२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आशलाग्दा कवि र उनको संवेदनाको विज्ञप्ति

नेपाली साहित्यका आकाशमा थुप्रै नव आगन्तुक साहित्यकारका कृतिहरुले स्थान पाई सफलताका शिखरहरु चढ्न सफल भइसकेका छन्। यिनै साहित्यको भीडमा एउटा नव साहित्यकारका रुपमा आफूलाई परिचित बनाउन सफल सहित्यकारका रुपमा अदीप्त प्रकाशलाई चिन्न सकिन्छ।  

काठ उपत्यकामा जन्मिएर त्यहीको रहनसहनमा हुर्कि बढेका साहित्यकारका रुपमा उदाउँदै आएका प्रतिभाको रुपमा उनलाई चिन्न सकिन्छ। संख्यात्मक भन्दा पनि गुणात्मक रचना दिनु पर्छ भन्ने मान्यता राख्ने अदिप्तको वास्तविक नाम प्रकाश थापा हो। काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका–१ मा जन्मिएका अदीप्त अरुलाई खुसी बनाउन कविता लेख्दैनन् । कवि अदिप्त विशेष गरेर साहित्यका काव्यविद्यामा आफूलाई स्थापित गराउन प्रयासरत छन्।

साहित्य र साहित्यिक कार्यक्रममा रमाउने हराउने कवि अदीप्त कविताहरु भनेका भावहरु हुन्, संवेदनाहरु हुन् भन्छन्। स्नातकोत्तर सम्मको अध्ययन गरी लामो समय शिक्षण पेशामा आवद्ध अदीप्ताका अन्तर्मनका प्रतिध्वनिहरु(२०६६) गजल संग्रह प्रकाशित भईसकेको छ भने अन्य फुटकर रचनाहरु पत्रपत्रिकामा छापिएका छन्। हाल उनको संवेदनाको विज्ञप्ति नामक कविता सङ्ग्रह प्रकाशित भएको छ। यसपछि उनको मुक्तक सङ्ग्रह बजारमा आउँदैछ।

अदीप्त प्रकाशको यो कविता सङ्ग्रह वर्तमानको कलात्मक ऐना र भविष्यको ऐतिहासिक रेखा हो। भोलि हामी रहँदैनौ, तर यो कविता सङ्ग्रह अदृश्य रुपमा यसका कवि र कविले देखेका घटना र  चेतनामा हामी सबै बाँचिरकेका हुनेछौ भन्दै लेखक तथा पत्रकार अश्विनी कोइराला यो कृतिको विवेचना गर्दछन्।

सानो तर आकर्षक देखिएको पुस्तक ९० पृष्ठमा संरचित छ। यसमा बा समाचार हेर्न बन्द गर्नोस्, अझै सिक्न बाँकी छ, खटप्वालहरु, संवेदनाको विज्ञप्ति, माया, सहिद, फेरि देशको मानचित्र पढाउँदा, बाग्मती सिम्फोनी जस्ता शीर्षक बनाएर ५२ वटा कविताहरु प्रकाशन भएका छन्। फरक फरक शैली र क्षेत्रका कविताले पाठकको विभिन्न आश्वादनको काम गरेको छ। सुमनबज्र बज्राचार्यको आवरण कला, तथा प्रज्ञा आधुनिक छापाखाना कमलादीमा यसलाई मुद्रण गरिएको छ ।

यो मूलतः कविता काव्य विद्या अन्तर्गत कविता विद्यामा रहेर रचना गरिएको कृति हो। यसमा समाजमा भएका देखिएका विषयलाई कविताको रुप दिइएको छ। बा समाचार हेर्न बन्द गर्नोस् सानो कविताबाट यसको सुरुवात गरिएको छ। समाचार समाचार जस्ता छैनन् भन्दै समाचारले बा के हृदय छुन नसकेको कुरा बताएका छन्।

उनका कतिपय कविताले मानव मस्तिक खलबलाएका पनि छन् । उनी भन्छन्  

ढलेका गजुरसँगै

आस्थाहरु पनि केही डगमगाएको बेला

पुर्खाका धरोहरहरु टेकाहरु बीचमा थर्थराएको बेला  

केही शिल्पी हातहरु

केही दारा आँटहरु

केही गाढा साथहरु चाहिएको छ  

देश बनाउने हातहरु चाहिएको छ कविताबाट  

त्यस्तै उखु किसानको समस्याहरुलाई उनले आफ्नो कविताको माध्यमबाट उनीहरुको आँसु नलागोस्। किसानलाई सम्मान गर्नु पर्छ भन्दै उनी भन्छन्ः

उसको उखु मुटुको किला बनेर फर्कन्छ

उज्यालो दिन फेरि फर्किदैन  

केवल अनिदो रा तबनेर फर्किन्छ

उसको आँखाको पानी बनेर फर्किन्छ ।

त्यस्तै लाश शीर्षकको कवितामा उनी लास के हो र यो किन संबेदना हराएको छ भनेर सोच्दछन्। मान्छे जिउदो लास बनेको छ आज। ऊ जसले जे गरे पनि प्रतिक्रिया जनाउँदैन जसरी लासले जनाउँदैन भन्दै मान्छेबाट आश गर्नु व्यर्थ छ भन्ने निराशा तर यथार्थबादी भाव व्यक्त गर्दछन्।

गुलाबी झिसमिसेमै उसले उखु हैन

आफ्नो सन्तानको किताब,कापी र कलम

श्रीमतीको चुरा,पोते र फरिया

बुझाउँछ मिलनमा ।

उखुको आँसु कविताबाट पेज ११

कतिपय कविताहरुमा कवि भावुक पनि भएका छन्। देश र देशनिवासीको पीडा व्यथाहरुलाई आफ्नो कवितामा उनी व्यक्त गर्दछन। शिक्षा र शिक्षाको कुरा पनि केवल कागजीमात्र भए। शिक्षाले बाँच्न सिकाउनु पर्ने हो तर बाँच्नका लागि त पैसा चहिँदो रहेछ। सर्टिफिकेटहरु कागजी मात्र भएका छन् आजका मासिहरुको।  

सर्टिफिकेटले नजियाउने रहेछ

जिउन त दल,दौलत या दबाउने तागत चाहिने रहेछ ।

त्यसैले ते बाल्यकालमा रटेका  

धनभन्दा विद्या ठूलो  

तरवारभन्दा कलम बलियो

यी वादविवादका शीर्षक आजभोलि तीर बनेर  

छाती घोच्न आइपुग्छन्  

अझै सिक्न बाँकी छ कविता पेज २७

कविता संग्रह पढ्दै जादा लाग्छ म कवि सँगसँगै देश डुलेको छु। कतै गाउँका कुरा गरेका छन् भने कतै सहरको कुरा। कहिले उनी पूर्वी पहाडी जिल्लाको बयान गर्छन् त कहिले सुदूरपश्चिमको छाउपडी प्रथाले निम्त्याएको समस्यालाई देखाउँछन्। पोखराको सुन्दरतालाई बर्णन गर्न पनि कवि छुटेका छैनन्। उनका कवितामा कतै देशको चर्चा पाइन्छ भने कतै वागमतिको चर्चा पनि छ। कविता संग्रहमा आईपुग्दा कविले आफूलाई निख्खारपन आईसकेको कुरा व्यक्त गरेका छन्।  

सरल भाषाका माध्यमबाट गद्य शैलीमा रचना भएको यस कविता संग्रहका सबै कविता उत्तिकै पढौपढौ लाग्ने रहेका छन्। कविलाई शुभकामना। अनि बधाई। 

प्रकाशित: १ माघ २०७८ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App