वन्दना राई
एक्लो सल्लाको रुख
वर्षौदेखि उभिरहेको छ
एक्लो सल्लाको रुख
एउटा युगको सार, अवशेष या समाधि
जसको मुनितिर
चतरासम्म सुन्तला बेच्न निस्किएको
थेप्चो नाक,गहुँगोरो वर्णको मानिस
ऊ आफैंलाई थाहै नभएको
आफ्नै राजधानीले
बन्दुक बोक्न पठायो
उसलाई खुइलाउनु थिएन तालु,अनिकाल भगाउन
नाप्नु थिएन अक्करको भिर,पैतला खिइञ्जेल
खाँचो थियो त एक ढिक्का नुनको
भोक चपाउनलाई
यति साधारण मानिस
तिन चुला/आगोको मृत्यु सम्झेर
आफैं नियतिको बाढीमा हेलियो
भोकसितको युद्ध जित्न
अर्को युद्ध लड्न गयो ऊ
त्यसपश्चात् पनि
रात चूपचाप कहिल्यै निदाएन
के उँधौली, के उँभौली
दुःखको जाँतो घुमिरहन्थ्यो
तितरवितर सपनाहरू
निफनिरह्यो समय चक्रको नाङ्लामा
जिन्दगी भुस हो कि चामल
कहिले छुटिएन
बरु पाकिरह्यो सुँगुरको चारोजस्तै
फतक्क गलिञ्जेल
पश्चिमा हावाले गिजाइरहन्छ बेलाबेला
हाम्रो घ्याम्पा गन्हाउँछ आधुनिक भट्टीलाई
मिल्ने भए गाउँतिर फर्काएर समुद्र
बिकिनीको व्यापार गर्दो हो
फरिया–चोली देखेर
त्यसैत्यसै गर्मी हुन्छ आधुनिक युगलाई
अनि प्रश्न गरिरहन्छ
एक मात्र साक्षी सल्लाको रुखलाई
खै कस्तो भयो त्यो मानिस?
आफ्नो होचो कदले कत्रो उचाइ नाप्यो?
त्यो चिम्सो आँखाले चन्द्रमालाई देख्यो के त?
किनिमाको गन्ध सुघ्न अभ्यसित नाकले
सुँघेर पत्ता लगायो त आफ्नो आदिम इतिहास?
कि थिची मार्यो आफ्नै बहादुरीमा पाएको तक्माले?
कि आफ्नै लवजमा लाजबोध गरेर
गाउनै छाड्यो साकेलाको गीत?
उफ! कस्तो देखिंदो हो त्यसको चेहेरा
हेर्न चाहन्छ यो आधुनिक युग
एउटा मिल्दोजुल्दो अनुहार
राजधानीबाट अज्ञानताको लाश बोकेर
प्राचीन राजधानी हतुवागढी आइपुगेको छ
यतिखेर तपाईहरूसामु
शब्दमा आफ्नो चित्र कोरिरहेको छ
यो कविता नै उसको विस्तृत रूप हो
नपत्याए छामी हेर्नुस्, पाउनुहुनेछ आफ्नै चेहेरा ...।
प्रकाशित: ७ चैत्र २०७८ ०४:४३ सोमबार