२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जनआन्दोलन– २०४६ का उपलब्धि

आज चैत २६ गते। ३१ वर्षअघि आजकै दिन राजा वीरेन्द्रले जनताको अजेय शक्ति सामुन्ने झुक्न किञ्चित पनि संकोच नगरेकै कारण देशमा प्रजातन्त्र स्थापना भएको थियो भने त्यही ऐतिहासिक निर्णयका कारण नेपालको राजतन्त्रको आयु अरू लम्बिएको पनि थियो।

यो २१औँ शताब्दीमा जनआन्दोलन जस्तो अहिंसात्मक आन्दोलन सफल परिणतिमा पुग्न सक्नु आफैँमा एउटा उपलब्धि हो। जुन समयमा नेपालमा जनआन्दोलनको तयारी भइरहेथ्यो, त्यसैताका यो पृथ्वीको अर्कोपट्टि अर्थात् पूर्वी युरोपका देशमा कम्युनिस्टको जञ्जिर चुँडालेर प्रजातन्त्र र स्वतन्त्रताका निम्ति भएका आन्दोलनमा तानाशाहले लाखौँ प्रजातन्त्रप्रेमीको कत्लेआम गरिरहेका थिए।

विजयपताका भने जताततै जनताले नै फहराइरहेका थिए। नेपालमा पनि जनताको अधिकार स्थापित हुने कुरामा द्विविधा थिएन। आन्दोलन चरमबिन्दुतर्फ अघि बढिरहेको थियो। त्यस्तो तरल अवस्थामा यदि यहाँका शासकले विवेक छाडेका भए यति कम (लगभग ५०) जनाको बलिदानबाट त्यो पनि ४९ दिनमा प्रजातन्त्र पुनःस्थापित हुन त्यति सम्भव थिएन।

सम्भव नहुनु मात्र होइन, यहाँका राजाले थोरै पनि विवेक छाडेका भए हजारौँ आन्दोलनकारीले सहादत प्राप्त गर्ने थिए। त्यस अर्थमा यो जनआन्दोलनले अकल्पनीय उपलब्धि हासिल गरेकै हो। आखिर यो स्तरको राष्ट्रिय जनआन्दोलन र यसले छाडेका सकारात्मक सन्देश आजसम्म भएका अरू कुन राष्ट्रिय संघर्षले दिन सकेका छन् र? यो जनआन्दोलनले स्थापित गरेका केही कालजयी उपलब्धिलाई यसरी व्याख्या गर्न सकिन्छ।

जनता अजेय तत्व हो भन्ने पुनर्पुष्टि

जनता भन्ने तत्व अजेय शक्ति हो। यसलाई बन्दुकको आडमा केही दिन छेक्न सकिएला तर सदा काल थिचिराख्न सकिन्न भन्ने पुनर्पुष्टि जनआन्दोलनः २०४६ ले गरेर देखाइदियो। यो जनआन्दोलनको बीजारोपण, यसको रचना, यसको सञ्चालनका निम्ति आवश्यक रणनीति तयार गर्ने काम निश्चय पनि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले गरेका हुन्।

उनलाई जनआन्दोलनका सबै राजनीतिक पार्टीले एक स्वरमा ‘सर्वोच्च कमान्डर’ बनाएका पनि हुन्। नेतृत्वकर्ताको हिसाबले शतप्रतिशत नै जस उनलाई दिनुपर्छ। तर उनी स्वयं भन्दै थिए— ‘जनआन्दोलन २०४६ अवश्य पनि हामीले सुरु गरेका हौं, तर पछि गएर जनता हामीभन्दा अगाडि पुग्यो। जनता अघिअघि हामी पछिपछि भयौं।’ हुन पनि हो, जनआन्दोलन २०४६ मा निर्णायक साबित भएका केही कार्यक्रम न कसैको निर्देशनमा तयार गरिएको थियो, न त यस्ता कार्यक्रम अन्यत्र कतै भएको सुनिएकै थिए। त्यसैले ती कार्यक्रम विशुद्ध रूपले नेपाली जनआन्दोलनका मौलिक कार्यक्रम थिए, जसलाई विश्वका शान्तिप्रिय सत्याग्रही र अहिंसामा विश्वास गर्नेेका लागि प्रेरणादायी कार्यक्रम साबित भए। त्यस्ता प्रेरणादायी कार्यक्रम मूलतः निम्न थिए।

