१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सिथि नख: प्रथम पूजक कुमारको जात्रा

संस्कृति

कुमार कार्तिकेयको काठको मूर्ति

प्राचीनकालको कुरा हो, एकपटक महादेवले गणेश र कुमार कार्तिकेयलाई जसले यो ब्रह्माण्डको परिक्रमा गरेर पहिलोपल्ट आइपुग्न सक्छ, उसलाई वरदान दिने छु भने। यो कुरा शास्त्रमा उल्लेख गरिएको छ। कुमारको त मयुर वाहन भएकाले तत्कालै ब्रह्माण्ड परिक्रमा गर्न गइहाले।

यता गणेश एक्लै बसेर विचार गरिरहे, ‘मयुर बाहन भएका दाजु कुमार त गइसक्यो ब्रम्हाण्ड परिक्रमा गर्न, मेरो त मुसा वाहन, त्यसमा पनि मेरो ठुलो भुँडी भएकाले मेरो भार धेरै छ। त्यस मुसाले मलाई बोकेर कसरी यो ब्रह्माण्ड घुमाउन सक्ला?’ यसरी विचार गरिरहेका बेलामा मुसाले भन्यो–‘हजुरलाई कुन कुरामा पीर पर्‍यो भनिबक्सियोस्, मैले सक्दो सहयोग गर्ने छु।’

मुसाको कुरा सुनेर हाँस्दै गणेशले भन्छन्, ‘तिमीले कसरी मलाई सहयोग गर्न सक्छौ? तिमीले मलाई बोकेर यो ब्रह्माण्ड परिक्रमा गराउन सक्छौ?’ पिता महादेवले भनेको कुरा गणेशले बताउँदा मुसाले भन्छ–‘यसमा हजुर किन पीर मान्नुपर्ने? आफ्ना मातापिता भनेका नै यो ब्रह्माण्ड संसार हो। त्यसैले यो संसार नै हजुरहरू हो मेरा लागि, हजुरहरू नै ब्रह्माण्ड हो भनी मातापिताको तीनपटक परिक्रमा गरिबक्सियोस्, हजुरलाई नै पिता महादेवले वरदान दिनुहुने छ।’

मुसाको कुरा सुनेर गणेशलाई पनि उचित लाग्छ र महादेव बसिरहेको स्थानमा जान्छन्। त्यहाँ माता पार्वतीलाई नदेखेपछि अलि पर कसिरहेकी माता पार्वतीलाई हातमा समातेर ल्याई महादेवसँग बसालेर हत्त न पत्त तीनपटक मातापिताको परिक्रमा गरी हजुरहरू नै यो संसार, विश्व ब्रह्माण्ड होइबक्सन्छ मेरा लागि भनी प्रार्थना गर्छन्।

गणेशको यस्तो प्रार्थना सुनेर महादेव र पार्वती दुवै अत्यन्तै खुशी हुन्छन् र गणेशलाई महादेवले वरदान दिँदै भन्छन् कि यो संसारमा सबैले सबैभन्दा पहिला तिम्रै पूजा गरून्। यसरी वरदान पाएर गणेश मातापितासँगै हर्षित भई बसिरहेका बेलामा कुमार ब्रह्माण्ड परिक्रमा गरेर आइपुग्छन्।

गणेश यहीँ बसिरहेको देखी आश्चर्य मान्दै आफ्ना मातापितासँग सोध्छन् अनि महादेवले सबै यथार्थ कुरा बताउँदै गणेशलाई सबैले प्रथम पूजा गरोस् भनी वरदान दिइसकेको बताउँछन् अनि कुमारले मैले ब्रह्माण्ड परिक्रमा गरी आईसकेँ, मलाई पनि बरदान चाहिन्छ भनी माग गर्छन्। तब महादेवले कुमारलाई तिम्रो पनि प्रथम पूजा सबैले गरून् भनी वरदान दिन्छन्।

यसरी गणेश र कुमारलाई प्रथम पूजक देवताका रूपमा मान्नु पर्ने भए तापनि गणेशलाई मात्र सबैले सबैभन्दा पहिला पूजा गरिसकेपछि मात्र अन्य देवताहरूलाई पूजा गर्छन्। तर नेवारहरूले भने कुमारलाई पनि सबैभन्दा पहिला पूजा गर्दै आइरहेका देखिन्छन्। नेवारहरूले ईष्टदेवताका रूपमा मान्दै आएका महादेवको वरदानअनुसार कुमार र गणेश दुबैलाई सबैभन्दा पहिला पूजा गर्दैआइरहेका छन्।

