२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

भोर्लाको पात

कथा

खेमराज पोखरेल

त्यहाँबाट अलि पर एउटा सालको रुख सधैं देख्थेँ म। त्यो सालको रुखमा भोर्लाका लहरा बेरिएको थियो। जेलिएको थियो। फस्टाएको थियो। म शून्यताको एकान्तमा त्यही भोर्लाको लहरालाई एकोहोरो हेरिरहेको हुन्थेँ। त्यही लहरामा अनवरत हल्लिरहेका पातहरूलाई हेर्दै हुन्थें र मेरो जिन्दगी त्यही भोर्लाको पातमा एकाकार हुन्थ्यो। मेरो मुकाम त्यही भोर्लाको पात हुन्थ्यो।

त्यहाँको अन्तिम रात थियो मेरो। त्यसको भोलिपल्टदेखि मेरो अर्कै संसार हुने थियो। मेरो संसार कस्तो हुने हो थाहा थिएन। मेरो अर्कै मुकाम हुनेवाला थियो। तर, मुकाम थाहा थिएन। म सोचिरहेको थिएँ कि भोलिदेखि जिन्दगीको निरूद्देश्य र कर्कश यात्रा सुरु हुनेछ तर भोर्लाका पातहरू भने पश्चिमा हावाको वेगसँग निर्मग्न भएर झुत्ती खेलिरहेका थिए। हावाले भोर्लाका पातहरूलाई यताउता फर्काएर पीपलपाते बनाइरहेको थियो। त्यसमा म आफ्नो तिरस्कारयुक्त जीवनबोध गरिरहेको थिएँ। लागिरहेको थियो कि ती पातहरूलाई झ्यामका झ्याम काटूँ।

त्यो सुधार केन्द्रमा बसेको वर्षौं भइसकेको थियो। ती वर्षहरूमा मलाई त्यहाँका हरेक कोठा, चोटा, चौर, धारा, बिजुलीका पोलहरू तथा समग्र परिवेशले चिनेका थिए। तिनले मलाई कहिल्यै तिरस्कार गरेका थिएनन्। तर, त्यसको भोलिपल्टदेखि नै मैले तिनलाई छोड्नु पर्दै थियो। त्यो विछोडको कल्पनाले मलाई विह्वल बनाइरहेको थियो। म द्रवीभूत भइरहेको थिएँ।

त्यसैबेला मध्यरातमा लिलीले मलाई फोन गरेकी थिई, ‘हेलो नरेश, तिमी अझै सुतिसकेका छैनौ? हेर त रातको मध्य प्रहर भइसक्यो। के सोचिरहेका छौ? भो जिन्दगीका बारेमा सोच्न बन्द गर। सोचेर जीवन चल्ने भए मान्छे किन यस्तो हुन्थ्यो र? यो सबै नियमित आकस्मिकता हो। खालि नियमित आकस्मिकता। भाग्यवादीले यसलाई भाग्य भन्छन्। कर्मवादीले कर्म भन्छन्। ईश्वरवादीले ईश्वरको कृपा भन्छन्। एकछिन कल्पना गर कि जीवनमा तिमीले सोचेर के पायौ?’

लिलीको फोनले मलाई तत्क्षण अधैर्य बनाएको थियो। भोर्लाको पातको सम्झनाबाट फर्किएर मैले भित्तामा टाँगिएको ठूलो घडीलाई एकटकले हेरेको थिएँ। रातको साढे बाह्र भएको थियो। त्यो आफ्नै तालमा टिकटिक गरेर चलिरहेको थियो। यो घडी किमार्थ रोकिन्न। किनकि उसले रोकिनु हुन्न। समय रोकिनु भनेको प्रलय हो। खासमा प्रलयपछि पनि समय रोकिन्न। अनि तत्काल लिलीको फोनलाई जवाफ दिएँ, ‘अब सुत्छु लिली। त्यही पर देखिने भोर्लाका पातलाई सम्झिरहेको रहेछु।’

खोई लिलीले पत्याई वा पत्याइन। तर, फोनमा ‘त्यो भोर्लाको पात तिम्रो विगत हो। वर्तमान पनि हो। भविष्य पनि हो। त्योसँग तिमी नडराऊ। त्यो समय हो। समय एकनास रहँदैन। मचाहिँ सुतें’ भन्दै फोन राखिदिई।