(क) कुनै क्षेत्र विशेषलाई ‘मुक्त क्षेत्र’ घोषित गरी त्यहाँ सरकारका हिंसा पिपासुलाई पस्न नदिने। (ख) ‘ब्याल्क आउट’ अर्थात् कुनै क्षेत्र विशेषलाई पूर्णतः अन्धकारमा परिणत गराएर सरकारलाई छिर्न नदिने। (ग) चैत २४ गते देशैभर शाही घोषणाको विरुद्ध ‘जनसागर’ अर्थात् ‘मान्छेको समुद्र’ प्रदर्शन गरियो। त्यो कुनै पार्टी वा समूहको कार्यक्रम थिएन। (घ) बैंकबाट आफ्नो जम्मा रहेको पैसा निकालिहाल अन्यथा शासकले खाइदिनेछ भन्ने अपिल यस जनआन्दोलनको मौलिक कार्यक्रम साबित भयो। त्यो अभियानलाई केही दिन लम्ब्याउन दिइएको भए नेपालका सबै बैंक एकैपटक धराशयी हुने थिए।

परिणामतः देशको सिंगो अर्थतन्त्र नै थला पर्न सक्थ्यो। (ङ) त्यसै गरी मन्दिर, मस्जिद र गिर्जाघरहरूमा ‘पञ्चायती सरकारको सद्बुद्धि आओस्’ भनेर जो प्रार्थना सभा आयोजना गरिए, तिनले एकातर्फ आन्दोलनलाई कुनै धर्म वा जातिको भेदभाव नराखी तृणमूल स्तरका जनतासम्म पुर्‍याएको थियो भने अर्कोतर्फ त्यही कार्यक्रमले सरकारलाई विवश र लाचार तुल्याइदिएको थियो।’ यी सबै कुराले ‘जनता अजेय तत्व हो’ भन्ने कुराको जुन व्यावहारिक पुष्टि नेपालको जनआन्दोलन २०४६ ले गर्‍यो, त्यो वर्णनातीत उपलब्धि हो।’

विदेशीले चियाउन पनि पाएन

नेपालमा आजसम्म जति पनि परिवर्तनकारी संघर्ष भएका छन् तिनको निर्णायक भूमिकामा सधैं विदेशी रहे। २००७ सालको क्रान्ति नेपाली कांग्रेसले गर्‍यो तर सम्झौता भयो दिल्लीमा! त्यो पनि भारतकै खटनपटनमा। त्यस्तै २०१७ सालमा राजाले प्रजातन्त्रको विरुद्ध गरेको ‘कू’लाई समर्थन गराउन सगरमाथाको शिरलाई बीचबाट चिरेर सन् १९६२ मा चीनलाई सुम्पिइयो।

तिनै राजा महेन्द्रले नेपालको सार्वभौम अधिकार रहेको भूमि कालापानी, लिपुलेकलाई भारतको जिम्मा लगाइदिएका थिए। पछिल्ला केही समयअघिको कुरा गर्दा पनि ०६२/६३ को दोस्रो जनआन्दोलन हुनुपूर्व युद्धरत माओवादी र संसद्वादी प्रमुख दलहरूबीचको बाह्रबुँदे सम्झौता भारतकै तदारुकता र नेतृत्वमा दिल्लीमै सम्पन्न भएको थियो। त्यसैगरी दोस्रो जनआन्दोलनको सफलतापश्चात् अघि बढ्ने मार्गचित्र पनि दिल्लीमै कोरिएको थियो। योभन्दा लज्जाको कुरा अर्को के हुन सक्छ?

