२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भ्रष्टाचारको मूल जरो

लघुकथा

अल्पविराम

संसदीय निर्वाचन आउनु एक हप्ताअघि दुई नम्बरी क्षेत्रका संसद् उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। उम्मेदवारहरू घरदैलोमा जुम्ली हात जोड्दै आउँदा मतदाताहरू पनि प्रफुल्ल देखिन्छन्।

‘नमस्कार,नमस्कार, बाआमा, दाजुभाइ,दिदीबैनीहरू, सबैलाई नमस्कार। यसपालिको चुनावमा पनि हजुरहरूको भोट मलाई नै, मेरो चुनाव चिन्ह गिद्धमा मत दिनुहोला। ल अहिलेलाई मेरो तर्फबाट एक भोटको एक हजारका दरले हजुरहरूको चार भोटको चार हजार ल लिनुस्।

–तर हजुर ब्वाँसो चिन्ह लिएका उम्मेदवारले त हामीलाई एक भोटको १५ सय दिएर गइसके।

‘त्यसो भए हामी पनि त्यति नै दिन्छौं र चुनावको दिन मासु र भात पनि।’ चुनाव प्रचार समितिका अथ्यक्षले वचन दियो।

चुनावको दिन दशैंकोझैं रमझम थियो। सबै खुशी देखिन्थे। चुनाव सकियो। मत गणनाको परिणाम पनि आयो। चुनाव चिन्ह गिद्ध विजयी भयो। सेकेन्ड, मिनेट र घण्टा हुँदै अर्को चुनाव पनि आउनै लाग्यो। तर, त्यो क्षेत्रको विकास अर्को चुनाव आउला र मासुभात खाऊँला भन्ने प्रतीक्षामै सीमित रह्यो। संसद् अनि मन्त्री भत्ता र सुविधा तथा विकास योजनाको बजेट अर्को चुनावको बजेट बन्यो दश पुस्तासहित।

प्रकाशित: ३ वैशाख २०७९ ०५:१३ शनिबार

अक्षर