लिली यही सुधार केन्द्रकी कर्मचारी हो। दर्शनशास्त्रमा मास्टर पढदै गर्दा ऊ लागू पदार्थ सेवन गर्थी रे। उसका आफन्तले त्यही सुधार केन्द्रमा राखिदिएछन्। त्यसपछि ऊ त्यही केन्द्रमै कर्मचारी भएर बसेकी रहिछे। मलाई  चौखुर्‍याएर त्यो सुधार केन्द्रमा ल्याउँदा ऊ मलाई नै हेरिरहेकी थिई। उसका आँखामा गहिरो पीडा र मप्रतिको माया देखेको थिएँ मैले। उसका नीला आँखा, आँखाको कालो घेरा तथा दृष्टि मलाई समुद्र जस्तै गहिरो लागेको थियो।

ऊ बिस्तारैबिस्तारै कर्मचारीका नाताले मसँग नजिकिई। सायद ऊ त्यही सुधार केन्द्रकी कर्मचारी भएकाले मसँग नजिकिने ड्युटी गरेकी थिई। भूमिका निर्वाह गरेकी थिई। तर मैले उसका आँखामा मप्रति माया देख्न थालेको थिएँ। त्यो माया प्रगाढ भएझैं लागेको थियो। उफ! यो लिली किन यति मायालु भएकी हो।

हो,लिली साँच्चै भन्छे। समय उस्तै दुरुस्त कहिल्यै बस्दैन। वर्तमान जीवन हो। भूत शिक्षा हो। भविष्य आशा हो। तर, यो भोर्लाको पातबाट आउने एक प्रकारको गन्धको कल्पना मात्रले पनि आङ सिरिङ्ङ हुन्थ्यो मेरो। लिली भने मलाई त्यो भोर्लाको पातको धङ्धङीबाट बाहिर निकाल्न खोज्थी।

एक दिन लिलीले मलाई भनेकी थिई, ‘नरेश, अब त तिमी पूरै ठीक भयौ। तिम्रो डोज पनि शून्यमा झर्न अब २ हप्ता मात्र बाँकी छ। शून्य डोजमा झरेपछि त अर्को २ हप्तापछि तिमीले यो केन्द्र छोड्नुपर्छ। अहिले तिमी यहाँ एक खाले जीवन बाँच्दै छौ। कुरा बुझी राख। यहाँबाट गएपछि तिमीले फरक खालको जिन्दगी सुरु गर्नुपर्छ।’

म सोचिरहेको थिएँ। मेरा जीवनमा भोर्लाका पातहरू रहस्यमय भएर बसेका थिए। मेरो बाल्यकाल भोर्लाको पातको सानिध्यमा हुर्किएको थियो। त्यो म जन्मेको सुन्दर गाउँ, नजिकै रहेको चुरे पहाडको चारकोसे झाडी र त्यहाँ लहराइरहेका भोर्लाका पातहरू जीवनदायिनी थिए। हाम्रो परिवारको कृषिबाट नै इष्टमित्र, जोगी साधु, सरकार तथा देवीदेवतालाई भाग लगाएरै खान पुग्ने अवस्था थियो। छाताको प्रचलन पउल थिएन। भोर्लाका पातको घुम तथा छतरीले वर्षा झेलिन्थ्यो। चाडपर्व, भोजभतेर तथा घरायसी प्रचलनमा भोर्लाकै टपरी हुन्थे। बोहोता र दुनाहरू हुन्थे। सिन्काले खिलेर कारीगरी तरीकाले गाँसिएका हुन्थे। दाम्लो, नाम्लोको बरियो तथा डोरी भोर्लाकै लहरा काढेर बनाइने पाटको हुन्थ्यो। वनजंगलमा जरुवा पानी पिउन भोर्लाको पात जस्तो सजिलो केही हुन्न थियो। यसरी भोर्लाको पात हाम्रो र त्यो गाउँका मान्छेको जीवनदायिनी थियो।

हजुरबाहजुरआमा अगेनाका डिलमा बसेर त्यही भोर्लाको पातमा लाम्पाते बेरेर बिंडी बनाएर तान्नुहुन्थ्यो। बुबा रातो माटोले लिपेको ओसारीमा बसेर त्यही भोर्लाको पातमा बनाइएको बिँडी तान्नुहुन्थ्यो। छिमेकी वा पाहुना आए भने पहिले त्यही भोर्लाको पातको बिँडी बनाएर दिने चलन थियो।  

अगेनामा जतिबेला पनि ओदान राखिएकै हुन्थ्यो। घरमा भएको बेला मेरा हजुरबा त्यही ओदानलाई देखाएर मलाई भन्नुहुन्थ्यो, ‘नाति, ओदानमा तीन खुट्टा किन हुन्छन् , भन् त?

