेर
कलिलो सपना बोकी
एक मिर्मिरे बिहान
छाडेको थें घर
हिंडेको थें परदेश।
लहलह झुलेको बाली छाडेर
चिअर्स भन्दै गिलास जुधाउने साथी छाडेर
हिंड्ने गोरेटो–बाटाहरू छाडेर
अँगालो मार्ने शीतल बतास छाडेर
स्पर्श गर्ने दिउँसोको पारिलो घाम छलेर
भिसा लागेको पासपोर्ट बोकी
भालेको पहिलो डाँकमै हिँडेको थिएँ काठमाडौं
र, काठमाडौबाट जहाजले
उडाएथ्यो मलाई
खाडीको अमूक ठेगानामा
परदेश आउँदा सोंच्थें,
मैले खालि आफ्नो गाउँ छाडें
देश नामको एउटा भुगोल मात्र छाडें
तर,
मसँगै मेरो आत्मविश्वासले पनि
देश छाडेको रैछ,
अचेल जिन्दगीको यो कुइनेटोमा
गुमाएको छु–
आफूले छाडेर आएको क्षितिजतिर फर्केर
ढुक्कले आफूलाई
वीर नेपाली भन्ने आत्मविश्वास!
पहाडबाट मुस्कुराउँदै झर्ने बिहान छाडेर
मलाई हरसाँझ कुरिरहने आँगन छाडेर
मेरा उदासी अनुहार घरको भित्तामा टाँगेर
ठेस लाग्दालाग्दा आफ्नै लाग्न थालेका
बाटाका ढुंगाहरू छाडेर,
लागेको थें परदेश
परदेश आएपछि सोंचेको थें–
मैले मेरो माटोको गन्धलाई मात्र छाडेको हुँ
‘बाबू सञ्चै छौ’ सोध्ने
प्रियजनलाई मात्र छाडेको हुँ
गाउँमाथिको नांगो आकाश मात्र छाडेको हुँ
आफू हुर्केको आँगन मात्र छाडेको हुँ
तर, परदेश आएपछि छुटेछन् थुप्रैथुप्रै कुरा!
छुटाउनै नहुने थुप्रै कुरा छुटेछन्!
जस्तो कि–
तिर्खाउँदा हत्केलाले पानी उघाउने ईनार छुटेछन्
आफ्नै बिम्ब नदीमा हेर्न म उभिने किनार छुटेछन्
केही समयका प्रतिबिम्ब छुटेछन्
र, केही बिर्सनै नहुने याद छुटेछन्।
म परदेश लागेपछि
गाउँका हितैषी छुटेछन्
आफ्नोभन्दा मेरो चिन्ता गर्ने वैरी छुटेछन्
दोबाटामै थुप्रै पाइला छुटेछन्
मलाई चिनाउने मेरा परिचय छुटेछन्
मलाई गाउँ पु¥याउने ठेगाना छुटेछन्
हुलाकमै केही थान पत्रमित्र छुटेछन्
प्रियसीका आखामा सपना छुटेछन्
छुटेछन् सप्पै सप्पै कुरा।
म परदेश लगेपछि
सबैभन्दा धेरै त
मेरो आफ्नै एक बैंस जिन्दगानी छुटेछ
र, म गाउँ फर्केको छु
रित्तो थोत्रो डोकोजस्तो
आफैंलाई भारी लाग्ने
अत्यासलाग्दो बुढ्यौली लिएर!
प्रकाशित: ४ श्रावण २०७९ ०६:३१ बुधबार