१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

पश्चात्ताप

लघुकथा

हरिचन्द्र ढकाल

एमसिसिको विरोध र समर्थनमा शहरमा ठूलै जुलुस निस्कियो।

सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति थियो। जिन्दवाद र मुर्दावाद भन्नेहरू उग्र बन्दै थिए। बाबु पक्षमा, छोरो विपक्षमा देखिन्थे। समर्थन र विरोध गर्नेको भनाभन सुरु भयो। एकाएक ढुंगा बर्साउन थाले। तोडफोड सुरु भयो। घरका सिसाहरू फुटाइयो। प्रहरीहरू भीडलाई मत्थर पार्ने प्रयासमा थिए।

भीड दंगमा परिणत भयो। प्रहरीलाई ढुंगा हानियो। यस्तो लाग्थ्योे,दोषी प्रहरी नै हो। प्रहरीहरू घाइते भाए। पञ्चरामले प्रहरीको कमाण्डरलाई ताकेर ढुंगा  हान्यो। कमाण्डर रगताम्मे भयर ढले। उनलाई अस्पताल लगियो। प्रहरी पछाडि हट्यो। आन्दोलनकारीले जयजयकार गरे।

अब भीड पक्षविपक्षमा थिएन। सबैको शत्रु मात्र प्रहरी भयो। प्रहरीविरुद्ध नारा लगाइयो। पञ्चराम फुर्कियो। संसारै जिते जसरी उफ्रियो। उसमा हर्षको सीमा रहेन।

समय बित्दै गयो। बजारमा एकाएक आगलागी भयो। एक घर दुई घर गर्दै आगो सल्कदै गयो। तुरुन्त दमकलको सम्भावना थिएन। मानिसहरू आआफ्ना समानहरू बचाउन तल्लीन देखिन्थे।

नसक्कनेहरूसँग रुनुकराउनुबाहेक अन्य उपाय थिएन। प्रहरीहरू घटनास्थल आइपुगे। आगो निभाउन सक्रिय भए। धेरैको उद्धार गरे।

पञ्चराम आत्तिंदै प्रहरी छेउमा आयो। दुई वर्षको छोरो घरभित्रै सुतेको जानकारी गरायो। प्रहरी पञ्चरामको घरतर्फ गए। प्रहरी कमाण्डरले बच्चा लिएर बाहिर निस्किए। उनको कपाल र पाखुरा जलेको स्पष्ट देखिन्थ्यो। आपूm जलेर बच्चालाई सकुशल उद्धार गरे।

छोराको ज्यान बच्यो। पञ्चरामको चेत खुल्यो। पञ्चरामले ती प्रहरीलाई चिन्यो। उसले चार महिनाअघिको घटना सम्झियो। पञ्चराम कमाण्डरको खुट्टा समातेर रुन थाल्यो।

‘प्रहरी हुँ म, समयअनुसार फरक भूमिकामा हुनु मेरो कर्तव्य हो। त्यो घटना मैले त बिर्से। तपाईं पनि बिर्सिनुस्।’ उनले हाँस्दै भने।

छोरा सकुशल भएकोमा खुशी भएको पञ्चराम आफूले गलत गरेकोमा पश्चात्तापको आगोमा जलिरह्यो।

प्रकाशित: १२ वैशाख २०७९ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App