म विचरो फुच्चे के भन्दो हुँ। अनि हजुरबा नै भन्नुहुन्थ्यो, ‘बुझेर ल्याउँदा यो संसारको स्वर्ग, मर्त्य र पाताल भनेको यही ओदानको तीन खुट्टा हो। जिन्दगीका यी तीन अलगअलग र नछुट्टिने मुकाम हुन्। एउटै जीवनमा तैले स्वर्ग, मर्त्य र पातालको अनुभूति गर्ने छस्।’

मैले भुत्लो भाङ बुझेको भए मारिदिनु त्यतिबेला। म सानै छँदा बाबुले भोर्लाको पातमा बेरिएको बिँडीलाई अगेनामा लगेर अगुल्ठोमा झोसेर सल्काउन लगाउनुहुन्थ्यो। जति झोसे पनि बिँडी निभिहाल्थ्यो। एकदिन मलाई साँल्दाइले भनेका थिए, ‘कान्छा, अगुल्ठोमा झोसेर एक सर्का तान अनि सल्किहाल्छ नि।’  

हो मैले यसरी बिंडी सल्काउने तरकिब सिकेको थिएँ। घरैमा बन्ने भएकाले घर चुहाको स्वाद पनि पाएकै थिएँ।

एसएलसी पास गरेपछि म काठमाडौं पुर्‍याइए। कलेजमा भर्ना भएँ। म अब बियर र ह्विस्कीमा बानी पर्न थालेको थिएँ। चुरोटमा हालेर गाँजा तान्न थालेको थिएँ।

अनि म कलेजको कक्षा कम र ज्यादा टन्डेली मार्न थालें। फलस्वरूप पढाइमा कमजोर देखिन थालें। मलाई लाग्थ्यो, कलेजका प्राध्यापक मसँग पक्षपात गर्छन्। आफू जति कलेजका प्राध्यापक जान्दैनन्। परिणाम आइएस्सी सक्दा एकदम कम नम्बर ल्याएर ठेलुवा पास भएँ। यसमा मैले सरासर कलेजकै बदमासी देखें। बीएस्सी पढ्न अर्को कलेज भर्ना भएँ। म गाँजाबाट लागू पदार्थतिर लागेको थिएँ। हरिलट्ठक भइसकेको थिएँ। परिणाम बीएस्सीमा ब्याक लाग्यो। म सारा विश्वविद्यालयलाई शत्रु देख्न थालें शिक्षानीतिमै खोट देख्न थालें।

घरका मान्छेलाई आजित बनाइसकेको थिएँ। पैसा नदिए काटौंला–मारौंलाझैं गर्दथें। घरमा आमाबाबु हाहाकारमा थिए। बिहे गरिदिए। मैले श्रीमतीका गहना सबै चोरी बेची खाएँ। श्रीमतीलाई सधैं भौतिक तथा मानसिक सास्ती दिन थालें। श्रीमती आजित भएर माइत गइन् र त्यतैबाट डिभोर्स गरेर अर्को बिहे गरिन्। मेरै पीरले आमाबाबु रोगाए र चाँडै स्वर्गवास भए। त्यसपछि मैले आफ्नो अंश मागेर बेचिखाएँ। त्यो पनि सकिएपछि दाजुभाउजूलाई पिरोल्न थालेँ। दिनभरि मन्दिर र पाटीमा त्यस्तै दुर्व्यसनीसँग बसेर सुतिरहन्थें। लाग्दथ्यो कि म शतप्रतिशत ठीक छु। तर, समाज मेरो विरुद्धमा छ। किनभने म ठान्दथेँ कि संसार पापी र पक्षपाती छ। संसारको आनन्द भनेको लागू पदार्थ सेवनबाट आउने तरङ्ग नै हो।