गैर नेवारहरूले भने गणेशलाई मात्र सबैभन्दा पहिला पूजा गर्दैआएका छन्। तर कुमारलाई भने पूजा गरेकै देखिँदैन। नेवारहरूका विभिन्न किसिमका चाडपर्व, जात्रा, मेला आदि जुनसुकै धार्मिक कार्यका साथै विवाह, व्रतबन्ध र बुढो पास्नीलगायत सम्पूर्ण कार्य गर्नुअघि सबैभन्दा पहिला घरको मूल ढोकाअगाडि कुमार कार्तिकेयलाई पूजा गरिसकेपछि मात्र घर बाहिरका गणेशका साथै अन्य देवतालाई पूजा गर्न जाने गर्दछन्।

नेवारहरूले विभिन्न चाडपर्व मान्नेसन्दर्भमा ऋतुअनुसार विभिन्न किसिमका परिकार बनाएर खाने गर्दछन्। यस्तै आफ्नै प्रकृतिको रीतिस्थिति र चाडपर्वमध्ये नेवारहरूले मान्दै आइरहेको अत्यन्तै महत्त्वपूर्ण एउटा चाड हो–सिथि नखः। वर्षालाई स्वागत गर्दै जेठ महिनाको शुक्लपक्ष षष्ठीका दिन यो सिथि नखः मान्ने गरिन्छ। षष्ठी पर्व अपभ्रंश भएर ‘सिथि नखः’ हुन गएको हो भनिन्छ।

सिथि नखःका दिन महादेवका पुत्र कुमार कार्तिकेयको जन्मदिन भएकाले कुमार षष्ठी भनिएको हो भने भगवान् रामले रावणलाई युद्धमा जितेको दिन भएकाले सञ्जिता षष्ठी पनि भन्ने गरिन्छ। वर्षा ऋतु आउनुअघि यो सिथि नखःको समयमा उपत्यकाका नेवारहरूले नागको पूजा गरी आआफ्ना टोलक्षेत्रमा भएका पानीका मुहान–इनार, ढुङ्गेधारा, पोखरी आदिको सरसफाइ गरेर पानीका साथै त्यहाँको वातावरणलाई समेत स्वच्छ र स्वस्थ्य राख्ने परम्परा पहिलादेखि नै रहिआएको देखिन्छ।

भक्तपुका राजा यक्ष मल्लको समयदेखि नै सिथि नखःका दिन पुराना देवघर, मन्दिर, पाटी पौवा, इनार, कुवा, ढुङ्गेधारा र पोखरी आदि सफा सुग्घर गर्ने र जिर्णोद्धार वा मर्मत गर्ने चलन रहिआएको देखिन्छ। यस्तो चलन र परम्पराको विषयमा भक्तपुरमा भेटिएको एक शिलापत्रमा उल्लेख गरिएकाले पनि यस कुराको पुष्टि गर्दछ।

जन्मदेखि मृत्युसम्म नै हाम्रो जीवन पानीमै निर्भर रहन्छ। पानीबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन। सिथि नखःका दिन हाम्रो जीवन रक्षा गरिराख्ने उद्देश्यले पानीको मुहानको सरसफाइ गरिन्छ। ललितपुरमा यो दिन टीका भैरवदेखि ल्याइराखेको पानीको ढल सफा गर्ने परम्परा छ। पानीको मुहान सफा गरिसकेपछि पानीको आपूर्तिमा कुनै किसिमको बाधा–अड्चन नआओस् भनी अनेकौँ उपाय गरिएको हुन्छ।

वर्षा ऋतु र रोपाइँ गर्नुअघि यो पर्व मान्ने भएकाले रोपाइँका लागि शरीरलाई तागतिलो बनाउन यो चाडमा चतांमरी, बारा, छ्वय्ला, मासुको कवाफलगायत विभिन्न परिकार बनाएर खाने चलन रहेको हो। त्यसो त ललितपुरमा करुणामय रातो मच्छिन्द्रनाथ रथमा विराजमान हुने दिन अर्थात् वैशाख शुक्लपक्ष प्रतिपदादेखि उपत्यकामा सुरु हुने कूल देवता पूजाको अन्तिम दिनका रूपमा यही सिथि नखःको अघिल्लो दिनसम्म भएको र यो अवधिमा केही कारणवश कसैले कूल देवता पूजा मनाउन पाएनन् भने सिथि नखःकै दिनमा कूल देवता पूजा मनाउने गर्दछन्।