हो, २०४६ माघ ५ गते गणेशमान सिंहको घर कम्पाउन्डभित्र भएको कांग्रेसको राष्ट्रिय सम्मेलन (जनआन्दोलनको घोषणा–सभा) मा भारतका सबै राजनीतिक दलका नेताले आफ्नो भाषणमा भनेका थिए— ‘नेपालीको उत्साह देख्दा तपाइँलाई कसैको सहयोगको आवश्यकता नै छैन। तर तपाइँहरूलाई आवश्यकता पर्‍यो भने भन्नुहोस्, हामी सघाउन तयार छौं। तपाइँहरूलाई सहयोग गर्नकै निम्ति हामी भारतीय मित्रहरू मात्र होइन, विश्व समुदायका अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत पश्चिमा मुलुक पनि सहयोग गर्छौं भनेर पंक्तिबद्ध भएर यहाँ बसेका छन्। त्यसैले निश्चिन्त रहनुहोस्, जित तपाइँहरूको हुनेछ। विजय प्रजातन्त्र र मानव अधिकारको हुनेछ।’

विदेशीहरूको यस्तो भाषण सुनेको सरकार र उसका पिछलग्गुले भन्न थालिहाले— ‘विदेशीको बुई चढेर देशमा प्रजातन्त्र ल्याउँछौं भन्ने दिवास्वप्न देख्ने अराष्ट्रिय तत्वलाई नेपालीले चिनिसकेका छन्।’ उनीहरू, प्रजातन्त्रवादी नेतालाई ‘विदेशीको बुई चढेका’, ‘भेडाका छाला ओढेका ब्वाँसाहरू’, ‘कोठे राजनीति गर्ने’, ‘विदेशीका दलालहरू’ भन्ने विशेषणले गालीगलौज गर्थे। जुन कार्यक्रममा विदेशीलाई बोलाएर गणेशमानले आफ्नो देशको आन्तरिक मामलामा विदेशी हस्तक्षेप गरायो भनेर पञ्चनेताले सत्तोसराप गरिरहेका थिए, त्यही कार्यक्रममा गणेशमानजीले अमेरिका र भारतलाई फट्कार्दै भनेका थिए— ‘साथीहरू, हिचकिचाउनु वा आत्तिनुपर्दैन। यसपटक हाम्रो जोस, जाँगर र उत्सुकताको साथसाथ भारत फेरि हामीसँगै छ।

यसपटक भारतले पनि राम्रो सबक सिकेको छ कि प्रजातन्त्रलाई बेवास्ता गरी तानाशाहीलाई साथ दिँदा के हुँदो रहेछ। बाध्यतावश भन्नुहोस्, वा अरू कुनै कारणले होस्, अहिले भारत हाम्रो पक्षमा छ। आज भारतले हाम्रो पक्षमा जति (नैतिक समर्थन) देखाएको छ, त्यसको सयमा एक अंश मात्रै पनि ३० वर्षअगाडि देखाइदिएको भए हाम्रो स्थिति नै अर्को हुन्थ्यो। ‘यो विधिको विडम्बना हो कि के हो, अमेरिका प्रजातन्त्रवादी देश, तर यसले जहिले पनि निरंकुश तानाशाहीलाई साथ दिइरह्यो।

विश्वभरका प्रजातान्त्रिक सानासाना देशहरू उसको मुख ताक्दथे तर ऊ आफ्नो मुन्टो अर्कातिर फर्काउँथ्यो। उसलाई प्रभुत्ववादको होडमा अगाडि उभिनु थियो। त्यसैले दुनियाँभर गन्हाएका तानाशाहहरूलाई अमेरिकाले साथ दिँदै आयो। तर अब आएर विश्व मानव गोर्वाचोभले प्रभुत्ववादको ढोङ छाडेका कारणले विश्वमा एउटा नयाँ परिदृश्यको उद्घाटन हुन पुगेको छ। सोभियत संघले खुकुलो र नरम नीति अंगीकार गरेयता प्रजातन्त्रको नयाँ हावा वहन थालेको छ। यसको समर्थन अमेरिकाले पनि गरेको हुनाले अन्तर्राष्ट्रिय परिस्थिति पनि निरंकुश तानाशाहहरूको पक्षमा छैन। त्यसकारण हाम्रो विजय सुनिश्चित छ।’