दाजुभाउजूहरू वाक्कदिक्क भए। कुन दिन आएर मारिदिने हो भन्ने डर भयो। बालबच्चा पनि मारिदेला भन्ने पीर पर्यो। दाजुभाउजूले देश छोड्ने निधो गरे। दुवै दाजुभाउजू सम्पत्ति सबै बेचेर विदेशतिर लागे। म झन् एक्लो भएँ। असहाय भएँ। संसार सबै वैरी भयो।

मेरो जीवन लथालिंगे पारामा चलेकै थियो तर एक दिन अनायास मलाई जबर्जस्ती गाडीमा हालेर कसैले अपहरण शैलीमा सुधार केन्द्रमा पुर्यायो। त्यो स्याहार केन्द्र शहरको अलि पर एकान्तमा थियो। रुखबिरुवाहरू बाक्ला थिए। लाग्दथ्यो, त्यहाँ कुनै घना जङ्गल छ। मृगका बच्चाहरू ओहोरदोहोर गरिरहेका थिए। स्याहार केन्द्रमा कृत्रिम खोला बनाइएको थियो। त्यसमा हिमालबाट आउने कञ्चन पानी जस्तै सफा पानी बग्थ्यो। बगैंचा उस्तै राम्रो थियो। त्यहाँभित्रका घरहरू सफा र स्निग्ध थिए। हावा सररर चलिरहेको थियो। गाडीबाट निकाल्दा मलाई लागिरहेको थियो कि म ती सबै घरहरूमा आगो लगाइदिनेछु। मलाई चौखुर्याएर ल्याउने सबका सबलाई मारिदिनेछु।

तर अचम्म भयो। परिस्थिति उल्टो भयो। पहिलो दिन व्यवस्थापकले मसँग मायाले व्यवहार गरे। मेरो डोजअनुसार लागू पदार्थ दिए। मलाई सिँत्तैमा लागू पदार्थ दिने व्यवस्थापक निकै राम्रो मान्छे लाग्न थाल्यो। मेरा सबै निजी काम अरूले नै गरिदिन्थे। म कस्तो खान्छु, त्यही खानाको व्यवस्था गरिदिन्थे।

तर स्याहार केन्द्रले क्रमिक रूपले मेरो लागू पदार्थको डोज घटाउँदै गयो। म्याद थप्दै गयो। मनोवैज्ञानिक प्रशिक्षण पनि दिन थाले। लागू पदार्थको डोज कम र खानेकुराको डोज बढी भएकाले होला म तंग्रिएँ। केही समयको अन्तरालपछि म एक दम हट्टाकट्टा भएको थिएँ।

त्यो दिन एकाएक लिलीको फोन आयो, ‘हेलो नरेश, अझै सुतिरहेका छौ? हेर त बिहानको ८ बजिसकेको छ। अबको एक घण्टामा तिमीले यो सुधारकेन्द्र छोड्नुपर्छ। म तिमीलाई पुर्याउन जान्छु। तिमी उठेर तयार भएर बस। चियाचमेना लिएर आउँछु।’

म उसको कुरालाई आदेश मानेर तयार भएर बसेको थिएँ। म परपर हेर्दै थिएँ। फेरि उही भोर्लाको लहरामा पात हावासँग कावा खाँदै हल्लिरहेको थियो। ऊ आएकी थिई। मसँग एउटा झोलामा केही लुगाफाटाबाहेक केही थिएनन्। उसले ल्याएको चियाचमेना त्यही सुधार केन्द्रको बगैंचाका कुर्सीमा बसेर उसले र मैले खायौं।

मैले लिलीलाई भनें,‘लिली, आज म यो घर–परिवेश सबैलाई छोडेर जाँदैछु। नरमाइलो लागिरहेछ। यसैमा बस्दाबस्दा यसको धेरै माया लागेर आएको छ।’

उसले बडो निस्फिक्री भएर भनी, ‘नरेश, खोई तिमीले जीवन अझै बुझेको? यो संसारमा तिमीले जेजे कमाउँछौं, त्यो त्यो क्षणिक हो। सबै छोडेरै जानुपर्छ। वर्तमानमा तिमीले गरेको उपभोग मात्र तिम्रो हो। अरू साँचिएका कुराहरू तिम्रा होइनन्। वर्तमान मात्र तिम्रो हो। भविष्य तिम्रो होइन। कत्राकत्रा महाराजाले आफूले आर्जेको श्रीसम्पत्ति परिवार तथा राज्य छोड्नुपर्छ भने तिमी र म भन्नु के हो र? यसरी बुझ यो सुधार केन्द्रको जीवन तिम्रो एउटा घटना मात्र हो।’