काठमाडौं उपत्यकाका नेवारहरू आफ्नो धर्म–संस्कृति र संस्कारअनुसार सिथि नखःका दिन बिहान सबेरै उठेर चोखोनिची गरेर घरै पिच्छे मूल ढोकाअगाडि गोलो पारेर गोबरले लिपी त्यसमाथि कमलका छवटा पात राखेर त्यसमाथि छथरी विभिन्न गेडागुडी मांस, मुगं र सानो केराउ, बारा, चतांमरी र चौमरीजस्ता रोटी र सातुसमेत गरी छथरी रोटी चढाएर सिथि देवतालााई पूजा गर्ने चलन छ।

वास्तवमा यसरी सिथि देवता भनी पूजा गरिँदै आइरहेका देवता छवटा टाउको भएका कुमार कार्तिकेय नै हुन्। विशेष गरेर यसरी कुमार कार्तिकेयको पूजा गरेमा कुनै पनि बिध्नबाधा नहुने र समयमै वर्षा भई रोपाइँ गर्न सजिलो हुने जनविश्वास रही आएको छ। सिथि देवता अर्थात् कुमार कार्तिकेयलाई जलदेवताका रूपमा मानिँदै आएको हो भन्न सकिन्छ।

यसरी सिथि देवताका रूपमा मानिँदै आएका कुमार कार्तिकेयलाई कुमार स्कन्द, विशाखा, षडानन्द, षष्टीमातृका नामले पनि मान्ने गरिन्छ। कुमार कार्तिकेयलाई तारकासुर दैत्य वध गर्ने देवसेनाका सेनापतिको रूपमा मान्ने गरिन्छ। त्यस्तै कुमारलाई युद्धका देवताको रूपमा पनि मान्ने गरिन्छ। नेवारी संस्कृतिमा कुमारलाई क्षेत्रपालका रूपमा घरको मूल ढोका अगाडि पूजा गरिँदै आएकाले कुमारले घरको रक्षा गरिरहने जनविश्वास रही आएको छ।

कुमारको जात्रा

हरेक वर्ष सिथि नखःका दिन नेवारहरूले काठमाडौंको जोशी देवलमा कुमारको मूर्तिलाई विशेषरूपमा पूजा गर्छन्। मयुरमाथि विराजमान भएका काठको कुमार देवताको मूर्ति राम्ररी सिँगारेर प्रदर्शन गरिराखेको हुन्छ। कुमारका पूजारी कृष्णदास श्रेष्ठको भनाइअनुसार त्यो मूर्तिको स्थापनाकालबारे केही उल्लेख भएको देखिँदैन। तर मूर्तिको एक कुनामा सम्वत् ९४७ लेखिएको देखिन्छ।

लोक भनाइअनुसार परापूर्वकालमा सिथि नखःका दिन जोशी देवलको चौबाटोमा एउटा बालक रोइरहेको देखेर कुमार देवताका हालका पुजारी कृष्णदासका पूर्खाले आफ्नो घरमा लगेर कोठामा राखेर बालकलाई खुवाउन बुइगलमा गई मासको र मुंगको बारा लिएर आउँदा उक्त बालक त सिद्ध भई कुमार देवताको रूपमा परिणत भइसकेको रहेछ।

उही बेलादेखि कुमार देवताको पूजा गरेर जात्रा मान्ने गरिँदै आएको हो भनिन्छ। पुजारी कृष्णदासको भनाइअनुसार त्यस बालकरूपी कुमार बलम्बुबाट आएको अनि उसको आमा बलम्बुकी महालक्ष्मी हुन् भन्ने मान्यता रही आएको छ ।

सिथि नखःको चार दिनअघि बलम्बुबाट नेमकुलहरू जोशी देवलमा आएर घरबाट कुमारको मूर्ति बाहिर निकाली महास्नान गराउँछन्। त्यसपछि जन्मेदेखि गरिने कर्म, स्त्रीपुरुष दुवैको कर्म, कान छेड्ने, गुफा राख्ने, बेल विवाह र ब्रतवन्धजस्ता कर्म गरेर मृत्युसम्मका सबै कर्म गरिन्छ। कुमारलाई सिथि नखःको तीन दिनअघि चोभारको आनन्दादी लोकेश्वर आदिनाथको स्नान र सिंगार गरेर बाँकी रहेका रङ्ग ल्याएर सिँगार गरिदिन्छ।

कुमार देवताको पूजा गर्दा मानिसहरूको दिन दशा बिग्रेको बेलामा सम्हय् बजी, अण्डा सगुन राखेर पूजा गर्दछन्। कुमार देवताको पूजा गर्दा बालेको दियोको आधारमा शुभ–अशुभ लक्षण हेरेर पुजारीले दिनदशाको कुरा बताउने परम्परा छ। कुमार देवताले शुभ मंगल गर्नुहुन्छ भन्ने जनविश्वास रही आएको छ।

