२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

बज्जिका भाषा मिडिया पुस्तक लोकार्पित

बज्जिका साहित्य संगम रौतहटको ५०औं साहित्य गोष्ठीका अवसरमा दुई प्रतिभालाई सम्मानित गरिनुका साथै बज्जिका भाषा र मिडिया नामक कृति सार्वजनिक गरिएको छ। नगरप्रमुख कन्थमनिप्रसाद कलवारले बज्जिका साहित्यकार विश्वराज अधिकारीलाई तुलसी साहित्य पुरस्कार र बज्जिका अनुसन्धानकर्मी गिरिजा अधिकारीलाई संगम सम्मान २०७९ बाट सम्मानित गरेका हुन्।

कलवारले सञ्जय साहमित्र र गिरिजा अधिकारीको संयुक्त अनुसन्धानात्मक कृति बज्जिका भाषा र मिडियाको संयुक्त लोकार्पण गरेका छन्। कलवारसँगै पूर्वजिल्ला शिक्षा अधिकारी बालदेवप्रसाद साह, सर्लाहीका साहित्यकार रामचन्द्र महतो कुशवाहा,अमेरिकी लेखक विश्वराज अधिकारी र बिन्दा साहनीले कृतिको संयुक्त लोकार्पण गरेका हुन्।

नगरप्रमुख कलवारले बज्जिका भाषा र साहित्यको क्षेत्रमा निकै प्रगति भएको बताउँदै नगरपालिकाका तर्फबाट आफूले निरन्तर सहयोग गरिरहने बताएका छन्। बज्जिका भाषाको क्षेत्रमा हरेक दिन केही न केही कार्यक्रम भइरहेको देखेर आफूलाई खुसी लागेको बताउँदै नगरप्रमुख कलवारले बज्जिका भाषासँगै संस्कृतिको पनि विकास भइरहेको स्पष्ट पारेका छन्।

 कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वजिल्ला शिक्षा अधिकारी बालदेव साहले बज्जिका भाषा र साहित्यको विकासका लागि अक्षयकोषमा ५० हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गरुडाका समाजसेवी धर्मनाथप्रसाद जयसवालले स्थापना गरेको डेढ लाख रूपैयाँको अक्षयकोषबाट सञ्चालनमा रहेको तुलसी साहित्य पुरस्कार प्राप्त गरेपछि अमेरिकी लेखक विश्वराज अधिकारीले बज्जिकाको अर्को कृति पनि लेख्ने घोषणा गरेका छन्।

बज्जिका भाषामा अधिकारीका दुई कृति प्रकाशित छन्। बज्जिका संगम सम्मान प्राप्त गरेपछि अनुसन्धानकर्मी गिरिजा अधिकारीले बज्जिका भाषा र साहित्यको विकासमा आफूले थप सहयोग गर्न तयार रहेको बताउँदै एउटा ठोस कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २५ असार २०७९ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App