किनकिन उसका कुराले मलाई गम्भीर असर पर्थ्यो। म चुप लागेको देखेर उसैले भनेकी थिई, ‘नरेश, अब हिँड। म तिमीलाई तिम्रो मुकाम पुर्‍याइदिन्छु।

उसका कुराले मलाई झन् अत्याएको थियो। म झन् विछोडको विह्वलता अनुभूत गर्न थालेको थिएँ। अनि मैले उसलाई भनेंथें, ‘लिली, तिमीलाई मेरो सबै कुरा थाहा छ। मेरो मुकाम के हुन सक्छ? मेरै पीरले बाबुआमाको मृत्यु भयो। मेरै कारण दाजुभाउजू विदेशिए। मेरै कारणले श्रीमतीले छोडेर हिँडी। यो सबै विनाशको कारण म हुँ। मेरो अंशको भाग पनि बेचिखाइसकेकै हुँ। अनि मेरो मुकाम के हुन सक्छ र लिली?’

ऊ अधैर्य भइन्। स्वाभाविक तवरले भनेकी थिई, ‘भौतिक मुकाम कृत्रिम हो नरेश। आवश्यक त होला तर त्यो नै जीवनको उत्कर्ष भने होइन। तिम्रा दाजुसँग मेरो नियमित सम्पर्क हुन्छ। तिमीले त्यतिबेला दाजुलाई घृणा गथ्र्यौ। भेटेको भए माथ्र्यौ। तर, तिम्रा दाजुले तिमीलाई नभन्ने सर्तमा र जुनसुकै मूल्यमा तिमीलाई निको पार्न स्याहार केन्द्रमा लाग्ने सबै रकम दिनुभयो। त्यो ज्यादै ठूलो कुरा हो। तिमी आज यो रूपमा आएको देख्दा सबैभन्दा धेरै खुसी हुने तिम्रा दाजु नै हुन्। तिम्रा दाजु विदेशमा छन्। तर सम्झ, ती तिम्रा हितका लागि तिम्रै अघिपछि छन्। यो अनुभूति गर्नसक्यौ भने तिम्रो मुकाम सुरु हुन जान्छ। मुकाम त बनाउने हो। अनुभूत गर्ने हो।  

लिलीका कुराले म छक्क परें। त्यो दाजु जो मलाई पाता फर्काएर कुट्थ्यो, जो मेरो प्रमुख शत्रु थियो, त्यसले मेरा लागि यत्रो उपकार गरेको सुन्दा छक्क परेकको थिएँ। मेरो स्तब्धता देखेर लिलीले भनी, ‘यो संसार सुन्दर छ तर तिमीले सुन्दर तरीकाले सोच्न सक्नुपर्छ। खराब र असल भनेको तिम्रो सोचाइ हो। एकछिन तिमी आफ्नी पूर्व–पत्नीलाई सम्झ। तिमीले उसलाई दिएका टर्चरहरू सम्झ। विचरी ऊ तिमीसँग कसरी बस्न सक्दी हो? उसलाई यो बेला तिमी माफ गर। माफभन्दा पनि आदर गर। आदरभन्दा पनि सम्मान गर। सस्तो माफ त गर्न सकिहाल्छ मान्छेले। तर आदरसहितको माफ गर्नु भनेको पापमोचन हो। किनभने उसको आँट र उसले लिएको बाटोबाहेक ऊसँग अर्को विकल्प थिएन। ऊ महान् आइमाई हो। ल भैगो, यी कुरा गरेर कहिल्यै सकिन्न। अब हिँड म तिमीलाई तिम्रो मुकामसम्म छोड्न जान्छु।

मैले काखीमा एउटा झोला च्यापेको थिएँ। लिली अघिअघि थिई। उसले एउटा ट्याक्सी बोलाई। बाटोमा एउटा पार्क थियो। पार्कको अगाडि लगेर ट्याक्सी उभ्याई र उत्री। म पनि उत्रेँ। मेरा मनमा लागिरहेथ्यो कि किन यो पार्कअगाडि रोकेकी होली ट्याक्सी।

मैले उसलाई सोधें, ‘लिली, किन पार्कतिर जान थालेको? मेरो मुकाम यही हो त?’