सिथि नखःको भोलिपल्ट बिहान कुमारलाई घरकै मुनि रहेको पाटीमा राख्न ल्याइन्छ। त्यो दिन बलम्बुबाट आएका नेमकुलहरू नै पुजारी भई बस्छन्। बिहानदेखि कुमारलाई पूजा गर्न आउनेहरूको भीड लाग्छ। कुमारलाई पूजा गर्न आउनेहरूले चतामरी, मास र मुंगको बारा, सम्हय् बजी राखी पूजा गर्छन्। सोही दिन कुमार देवताको खट जात्रा गरिन्छ।

कुमारीको रथ तान्ने मार्ग माथिल्लो र तल्लो टोलमा कुमार देवताको मूर्ति खटमा राखी बाजागाजासहित नगर परिक्रमा गरेर जात्रा मनाउने चलन रहेको थियो तर पछि आएर जात्रा मनाउन मानिसहरूको कमीले गर्दा जोशी देवल टोलमा मात्र जात्रा मनाउने गरिन थालेको हो।

नमो बुद्ध मेला

सिथि नखःकै दिनमा पनौती देशका राजकुमार महासत्वले नम्रामा एउटी खान नपाएर मर्न लागेकी बघिनीलाई आफ्नो शरीरको मासु आफैले काटेर खुवाई महापरिनिर्वाण प्राप्त गरेको दिनका रूपमा नमो बुद्ध मेला बौद्धमार्गीहरूले मान्ने गर्छन्।

आजभन्दा करिब छ हजार वर्ष पहिले पनौतीका राजा महारथ र रानी सत्यवतीका कान्छा राजकुमार महासत्व आफ्ना दाजुहरू महाप्रसाद र महादेवसँग गन्धमान पर्वत हालको नमोबुद्ध डाँडाको जङ्गलमा शिकार खेल्न गएका रहेछन्। बाटोमा आफ्ना पाँचओटा डमरुसहितको सुत्केरी बघिनी भोको र अचेतभै मर्न लागेको अवस्थामा परेको देखेर पनि दाजुहरूलाई केही असर पर्दैन तर कान्छो राजकुमार महासत्वलाई त्यस्तो हृदयविदारक दृश्यले ज्यादै ठूलो प्रभाव पारेछ।

अति नै दुःखी भएर राजकुमार महासत्वले दाजुहरू र मन्त्रीहरूको आँखा छलेर त्यस बघिनीलाई आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली खुवाए। उता दाजु र मन्त्रीहरूले फर्केर हेर्दा कान्छा राजकुमारलाई देख्दैनन् र गन्धमान पर्वत नमोबुद्धमा खोज्दै फर्केर हेर्दा त महासत्वको कंकाल मात्र बाँकी रहेको देख्छन्। बघिनी भने हृष्टपुष्ट भएर बलियो भएको देख्छन्।

यसरी एउटी बघिनीको रक्षा गर्न आफ्नो प्राण आहुति दिने महान् आत्माको सम्मान गर्दै कलिगत सम्वत् ९७४१ मा राजा महासत्वको हाडखोर जम्मा पारेर बौद्ध चैत्य निर्माण गरिदिए। उही राजकुमार महासत्वको दर्शन गर्न भगवान् गौतम बुद्ध नालको बाटो हुँदै नम्रामा आइपुग्दा महासत्वको गुण सम्झेर नमोबुद्ध भनी वन्दना गरेकाले त्यो बौद्ध चैत्यलाई नमोबुद्ध भन्ने गरिएको हो भनिन्छ।

उक्त राजकुमार नै पछि गएर गौतम बुद्धको रूपमा जन्मेका र पाँचवटा बघिनीका डमरुहरू बुद्धकै शिष्य भएका हुन् भन्ने मान्यता रही आएको छ। नेवारहरूले नमोबुद्धलाई नम्रा बुद्ध भगवान् भन्छन्। उही महासत्वको त्याग भावनाको सम्झना स्वरूप सिथि नखःका दिनसम्म त्याग र दान धर्मका भजन गाउने परम्परा उपत्यकाका नेवारहरूमा छ। सिथि नखःको भालिपल्टदेखि भने महासत्वको गीत गाउन छाडेर रोपाइँको गीत गाउने नेवारी परम्परा छ। सिथि नखःकै दिनमा भक्तपुरमा चण्डी भगवतीको जात्रा गरिन्छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App