खगेन्द्र बस्याल
उसले जान्ने भएदेखि मामालाई देखेको थिएन। एकाबिहानै उसकी आमाले भनिन्, ‘आज धेरै ज्ञानी भएर बस है छोरा।’ उसले भन्यो, ‘किन आमा?’
उनले भनिन्, ‘आज तिम्रो मामा आउँदै हुनुहुन्छ नि!’
मामा आउने कुराले उसको हर्षको सीमा नैं रहेन। छिमेकीकहाँ गएर आफ्ना दौंतरीहरूलाई आज मेरो मामा आउँदै हुनुहुन्छ भन्यो।
उसका साथीहरूले धाप मार्दै भने, ‘त्यसैले त आज तेरो मुख बेग्लै उज्यालो देखिन्छ।’
दिउँसो घरमा पाहुना आए। उसले आफ्नो मामा ठानेर उनी नुहाउने कोठाभित्र छिरेको मौका छोपी झोलाको खानतलासी गयो। त्यहाँ उनका फेर्ने कपडाबाहेक केही थिएन।
त्यसपछि ऊ भित्र खाजा बनाइरहेकी आमालाई भेटेर सोध्यो, ‘आमा,मामा कतिबेला आउनुहुन्छ!’
उनले भनिन्, ‘केहीबेर अगाडि बाहिर आउनुभएको तेरो मामा हुनुहुन्छ नि!’
आमाको कुरा सुनेर उसले भन्यो, ‘तपाईंले पनि ढाँट्न सिक्नुभएछ। उहाँ मेरो मामा हुँदै होइन।’
उनीले त्यो सुनी अचम्म मान्दै सोधिन्, ‘कसरी मामा जस्तो लागेन?’
उसले भन्यो, ‘झोला खोली हेरें। त्यहाँ फेर्ने कपडाबाहेक केही थिएन। यसैले उहाँ मेरो मामा हुनुहुन्छ भनेर कसरी विश्वास गरूँ! के उहाँलाई अहिलेसम्म आफ्नी दिदीकहाँ आफ्नो भानिज पनि भएको थाहा छैन र!’
प्रकाशित: २ श्रावण २०७९ ०७:१३ सोमबार