ऊ हाँसेकी थिई। हाँस्दा उसको श्यामश्वेत गालामा खोपिल्टा देखिएको थियो। त्यो खोपिल्टाले उसको मुहारमा झन् सुन्दरता थपेको महसुस गरेको थिएँ मैले। यसबाट म रोमाञ्चित हुनुपर्थ्यो तर म चिन्तित बनेँ। किनभने मलाई, मेरो दुःखका दिनहरूमा सञ्चबिसञ्च सोध्ने ऊ नै थिई। र अबको केहीबेरपछि नै म उसलाई पनि छोड्दै थिएँ। यो अनुभूतिले मेरा आँखा रसाएका थिए। मलाई नजानिँदो पीडाबोध भएको थियो। उसले यो कुराको हेक्का नै राखिन्। अघिअघि बढ्दै गई र भनी, ‘कुन मान्छेको मुकाम कहाँ हो? कसलाई थाहा छ र? अहिले हामी यो पार्कभित्र गएर एकछिन आराम गर्छौं र डुल्छौं। हेर्छौं। सुस्ताएपछि आफ्नो मुकामतिर लाग्छौं।’

मैले आज्ञाकारी बालकले झैं उसको कुरामा मुन्टो हल्लाएर सहमति जनाएको थिएँ। पार्क ठूलो थियो। पार्कको मुखैमा सानो फुटफाथे चिया दोकान थियो। पार्कको भित्री भागको छेवैछेउ मान्छे हिँड्ने बाटो थियो। मर्निङ वाक गर्ने मान्छेहरू यही बाटो हिँडिरहेका थिए। झाङहरू, रुखबिरुवा, भलिबल खेल्ने ठाउँ, योगाहल लगायत बच्चाबच्चीलाई पिङ पनि थिए। गेटबाट भित्र पस्नेबित्तिकै एउटा ठूला बाक्ला पातहरू भएको झ्याङ थियो। झ्याङका फेदमा छलिएर एक जोडी स्कुले केटाकेटी जिप्टिएका थिए। यसै गरी अन्य झाडी वा पार्कको एकान्त स्थानमा  जोडी जीवनको रसस्वादन गरिरहेका थिए। ती त्यस्तै १५/१६ का हुँदा हुन्। कोही त वयले उकालो लागेका पनि थिए। तर, मैले देखेको नदेख्यै गरेँ। केही भनूँ भने लिलीले के भन्ने हो भन्ने लागेको थियो। तर लिलीले नै भनी,‘नरेश, त्यो झाडीमा जिप्टिएर बसेका जोडी केटाकेटीहरू देख्यौ?’

मैले उत्तर दिएँ, ‘देखें नि। हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही होला।’ 

मेरो उत्तर सुनेर ऊ हाँसी र भनी, ‘नरेश, हो यही बुझाइको बुँदामा तिमीलेझैं मान्छेले मार खान्छन्। ती विचरा स्कुले नानीबाबुहरू यो बेला मदहोस छन्। तिनले एकले अर्कालाई गरेको स्पर्शले झङ्कारित भइरहेका छन्। उनीहरूलाई न भोकको चिन्ता छ न भविष्यको। न जीवनको। अलमस्त एक अर्कामा न्यौछावर भएका छन्। जीवनको यो कालखण्डमा उनीहरूले पाएको त्यो मीठो झंकारको स्वर्गीय आनन्द अवर्णनीय छ। उनीहरूको त्यो अल्लारे माया सफल होला वा नहोला, पढाइ सकिएला वा नसकिएला, त्यो कृत्य समाजले मन पराउला नपराउला, त्यो अर्कै विषय हो। तर उनीहरूले अहिले प्राप्त गरिरहेका झंकारहरू जीवनभरि बिर्सन सक्दैनन्। यो कुरालाई तिमीले नकारात्मक सोचका साथ भन्यौ भने तिनीहरू गतिछाडा हुन्। तर सकारात्मक सोचका साथ भन्यौ भने तिनले प्राप्त गर्ने अनुभूति ईश्वरीय आनन्द हो।

