त्रिलोचन ढकाल
शरणकुमार मदनको घरमा जानुभयो। बेलुका साँझमा। मदनले भर्खर प्रकाशित भएको पुस्तक हस्तान्तरण गर्नु स्वाभाविक थियो। शरणले खुसी हुँदै आफ्नो झोलामा थन्क्याउनुभयो र भन्नुभयो, ‘तपाईंले पुस्तक बाँडिरहनुभएको छ। विमोचनमा उपस्थित हुन पाइएन नि!’
‘विमोचन कार्यक्रम गरिएन।’ मदनले प्रतिक्रिया जनाए।
‘किन?’
‘पहिलो कुरा, त्यसको तयारीका निम्ति चाहिने समय पुगेन। दोस्रो कुरा, खर्चको अभाव भयो।’
‘ओहो मेरो फेसबुक संस्था छ। त्यसले आयोजना गरिहाल्छ। दशबाह्र जना साहित्यकार जम्मा गर्छु र विचारविमर्श गराउँछु। कोभिड सक्रिय भएको हुनाले भीड गर्न भएन। तपाईँलाई आजै निमन्त्रणा गरें। बरु केही पुस्तक थपिदिनुस् न!’
मदनले अरू पुस्तकहरू थपिदिए। ती पुस्तकहरूले पनि शरणकुमारले बोकेको सुरुङभित्र प्रवेश गर्नु अस्वाभाविक भएन।
दुई दिनका दिन मदनको फोनले खित्का छोडेको थियो। शरणको रहेछ। शरणले भन्नुभयो, ‘सर, चिया खाजाका निम्ति पाँच छहजार रुपियाँ त दिनुपर्ने भयो।’
प्रकाशित: १७ चैत्र २०७८ ०३:१२ बिहीबार