हरिप्रसाद गौतम
खोला तरेर लौरो बिर्सिदिएर जान्छन्
हुँदा गेडी मसँगै छैनन् ती टाढा हुन्छन्।
तिवारी ताक पर्दा नत्र गोतामे बन्छन्,
पोखी राडीमा सातु लाजले खान्नँ भन्छन्
सिङै त छैन जसको नामै तिखे उसैको,
देखावटी ती गर्छन् केरा दिई पुसैको।
द्यौता जपेर मुखमा छुरा बगलीभित्र,
देखिए जोगी उस्तै कानै चिरेका मात्र!
औंला दिंदा उनैले डुँडुल्नो निल्न थाल्छन्,
साक्षी बिराला मिल्दै दूध सिनित्त पार्छन्।
लाग्दा घरैमा आगो घडी र भद्रा भन्छन्,
के वर माग्नु शम्भो उत्तानो आफैं पर्छन्।
अनेकता योभित्र विश्व अनौठो लाग्छ,
लोभ, बठ्याइँ सारा यस्तै कुरामा जाग्छ
दृष्टान्त ठ्याक्क मिल्ने ठट्टा र गल्ती जे छन्,
शैली मिलाई ठ्याक्क उखानले कहन्छन्।
प्रकाशित: ७ चैत्र २०७८ ०५:३३ सोमबार