बालकृष्ण गजुरेल
‘बिचमा नबोल्नुस् डाक्टर साब। वास्तविकता बुझ्नुपर्यो नि!’ मदन परियार झनक्क रिसाए। मदन परियार पेशाले वकिल थिए। शहरको चर्चित अस्पतालमा व्यवस्थापन समितिको बैठक चल्दै थियो। मदन परियार स्वयं व्यवस्थापन समितिको अध्यक्ष थिए।
डा. रुइत चुप बसे। बोलेर बोली साध्य थिएन। माहोल गरम थियो। बहस शारीरिक सम्बन्धको थियो। दुवै युवायुवती चर्चित व्यक्तित्वमा गनिन्थे। गाउँ –शहरमा होहल्ला मच्चिएको थियो। कोही भन्थे, ‘कस्ती युवती रहिछ? मन परे चमत्कार। मन नपरे बलात्कार।’
कोही भन्थे, ‘युवाले अरू युवती जस्तो सहज ठान्यो होला। युवतीको इज्जत हुन्न र? नारीलाई सम्मान नगरेको फल भोग्यो।’ उनीहरूलाई लाग्थ्यो, ती एक आपसमा आरोप लगाउँदालगाउँदै आफैं नराम्ररी फसिसकेका थिए। त्यसमाथि आजको पित्त पत्रकारिता। पैसा पाए व्यक्तित्व हत्यासम्म गर्न पछि नपर्ने। भद्रभलाद्मीको बहस लामो चल्यो। बहसले दिशा मोड्यो।
एउटा बिरामी अशक्त हालतमा थिए। भर्ना भएको महिना दिन बितिसकेको थियो। बिरामीका परिवारले चालीस लाख खर्च गरिसकेका थिए। कि रोग निको पार्नु पर्ने कि परिवारलाई जवाफ दिनै पर्ने बाध्यता अस्पताललाई थियो।
‘सकेको प्रयास गरिएकै छ। ठिक भएन भने हामीले के गर्ने?’ मदन परियारले आफ्नो आशय खोले। मदन परियारलाई सम्झाउँदै डा. रुइतले भने, ‘पूरा शरीर नजाँची आधा समस्या देखेर गर्ने उत्तेजित डायग्नोसिसले क्रान्तिकारी साथीहरूले प्रकाश सपुतको पीर गीतको बारेमा गरेको भद्दा टिप्पणी जस्तो हुन्छ।
प्रकाशित: ६ चैत्र २०७८ ०६:२४ आइतबार