१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

एक्काइसौं शताब्दीकी छोरी

कविता

अनिला राई(वालक्पु)

जब तिम्रो शान्त चेहरामा

जन्मन्छन् कैयौ रङहरू  

म जान्दछु

कुन रङसँग स्वार्थ जन्मन्छ

कुन रङसँग प्रेम

कुन रङसँग आवेग

होसियार हुनु,

म रङको बारेमा जान्दछु।

तिमी कोर्छौ पटकपटक मैले

भर्नुपर्ने उचाइको सिमारेखा

मभित्र विद्रोहका पखेटाहरू फरफराउन थाल्छन्

होसियार हुनु

म एक्काइसौं शताब्दीको छोरी हुँ

म डुब्न सक्ने गहिराइ र

चुम्न सक्ने उचाइको बारेमा जान्दछु।

तिमी गर्छौ समानताको कुरा

जोड्छौ  फेरि जोगाएर लैजानुपर्ने

संस्कार र संस्कृतिकै कुरा

म सम्झन्छु,

संस्कारको बोझ थाम्दाथाम्दै

कहिलै नठडिने गरी

झुकेको तिम्रो आमाको शीर

तिमी उठाउँछौ,

स्वतन्त्रताको बुलन्द आवाज

म देख्छु तिमीले नै खुम्चाइदिएको

तिम्री श्रीमतीको जिन्दगीको परिधि

तुलना गर्छौ तिमी मलाई फूलसँग

तत्पर रहन्छौ औल्याउन

ममा लाग्ने सम्भावित खोटहरू

टेकेर मेरो अस्तित्व

परीक्षा लिन्छौ मेरो सहनशीलताको

आजकल चोटहरूसँगै पत्थर भएकी छु म

होसियार हुनु,  

कुनै दिन तिम्रो पाइतलामा लाग्ने ठेस बन्न सक्छु

कारण म एक्काइसौं शताब्दीकी छोरी हुँ।

–दिक्तेल रुपाकोट मझुवागढी नपा–११, खार्मी, खोटाङ।

प्रकाशित: ३० असार २०७९ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App