छायादत्त न्यौपाने
दसैं चहलपहल सकियो। परपर बादल मडारिंदै थियो। रविनको घरतिर भने मन्द घाम लागेको थियो। बिहानको झुल्के घामसँगसँगै दसैंको रहलपहल खानेकुराका पोका बोकेर घरको छतमा गए बा सनत र छोरा रविन।
बाछोरा दुवैले पन्छीले खाऊन् भनेर खानेकुरा वरिपरि छरे तर पन्छी आएनन्। धेरै खानेकुरा छरिसके तर पन्छी देखिएनन्।
–खै त बाबा चरासरा केही आको? रविनले प्रश्न गरे।
–पख न आउँछन् भनेर आ–आ भन्दै सनतले खानेकुरा परपर छरे। नभन्दै एउटा काग आएर छेउमा बस्यो। त्यसले का–का–का गर्यो। एकैछिनमा अरू धेरै काग जम्मा भए।
कागहरूले खानेकुरा खान थाले। पहिले आएको काग अझै बोलाउँदै थियोे। कागको यो उदारता देखेर रविनले भने,‘असल प्राणी भनिने हामी मान्छेले अरूको भाग खोसीखोसी आफू खान्छौं। अझ पेट भरिएन भनेर लुटेर, ठगेर र चोरेर केके सकिन्छ, त्यही गरेर खान्छौं एक्लै खान्छौं। तर, छुचो नराम्रो भनेर हेपिएको कागले त कमजोर साथीहरूलाई बिचबिचको खानेकुरा छोडिदिएर बलियाले परपर छरिएको बटुल्दै छन्। फेरि एक्लै नखाएर साथीहरूलाई बोलाईबोलाई मिलेर खाए, खुवाए। यो त पटक्कै स्वार्थ नभएको प्राणी रहेछ हगि बाबा!’
–हो नि तिमी आफैैंले देखिहाल्यौ त। बाबाको समर्थन पाएर रविनले थपे, ‘अनि नि बाबा, कागको यो असल गुण मान्छेले पनि सिक्नुपर्ने होइन र?’
छोराको यो गम्भीर, परिपक्व मानवीय जिज्ञासाले सनतलाई सोचमग्न बनायो। उनले तिमीले राम्रो कुरा गर्यौ भन्दै तल झरे।
प्रकाशित: २१ माघ २०७८ ०५:२० शुक्रबार