२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

चितवनका आख्यानकार वसन्त पराजुलीको ‘मोम्चो’ को परिचर्चा

पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको ‘मोम्चो’ कथासंग्रमाथि कोहलपुरमा परिचर्चा गरिएको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो।

प्रतिष्ठानकी उपाध्यक्ष एवं आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले संग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन्। बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन्। ‘उसको बानीव्यहोरा र पढाइको समेत वास्ता नगरी हचुवामा क्षमतावान् व्यक्तिको रूपमा विश्वास गर्ने हाम्रो स्वभाव छ’ न्यौपानेले भनिन्, ‘वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोविश्लेषणलाई कथामा उनिएको छ।’ यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पिडक देखाएर मात्रै नारीमाथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो।

‘नारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छ’ न्यौपानेले अगाडि भनिन्, ‘प्रकृतिले मानिसलाई सर्वगुणसम्पन्न बनाएर पठाएको हुँदैन। नारीहरू आफ्नो हकहितका लागि सधैं लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथसहयोग दिनुपर्छ।’ पैसा कमाउन विदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेका लाञ्छना लगाएका प्रसंगलाई कथामा जोड्नु शोभनीय नभएको पनि न्यौपानेले बताइन्।

परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले मोम्चो पुस्तकबारे टिप्पणी राखेका थिए। पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासंग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताए। पादुकाले संग्रहमा रहेका ११ वटै कथाबारे संक्षेपमा टिप्पणी राखे। ‘पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन भोगाइलाई समेटिएको छ’ पादुकाले भने, ‘कथामार्फत नारीका समस्यालाई मात्रै उठाइएको छैन, तीनका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ। यसमा समाज र राज्यको दायित्व के हुन्छ भन्ने कुरालाई पनि उठान गरिएको छ।’

पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको बताए। ‘शीर्ष कथा र समग्र कथामा नारीका सुखदुःखलाई उजागर गरिएकाले मोम्चो नारीप्रधान कृति हो’ टिप्पणीकार गैरेले भने, ‘कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखनशिल्प मार्फत व्याख्या गरेका छन्।’

लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म,  रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकाले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताए। कोहलपुरमा आएर मोम्चोको कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै आजको कार्यक्रमले चितवन र बाँकेको साहित्य अझ सम्बन्ध बलियो भएको बताए।

परिचर्चा कार्यक्रममा नरेन्द्रजंग पिटर,  मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि बोलेका थिए। कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव बद्री ढकाल हिरामणिले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गरेका थिए।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। पराजुलीको यसअघि ‘कुमाता’ कथासंग्रह प्रकाशित छ। पत्रकार पराजुली ‘गोरखापत्र’ दैनिकका चितवन जिल्ला संवाददाता हुन्।

प्रकाशित: ३ असार २०७९ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App