१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

डाक्टरको पुर्जा

लघुकथा

ढाकामोहन बराल

‘हरिचन्द्र बा, हजुर त साह्रै दुब्लाउनुभएछ त के भयो हजुरलाई?’ शहरबाट फर्कदै गरेको राजुले देउरालीमा भेट्दा सोध्यो।

‘त्यही त बाबु, आजभोलि बेलाबेलामा पेट कटक्क काट्छ। फनफनी घुमाउँछ, चिटचिट पसीना आउँछ।’ हरिचन्द्र बाले भन्नुभयो।

‘बा त्यसो हो भने एकपटक शहर गएर जाँच गर्नुपर्‍यो’ भन्दै राजु बिदा भयो।

हरिचन्द्र बालाई पनि एकपटक शहर गएर जाँच गर्ने विचार त आएको हो तर घरको भैंसी एकहाते भएर जान नसकेका हुन्।

मनमनै ‘अहो जेसुकै होस्, भोलि जाँच गर्न त जानै पर्‍यो’ भन्दै उहाँ पनि घरतर्फ लाग्नुभयो। भोलिपल्ट बिहानै भैंसी दुहुनुभयो र ‘भरे फर्कन ढिलो भयो भने पाँडो फुकाइदिनु, खावोस् आफ्नै आमाको हो दूध हो। बरु पानी दिन विचार गर्नु,दुध धेरै खाएर भकारो चिसो बनाउला।’ भन्दै हरिचन्द्र बा घरबाट निस्कनुभयो। गोपाल सरले भनेको अस्पतालमा पुग्नुभयो र गेटमा बसेको सुरक्षा गार्डसँग सोध्नुभयो, ‘कटक्क पेट काट्छ, फनफनी घुमाउँछ र चिटचिट पसीना आउँछ। कसलाई भन्ने हो?’ सुरक्षागार्डले रिसेप्सनतर्फ देखायो।

हरिचन्द्र बाले त्यहाँ पनि सोही कुरा दोहोर्‍याउनुभयो। उहाँलाई डा. डिल्लीराज बस्नेतको टिकट किन्न लगाइयो र अरू जस्तै पालो पर्खन भनियो। पालो निकै लामो थियो। उहाँजस्तै पालो पर्खेर बसेकाहरूसँग पनि आफ्नो रोगबारे त्यसै गरेर बताउनुभयो, जसरी गेटको सुरक्षागार्डलाई बताउनुभएको थियो। कसैले सुने, कसैले सुनेनन्। दुई घण्टा जतिपछि उहाँको पनि पालो आयो र भित्र जानुभयो।

‘बस्नुस्,कहाँबाट आउनुभयो’ डा. बस्नेतले सोध्दै कागजमा लेख्न लाग्नुभयो,‘उर्लापुर गाउँको सिरानबाट डाक्टर साब।’ बाले जवाफ दिनुभयो।

‘के हुन्छ’ भनेर फेरि सोध्नुभयो तर बाको जवाफ सुरु नहुँदै लेखेर भ्याउनुभयो र भन्नुभयो, ‘ल अहिले यो औषधिले विचार गरौं।’

औषधि पसलमा गएर पुर्जा देखाउँदा पसलेले एक भारी औषधि दियो।

‘धन्न,के कसो पर्ला’ भनेर बाख्रो बेचेको रुपैयाँ-पैसा पनि साथै थियो र पुग्यो। उनको मनमा भने एउटा कुरा खेलिरह्यो, ‘अरूलाई भने पनि डाक्टरलाई त मैले केही भन्न पाएकै छैन तर कति धेरै औषधि लेखेछन्।’

प्रकाशित: ९ चैत्र २०७८ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App