विश्वकै शक्तिराष्ट्र अमेरिका र विस्तारवादी भनिने भारतलाई दुनियाँ सामु फट्कार्ने हैसियत भएका विश्वस्तरका राजनेता थिए— गणेशमानजी। आश्चर्य त के भने त्यस्तो ठाडो फट्कार सहेर पनि अमेरिका, पश्चिमा देशहरू र भारतले जनआन्दोलनलाई समर्थन गर्न छाडेनन्, बरु अझ बढी प्रतिबद्धता उनीहरूले देखाएका थिए। यस्ता महानतम् नेतालाई पञ्चहरू भन्दै थिए— ‘विदेशीको बुई चढेर प्रजातन्त्रको सपना देख्ने नेता !’ गणेशमानजीले साँच्चिकै त्यस बेला विदेशीको बुई चढिदिएका भए यहाँबाट राजतन्त्र उहिल्यै गायब भइसकेको हुने थियो।

राजा महेन्द्र, राजा वीरेन्द्र, गिरिजा, प्रचण्ड, माधव र ओलीलाई दबाब दिएर मूल्य असुल गर्न पल्किएका शक्ति राष्ट्रहरूले गणेशमानलाई अवश्य पनि दबाब दिने प्रयत्न गरेकै हुनुपर्छ। तर परिणामले देखायो कि २०४६ सालको जनआन्दोलनको निर्णायक क्षणमा शक्ति राष्ट्रहरूले आफ्नो हैकम चलाउन पाएका थिएनन्। केही विश्लेषकको भनाइ छ— ‘गणेशमान सिंहको लौह व्यक्तित्वका कारण उनीहरूले उनीसमक्ष आफ्नो स्वार्थ अगाडि सार्ने हिम्मत गरेनन्।’ कारण जेसुकै होस्। जनआन्दोलन उत्कर्षमा पुगेपछि अर्थात् चैत २४, २५ र २६ गते नेपालमा जस्तो राजनीतिक परिस्थिति सिर्जना भएको थियो त्यो अवसर हस्तक्षेपकारी विदेशी शक्तिका लागि सुनौलो अवसर थियो, आफ्नो टाङ अडाउन। सम्भवतः त्यो प्रयत्न शक्तिराष्ट्रहरूले अवश्य पनि गरेकै हुनुपर्छ।

यसरी हेरी ल्याउँदा कुन निष्कर्षमा पुग्न सकिन्छ भने नेपालमा आजसम्म भएका आन्दोलनमध्ये विदेशीले हस्तक्षेप गर्न नपाएको वा नसकेको एउटा मात्र राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन भनेको जनआन्दोलन २०४६ नै हो। यस्तो भन्न पाउँदा नेपालीहरूको शिर गर्वले ऊँचो हुन्छ। यो परिस्थिति सिर्जना गर्नका निम्ति गणेशमान सिंहले जुन वातावरण बनाए, त्यसको परिणामस्वरूप विदेशी शक्तिराष्ट्रले हस्तक्षेपको कुरै छोडौं चियाउन समेत पाएनन्। यो परिस्थिति निर्माणका निम्ति राजा वीरेन्द्रलाई पनि साधुवाद दिनैपर्छ। नेपालीका निम्ति योभन्दा ठूलो गौरवको कुरा अर्को हुनै सक्दैन। हाम्रो आन्तरिक व्यवस्थापनमा बाहिरिया संलग्न हुन नसक्ने परिस्थितिको निर्माण राजा र वीरेन्द्र गणेशमानले जो गरिदिए, त्यो स्वाधीन नेपालको इतिहासको एउटा मात्र सग्लो उदाहरण हो।

तपस्वीको तपस्या फलीभूत भएको दिन

गणेशमान सिंह नाम गरेको यो लौह व्यक्तित्वले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेपछि दुईपटक लगाएर दुईवटा संकल्प लियो। जसलाई पूरा गर्न उसले दिव्य पचास वर्षसम्म आफ्नो लौह स्वरूपको शरीरलाई रगडिरह्यो। उसले आफ्नो शरीरलाई यति रगड्यो यति रगड्यो, अन्ततः ऊ अब लौहपुरुष होइन वरन् लौहभष्म पुरुषमा परिणत भयो। उसको त्यो तपस्यालाई फलीभूत पार्दै अन्ततः जनआन्दोलन २०४६ सम्पन्न भयो। ती लौह व्यक्तित्व गणेशमान सिंहले लिएको पहिलो संकल्प थियो— ‘सहिदलाई दिएको वचनको पालना गर्ने।’

