२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सिको

लघुकथा

अनुग्रह राना मगर ’पुष्प’

नातिनी सलिना बज्यैसँगै बस्थिन्। ‘बाह्र छोरा तेह्र नाति, धानको धोक्रो बुढाको काँधैमाथि’ भनेझैं सन्तान भएर पनि एक्ली थिई साइँली बज्यै। सबै छोरा लाखोपाखो लागिसकेका थिए। अहिले भएका ती नातिनी पनि ठूली छोरीको छोरी हुन्। बज्यैलाई सरसहयोग गर्न भनी उनकी आमाले उतै बसून् भनी बज्यैको जिम्मामा छाडेकी थिइन्।

रातको बाह्र बजेको थियो तर अझै बज्यै सुतेकी थिइनन्। परिवारको सम्झनाले निद्रा नलागेको होला। म भने भुसुक्क निदाएछु। ‘टुहुँटुहुँ टुढीटुढी’ शंख बजाउँदै जोगीको सातफेरो घर घुमाइले मेरो निद्रा खुल्यो। जुरुक्क उठें।

बज्यैले भन्नुभयो,‘किन उठेको, सुत।’ निद्रा लागेन। जसोतसो गरी सुत्ने प्रयास गरें। निदाएछु अबेरसम्म। बज्यैले उठाउनुभयो। मुस्किलले उठें। घामको किरण निकै माथि आइसकेको रहेछ। मोबाइलमा समय हेरें। ७ बजेको रहेछ।

हत्तपत्त यताउति गरें। बज्यैलाई सघाएर माथिल्लो घरतिर निस्किएँ। राति बजाउँदै केके फ्लाँक्दै हिंड्ने जोगी पाएको दान उठाउँदै रहेछ। यसो हेरें, नाङ्लामा धान, थालमा चामल,टपरीमा मकै र दुनामा नुनबेसार केके जाति रहेछन्। म नयाँ अनि सानै थिएँ। तर, जान्ने इच्छा राख्थें। ‘ओ यस्तो पो रहेछ’ भनी म आफ्नै घर झरें र जोगी आउँदै छ भनेर बज्यैलाई सुनाएँ।बज्यैले भन्नुभयो,‘ए हो,लल दान ठिक गर।’

पहिलोचोटि भएकाले थाहा थिएन। माथिल्लो घरमा जति थियो, त्यति नै ठिक पारें। जोगी पनि ‘जय गोरखनाथ’ भन्दै आइपुग्यो। सिदा निकाल्दै थिएँ। बज्यैले छक्क पर्दै भन्नुभयो,‘आम्मामा, यत्रो दिएर हुन्छ, लाटी!’ मैले भने, ‘अनि कति त? माथिल्लो घरमा यति नै थियो त!’

प्रकाशित: ३० जेष्ठ २०७९ ०५:४० सोमबार

अक्षर