४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

आदिवासी ज्ञानको अभिलेखीकरण प्रयास

पुस्तक

हक,अधिकार  स्थापित गर्न आदिवासी मुद्दा र अभियान विश्वभरि चलिरहेको छ। विश्वभरि यस्तो अभियान चर्चा र चासोका साथ त्यतिकै चलेको होइन। अन्तर्राष्ट्रिय श्रम संगठनको १६९ महासन्धिमा आदिवासीको अधिकारसम्बन्धी घोषणा गरिएपछि आदिवासीको मुद्दाले झनै चर्चा पाउन थाल्यो भने अधिकारको खोजी मुद्दा सशक्त बन्यो।

जसले गर्दा यतिखेर विश्वका विभिन्न ७० बढी मुलुकमा बसोबास गरिहेका ३७ करोड बढी आदिवासी छुट्टै पहिचान बनाउन सफल भएका छन्। नेपालका लागि आदिवासी भन्ने शब्द त्यति नौलो होइन। किनकि नेपाली समाजको उत्पत्तिदेखि आजसम्म आदिवासी जोडिँदै आएका छन्। आदिवासी ज्ञान,सीप र अनुभवको अन्य जातजातिले समेत लाभ लिन सकेका छन्। गाउँघरमा कायमै रहेको धामीझाँक्री प्रथादेखि पछिल्लो समयमा सबैले आवश्यकता महसुस गरेको जडिबुटीको उपयोगसम्म आदिवासीको ज्ञान र सीप उपयोग भइरहेको पाइन्छ।

 सिंगो मानव जातिका लागि निकै लाभ हुन सक्ने ज्ञान र सीप भए पनि अझै कुन आदिवासीसँग के क्षमता छन् वा कुन आदिवासीले के जानेको छ भन्नेबारे धेरैसँग सही सूचना छैन। यही सूचनाको भोक मेटाउने गरी पुराना पत्रकार कुमार यात्रुले परम्परागत आदिवासी ज्ञान पुस्तक प्रकाशन गरेका छन्।

पुस्तकमा आदिवासी समुदायसँग रहेको क्षमता, ज्ञान र सीपका कारण जैविक विविधता संरक्षणदेखि स्वास्थ्य उपचारमा आदिवासी प्रचलनको समेत खोजी गरिएको छ।

आदिवासीका ज्ञान नेपालका थुप्रै बस्तीमा भेट्न/देख्न सकिने भए पनि त्यस्ता ज्ञानको संकलन वा अभिलेखीकण हुन नसक्दा आवश्यक परेका बेला जोकोहीलाई त्यस्ता ज्ञान र सीप उपयोगमा ल्याउन कठिन हुने गरेको छ।

पुस्तकले एकातिर नेपाली समाजमा रहेका आदिवासी ज्ञानको अभिलेखीकरण गरेको छ। अर्कोतर्फ त्यस्ता ज्ञानबाट अन्य समुदायले लाभ लिन सक्दा अन्ततः समग्र मानव जातिकै लागि हित हुने देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विकासशील मुलुकका ८० प्रतिशत जनसंख्या प्राथमिक औषधिका लागि परम्परागत ज्ञानमा निर्भर छन्। हाम्रो जस्तो समाजमा आदिवासी ज्ञानलाई पूरै नजर अन्दाज गर्ने परम्परा जस्तै छ। यद्यपि समाजमा बसोबास गर्ने हरेक व्यक्ति कुनै न कुनै रूपमा यस्ता ज्ञान र सीप उपयोग गर्न बाध्य हुन्छ।

शेर्पाहरूको ‘नावा’ परम्परा खेतीपाती, वन तथा अस्तित्वमा रहेका जीवजन्तु जोगाउने महत्त्वपूर्ण ज्ञान हो। लेखक यात्रुका अनुसार  ‘नावा’ प्रथा दोलखाको रोलवालिङ तथा सोलुखम्बको खुम्ब लगायतका हिमाली क्षेत्रमा प्रचलित छ। 

त्यस्तै डोल्पामा बसोबास गर्ने डोल्पो आदिवासीको ‘घापु’ र  ‘ढेवु’ पुरानो परम्परा अनुसार भूमि,भू–क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने गरिन्छ। प्रकृतिका पूजक मानिने मगर आदिवासीको सामूहिक जीवन पद्धति र सामूहिक भावना पनि सबैका लागि अनुकरणीय हुन सक्छ। परम्परागत खानी खन्ने पेसा भएका छन्त्यालहरूमा रहेको वनजन्य फलफूल तथा खाद्य पदार्थ पहिचान गर्ने विशेष ज्ञान,चिउरीमा निर्भर चेपाङ जातिको समग्र अवस्था पनि लेखकले खोतल्ने प्रयत्न गरेका छन्।

पुस्तकमा जलवायु परिवर्तन न्यूनीकरण गर्न नेवाहरूको गुथी, चेपाङको जीवनशैली,कुमालको माटाका भाँडा बनाउने सीप,तामाङहरूको ‘चोहा’ प्रणालीबारे  रोचक ढंगले प्रस्तुत गरिएको छ। आदिवासीको ज्ञानको संकलनबाट जसरी संसार अर्गानिक खान्कीमा रूपान्तरण हुन खोज्दैछ, त्यसरी नै मानवीय व्यवहार बदल्न सहयोग पुग्ने देखिन्छ।

यात्रुले पुस्तकमा भाषा र शुद्धाशुद्धिलाई त्यति ध्यान नदिए पनि विषयवस्तुको गहनताले त्यस्ता गल्ती सामान्य लाग्न सक्छ। इन्डिजिनियस मिडिया फाउन्डेसन प्रकाशक रहेको पुस्तकको मूल्य ३९८ रूपैयाँ रहेको छ।

प्रकाशित: ३ पुस २०७८ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App