कुरा के भने, सिंहदरबारमा कैदी अवस्थामा रहँदा श्री ३ महाराजले आफ्नो निर्णय सुनाए— ‘गंगालालले हाम्रो शासन व्यवस्था र मुलुककै विरुद्ध कार्य गरेकाले निजलाई फाँसीको सजाय दिइन्छ।’ आफूमाथि लागेको आरोप र त्यसको आधारमा सुनाइएको फैसलापछि जेल फर्किने क्रममा गणेशमानको नजिकै पुगेपछि टक्क रोकिएर गंगालालजीले सुस्तरी भने— ‘गणेशमान दाइ, डोन्ट फर्गेट माई ब्लड।’ गणेशमानले पनि तत्क्षण उत्तर दिए— ‘त्यस विषयमा तपाइँले चिन्तै गर्नुपर्दैन।’

त्यसपछि गंगालालजीसँग गणेशमानको फेरि कहिल्यै भेट भएन। गंगालालजीलाई केही दिनपछि राणाले फाँसी दिए। उनी देश र नेपाली जनताका निम्ति सहिद भए। हो, त्यसै क्षण गणेशमानले संकल्प गरेका थिए— ‘म मेरो अनन्य मित्र एवं देशको सहिद गंगालालजीको सपना (प्रजातन्त्र स्थापना गर्ने काम) पूरा गर्न नसकेसम्म विश्राम लिनेछैन।

त्यसका लागि जस्तो मूल्य चुकाउन परे पनि म पछि हट्ने छैन।’ ३१ वर्ष अघिको त्यही संकल्प पूरा भएको दिन हो चैत्र २६ गते राति ११ बजे। त्यो दिन स्वयं सहिद गंगालाल कति खुसी भए हुनन्!

गणेशमानले गरेको दोस्रो संकल्प थियो— २००७ साल फागुन २ गते अर्थात् उनलाई जेलबाट मुक्त गरिएको दिन। त्यस दिन गणेशमान जेलमुक्त भएको खुसियालीमा हाँस्दै, खेल्दै, रमाउँदै टुँडिखेलमा जम्मा भएका लाखौं नेपाली जनताले एक स्वरमा चिच्याउँदै नारा घन्काइरहे— ‘वीरगणेशमान, जिन्दावाद!’ यहाँसम्म त ठीकै थियो। यो नारा सुनिरहेका गणेशमान पनि मक्खै थिए। त्यसपछि अर्को नारा लाग्यो— ‘हाम्रो नेता गणेशमान जिन्दावाद!’ यो नारा सुन्नेबित्तिकै आफू बसेको खुला जीपबाट उनी स्वयं कराए— ‘ए! म नेता होइन, मलाई नेता नभ!’ कसले सुन्ने उनको कुरा? ती लाखौं जनताले सुन्न सम्भवै थिएन। कसैले सुनेन। आफूसँगै जिपमा बसेकालाई उनले भने— ‘ए भाइ! गएर भनिदिनुहोस् न, गणेशमान नेता होइन भनेर।’ ती केटाहरू गएको जस्तो त गरे, तर त्यो नारा रोकिएन। घन्टौंसम्म घन्किराख्यो काठमाडौं उपत्यकाभरि सुनिने गरी गुञ्जियो— ‘हाम्रो नेता गणेशमान, जिन्दावाद!’  

गणेशमानले आफूलाई ‘नेता’ भनाउन नखोज्नुको कारण पनि जानी राखौं। गणेशमानलाई राम्रोसँग थाहा थियो— आफूलाई नेता भनाउन कुनै आइतबार कुर्नु पर्दैनथ्यो। तर नेता कहलाइसकेपछि त्यो (नेता) को दायित्व पूरा गर्न कति कठिन हुन्छ भन्ने पनि उनलाई राम्रोसँग ज्ञान थियो। नेता जस्तो व्यक्तिले आफ्नो दायित्व पूरा गर्न सकेन भने उसलाई अपराध लाग्छ भन्ने ठान्थे उनी। हो, गणेशमानलाई त्यो दायित्व र अपराधको डर थियो! त्यसैले उनी आफूलाई कसैले नेता नभनिदियोस् भन्ने चाहन्थे। आफूले मात्र चाहेर के गर्नु? जनताले उहाँको कुरा सुनेनन्।  