मैले ऊसँग बहस गर्नु थिएन। हामी सुस्तरी हिँडिरहेका थियौँ। लगभग ८० वर्षका देखिने वृद्धवृद्धा एक अर्काको हात समातेर हिँडिरहेका थिए। दुवै कमजोर थिए। थरथर कामिरहेका थिए। दुवैले एक हातले लौरो टेकेका थिए। यो दृश्य देख्नेबित्तिकै मलाई लिलीले भनी, ‘नरेश, हेर यी वृद्ध आमाबुबाहरूलाई र गम। जीवन बाँच्ने योभन्दा मीठो क्षण कहिले पाइन्छ र? कतिन्जेल बाँचिन्छ थाहा हुने कुरा भए। तर जतिञ्जेल छन् हात समाएर कसिलो जिन्दगी बाँचिरहेका छन्। लोग्ने र स्वास्नीका होचाअर्घेलाहरू उधिनेर आखिर कहाँ पुग्छ र मान्छे? हेर त यी बुबाआमाको प्रेम। कस्तो प्राञ्जल छ। एक अर्काका भरमा हिँडेका छन्। भौतिक रूपमा कमजोर होलान् तर मानसिक रूपमा चट्टान छन्।’

पार्कको भित्री पिच बाटोमा आफ्नो प्यारालाइसिस भएको वृद्ध बाबुलाई ह्विलचेयरमा राखेर गुडाइरहेको वयस्क मान्छे देखिएको थियो। लिलीले भनी, ‘हेर त नरेश, छोराले आफू वृद्ध हुँदा ह्वील चेयरमा राखेर पार्कमा घुमाएको क्षण सम्झेर बाबुले गौरवबोध गर्दा हुन्। क्या बात छोरा भन्दा हुन्।

म आफ्ना बाबुआमालाई सम्झिरहेको थिएँ। आफैंलाई धिक्कारिरहेको थिएँ।

त्यसैबेला लिलीले भनेकी थिई, ‘मलाई थाहा छ नरेश, तिमी यतिबेला ग्लानि महसुस गरिरहेका छौ। पश्चाताप गरिरहेका छौ। पश्चाताप गर्नु अन्तरआत्माको शुद्धीकरण हो।’

पार्कको एउटा बेञ्चमा ऊ र म बसेका थियौं। अलि पर आफ्नो बच्चालाई स्तन उदाङ्गो पारेर दूध चुसाइरहेकी करिब २५ वर्षकी देखिने आमाको अनुहारमा मैले हेरेँ। लिलीले पनि हेरिछे। अनि उसले भनी, ‘त्यहाँ हेर त। त्यो महिलाले पूरै स्तन खोलेकी छन्। तर, त्यहाँ अश्लीलता छैन। त्यहाँ मातृत्व छ। उसको बच्चालाई दुध खुवाउनुपर्‍यो। ऊ तुरुन्त तयार भई। उसलाई आफ्नो बच्चाको ममत्वबाहेक अरू कुनै कुराको चिन्ता छैन। तर, यहाँ मैले त्यही स्तन खोलें भने मलाई बहुलाही भन्छन्। यी दुईको भिन्नता भनेको अवस्था र परिवेश हो। उसले खोलेको स्तन आमाको हो। आमाको मायाको हो। मैले खोलें भने त्यो तरुनीको स्तन बन्न पुग्छ। यौनको आह्वान हुन्छ। कुरा बुझ्यौ?’

लिलीका कुराले ममा निकै ठूलो प्रभाव पार्यो। बेन्चबाट उठ्न खोजी ऊ। उठी। मेरो हात समाई। म छक्क परिरहेको थिएँ। उसले भनी, ‘तिमी मेरा तरुनी स्तनलाई एउटी आमाको स्तनमा रूपान्तरण गर्न सक्छौं?’

मैले मेरा हातले लिलीको हातलाई दह्रो गरेर समाएँ। अब मेरो मुकाम प्रस्ट र सोझो थियो। सायद अब भोर्लाको पात खुसी भएझैं लाग्यो मलाई र अब म सुन्दर मुकामको संघारभित्र पसिसकेको थिएँ। गेटैमा भोर्लाको पात रमाएर हल्लिरहेको थियो।  

प्रकाशित: १४ पुस २०७८ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App