४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

पनौतीमा बाह्रवर्षे मकर मेला

पनौतीमा चल्दै आइरहेको बाह्रवर्षे मकर मेला कहिलेदेखि चल्दै आइरहेको हो भन्ने कसैले भन्न सक्दैनन्, तर यो मेला परापूर्वकालदेखि चल्दै आइरहेको हो भन्ने सन्दर्भमा एउटा प्रचलित किंवदन्ती छ।

एकपटक देवराज इन्द्रले गौतमी ऋषिको रूप लिएर ऋषिको कुटीमा गई ऋषिकी अत्यन्तै राम्री सुन्दरी स्वास्नी अहिल्यासँग मोहित भई शारीरिक सम्बन्ध राखी सतित्व नाश गरेका थिए। यो कुरा थाहा पाएर गौतमी ऋषिले इन्द्रलाई शरीरभरि नै योनि प्रकट होस् भनी सराप दिएछन्।

ऋषिको सरापका कारण इन्द्रको शरीरभरि योनि उत्पन्न भएछ। ती योनिलाई नाश गर्न पनौतीको त्रिवेणी नदीमा १२ वर्षसम्म महादेवको ध्यान गरेर दिनहुँ स्नान गरेर तपस्या गरिरहे।

यसरी इन्द्रले १२ वर्षसम्म तपस्या गरेर गौतम ऋषिको सरापबाट मुक्त भएको दिनदेखि हरेक वर्ष अष्टमातृका पीठ जगाई भैरव भद्रकालीको जात्रा चलाई १२ वर्षमा एकपटक मकर मेला चलाउने र हरेक वर्ष माघे संक्रान्तिका दिन त्रिवेणी घाटमा स्नान गर्ने मेलाको परम्परा चलाइएको हो भनिन्छ। त्रिवेणी घाटमा स्नान गर्नाले पुण्य प्राप्त हुने, पापबाट मुक्त हुने र जीवन सुखमय हुनेछ भन्ने जनविश्वास छ।

उता आफ्नो सतित्व हरण गराई बसेकी अहिल्यालाई गौतम ऋषिले शिला हुने सराप दिन्छन्। तत्कालै अहिल्या शिलामा परिणत हुन्छिन्। यसरी सराप लागेर शिला भएर बसेकी अहिल्या त्रेता युगमा मर्यादा पुरुषोत्तम श्री रामचन्द्रको पाउको स्पर्शबाट सरापबाट मुक्त हुन्छिन्।

अर्को एउटा किंवदन्ती अनुसार पाटन र पनौतीमा वर्षा नभएर अनिकाल भएकाले दुवै स्थानका तान्त्रिकले फुल्चोकी माईको पूजापाठ गरेर पानी माग्न गएछन्। दुवैले पहिला आफ्नो स्थानमा पानी लाने कुरामा प्रतियोगिता जस्तै गरिरहेको देखेर फुल्चोकी माताले एउटा प्रस्ताव राखिन्– ‘जसले सबैभन्दा पहिला चाँदी र सुनको फूल चढाउन सक्छ, उसैलाई वरदान दिनेछु।’ अनि चाँदी र सुन भएका पाटनका तान्त्रिकले सुन र चाँदीको फूल बनाउन दिए तर पनौतीका तान्त्रिकसँग चाँदी र सुन नभएको र बनाउन जान्ने सुनार पनि नभएकाले सुन र चाँदीजस्तै देखिने तोरी र मुलाको फूल चढाएर बिन्तीभाउ गरेछन्।

फुल्चोकी माताले सुन र चाँदीका लागि प्रख्यात पाटनका तान्त्रिकलाई भन्दा मुला, तोरी र सागपात रोप्ने किसानलाई पानी पठाइदिएकी हुन् भनिन्छ। ६ वर्षपछि सुन र चाँदीको फूल बनाई पाटनका तान्त्रिकले फुल्चोकी मातालाई चढाई मलाई पनि वरदान दिनुहोस् भनी माग्छन्, तब फुल्चोकी माताले उक्त पानीबाटै आधा पानी गोदावरीमा पनि पठाइदिएकी हुन् भनिन्छ।

सोही समयदेखि गोदावरी मेला र मकर मेला १२ वर्षमा एकपटक चल्दै आइरहेको हो भनिन्छ। स्मरणयोग्य छ कि राजा प्रताप मल्लले रानी पोखरी बनाइसकेपछि विभिन्न तीर्थका जल राख्ने क्रममा पनौतीको त्रिवेणीघाटको जल पनि राखेको कुरा शिलालेखमा उल्लेख गरिएको छ। १२ वर्षमा एकपटक हुने यो मकर मेला यसपालि पनि माघ महिनाभर सञ्चालन भइरहेको छ।

यो मेलामा भाग लिन नेपालका विभिन्न स्थानबाट र उत्तर भारतको प्रयागबाट समेत भक्तजन आउने गर्छन्। मेला लाग्ने मुख्य स्थान पनौतीको त्रिवेणीघाट हो। त्यहाँ स्नान गरेर उत्तरतर्फ रहेको कुञ्जगिरिमा गोरखनाथ देवतालाई जल अर्पण गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक आस्था रही आएको छ।

पनौतीमा हरेक वर्ष तीन दिनसम्म जात्रा सञ्चालन गर्ने क्रममा महादेव, भद्रकाली र उन्मक्त भैरवको खट जात्रा गरिन्छ। ज्या पुन्हिका दिन चलाइने यो जात्रामा पहिला उन्मत्त भैरव र भद्रकालीको खट तीनपटक जुधाइन्छ।

त्यसपछि इन्द्रेश्वर महादेव र भद्रकालीको खट पनि जुधाइन्छ। यो जात्रामा सुन्नमा आएको किंवदन्ती अनुसार, एकपटक ६४ योगिनीलाई एकैपटक यौन चाहनाले कामातुर हुँदा महादेव एक्लै बसिरहेको देखेर लखेट्न थालेछन्। त्यतिका धेरै योगिनीसँग सहवास गर्न नसकिने ठानेर महादेव त्रिवेणी घाटमा लुक्न गएछन्। यसरी लुक्दा पनि केही सीप नलागेपछि महादेवले भयंकर उन्मुक्त भैरवको रूप लिएर योगिनीहरूलाई नै लखेट्न थालेछन्।

६४ योगिनीहरू ६४ दिशामा भाग्दै गरिरहेको अवस्थामा पनौती दरबारअगाडि भद्रकाली घोप्टो पर्ने गरी लडिन्। उन्मक्त भैरवले भद्रकालीलाई भेटाएर पछाडिबाट तीनपटक र अगाडिबाट तीनपटक शारीरिक सम्बन्ध राखे। तीन–तीन पटक देवताको खट जुधाएर जात्रा गर्ने चलन रहेको त्यसैको सम्झना स्वरूप हो भनिन्छ।

यौनकाण्डपछि उन्मक्त भैरव रिसाएर पनौती देश छाडेर जान लाग्दा तान्त्रिकले थाहा पाई आठवटा खुट्टा भएको पशु बलि र ठूलो रोटी चढाउँछु भनी वाचा गरेर उन्मक्त भैरवलाई रोकी राखे। उन्मक्त भैरवलाई आठवटा खुट्टा भएको गंगटो बलि दिने गरिन्छ भने ठूलो मकैको रोटी चढाउने गरिन्छ।

प्रकाशित: १४ फाल्गुन २०७८ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App