‘हाम्रा नेता गणेशमान, जिन्दावाद’को नारा दिनभर लागिरह्यो। गणेशमानसिंह जनताको सामुन्ने आफू लाचार भए र भने— ‘ठीक छ! मैले भनेको मानेनौ। अब म नै तिमीहरूले भनेझैं तिमीहरूको नेता भइदिउँला !’ हो, त्यसै दिन गणेशमान सिंह नाम गरेको त्यो लौह व्यक्तित्वले अर्को एउटा संकल्प अर्थात् भीष्मप्रतिज्ञा गर्‍यो। त्यो भीष्म प्रतिज्ञा थियो— ‘तिमीहरूलाई निरंकुशता र तानाशाहीको जञ्जिरबाट मुक्त नगराई चयनको सास लिनेछैन।’

संकल्प त गरियो, अब यसलाई कसरी पूरा गर्ने भन्ने प्रश्न खडा भयो गणेशमानको सामुन्ने। गणेशमानका यी दुवै संकल्पलाई पूर्ण गराउन सक्ने अस्त्र भनेको ‘पूर्ण प्रजातन्त्र’ मात्र थियो। राणाशासनको त्यस्तो अन्धकारको युगमा प्रजातन्त्रको स्थापना गर्छु भन्ने संकल्प गर्न जति सजिलो थियो, त्यत्तिकै कठिन थियो— संकल्प पूरा गर्न। गणेशमान भन्छन्— ‘संकल्प त गरिसकियो! अब जसरी पनि गर्नु नै छ।’ हो, यी दुई संकल्प पूर्ण गराउन गणेशमान दिव्य पाँच दशक संघर्षरत रहे। दुनियाँमा यस्तो इतिहास कहाँ पाइन्छ?

यसरी आफूले गरेको संकल्पबाट पछि नहट्ने स्वभावका गणेशमानले सहिद गंगालालजीलाई दिएको वचन र आफूलाई नेता तुल्याउने नेपाली जनतालाई निरङ्कुशताबाट मुक्त गराउन दिव्य ५ दशक संघर्ष गरिरहे। यही निरन्तरको संघर्षबाट कहिल्यै नथाक्ने र कहिल्यै विमुख नहुने स्वभावकै कारण उनलाई ‘लौहपुरुष’ भनियो। हो, उनको यो ५ दशक लामो संघर्ष आफैँमा एउटा तपस्या थियो! जनआन्दोलन २०४६ को सफलताले उनीजस्तो तपस्वीको तपस्यालाई फलीभूत पारेको थियो! गणेशमानले आफ्नो पुस्तकमा स्वयं भनेका छन्।

गणेशमानको नयाँ रणनीतिको विजय

राष्ट्रिय मेलमिलाप’ को नीति लिएर २०३३ सालमा भारत प्रवासबाट बिपी कोइरालासँग स्वदेश फर्केदेखि नै गणेशमान सिंहका अलग धारणा र विचार प्रकट हुन थालेका थिए। ‘राष्ट्रिय मेलमिलाप’को नीति अन्तर्गत बिपी कोइराला ‘राष्ट्रियताको सवालमा राजासँग मिल्ने र प्रजातन्त्रको सवालमा राजासँग झगडा गर्ने’ भन्दै राजाप्रति नरम थिए र कम्युनिस्टहरूलाई साथ लिएर हिँड्न उत्सुक थिएनन् भने गणेशमान सिंह राजाप्रति कठोर र पञ्चायतको समाप्ति तथा प्रजातन्त्रको पुनः स्थापनाका लागि कम्युनिस्टलाई पनि साथै लिएर हिँड्न सकिने धारणामा थिए।

बिपीले ‘पञ्चहरू कांग्रेससँग नतर्स र कांग्रेसीहरू पञ्चसँग नझस्क’को लाइन लिएका थिए भने गणेशमानले पञ्चायतविरोधी राजनीतिक शक्तिसँग कांग्रेसले झस्कन र तर्सन नहुने भन्ने लाइन प्रतिपादन गर्न थालेका थिए। २०१७ सालदेखि नै राजाले नेपाली कांग्रेसलाई कमजोर बनाउन कम्युनिस्टलाई प्रयोग गर्दै आएको र पञ्चायतविरोधी यी दुई शक्तिबीच सधैं फाटो उत्पन्न गराएर तानाशाही व्यवस्था निर्धक्क चलाइराख्न सफल भएको यथार्थ नदेखेको जस्तो गरेर बिपीले २०३३ सालपछि पनि बारम्बार कम्युनिस्टकै हौवा देखाएर राजालाई आफ्नो पक्षमा लिन खोजिरहेका थिए।

कसैसँग भिक्षा मागेर प्रजातन्त्र आउँदैन भन्ने कुरामा विश्वस्त थिए गणेशमान। यसका लागि त तानाशाहसँग संघर्ष नै गर्नुपर्छ भन्ने उनको स्पष्ट दृष्टिकोण थियो। त्यसैले राष्ट्रियता र प्रजातन्त्रका निम्ति पञ्चायतविरोधी एवं प्रजातन्त्रको पुनःस्थापना गर्न चाहने शक्तिहरूबीचको सहमति, सहभागिता र मेलमिलाप नै ‘राष्ट्रिय मेलमिलाप’ हो भन्ने बिपीभन्दा अलग्गै धारणा प्रस्तुत गर्दै गणेशमान सिंह प्रजातन्त्रको पुनःस्थापनाका लागि यसै अनुरूपको नयाँ रणनीति बनाउने दिशातिर अघि बढेका थिए।

जनआन्दोलन २०४६ पूर्णतः गणेशमानको यही नवीन रणनीतिको प्रयोग थियो। बिपीको मेलमिलापभन्दा सर्वथा पृथक् रणनीतिको प्रयोग गणेशमानले गरेको हुनाले ‘राजाले देला र खाउँला’ भनेर मुख बाएर बसेका परम्परावादी कांग्रेसी, बिपीका अन्धभक्तहरू र बिपीकै पारिवारिक सदस्यहरू गणेशमानको यो नयाँ नीतिगत फड्कोबाट सन्तुष्ट थिएनन्। 

त्यसैले त्यस्ता कांग्रेसीले जनआन्दोलनलाई खासै मद्दत पनि गरेनन्। उनीहरूको सहयोग भनेको यत्ति थियो, उनीहरूले जनआन्दोलनलाई सार्वजनिक रूपमा विरोध गरेनन्। बस! यस्तो अवस्थामा कथङ्काल जनआन्दोलन २०४६ असफल भएको भए गणेशमानलाई त्यस्ता तत्व कति चिथोर्दा हुन्, सहजै अनुमान लगाउन सकिन्छ। तसर्थ यो जनआन्दोलन गणेशमान सिंहको नवीन रणनीतिको पनि विजय थियो। (स्मरण रहोस्, यसको डेढ दशकपछि गणेशमान सिंहको यही रणनीतिलाई अङ्गीकार गरेका बिपी कोइरालाकै सहोदर भाइ तथा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गणेशमानभन्दा अझै एक कदम अघि बढेर २०६२/६३ मा उग्र कम्युनिस्ट मानिएका माओवादीसँग मिलेर नेपालबाट राजतन्त्रलाई नै उडाइदिए।)

अहिंसाका पुजारी महात्मा गान्धीको अवसानपछि भारतमा मात्र होइन यो दक्षिण एसिया क्षेत्रभर नै ‘इँटको जवाफ पत्थरले’ भन्ने राजनीति बलवान् हुँदै गयो। फलतः अहिंसालाई विस्थापित गर्न थालियो। नेपाल पनि त्यस्तै कुराबाट प्रभावित हुँदै गयो। राजतन्त्रको निरङ्कुशता र उसको मांसाहारी सोचलाई गणेशमानको यो शाकाहारी जनआन्दोलन सफल परिणतिमा पुगेबाट ‘अहिंस्रक आन्दोलन सर्वकालिक विषय हो। यसको प्रासंगिकता चिरस्थायी रहनेछ’ भन्ने प्रमाणित भयो। 

प्रकाशित: २६ चैत्र २०७८ ०४:४४ शनिबार

अक्षर