वरिष्ठ पत्रकारलेखक एवं राजनीतिक विश्लेषक घनेन्द्र पुरुष ढकालले आधुनिक नेपालको राजनीतिक इतिहासमा लौहपुरुष भनेर जनस्तरबाटै सम्मानित राजनेता गणेशमान सिंहको जीवनवृत्तलाई केलाएर ‘लौहपुरुष विश्लेषणात्मक जीवनगाथा’ पुस्तक लेखेका छन्।
पुस्तकको प्राक्कथनमा लेखकले एउटा रोचक र महत्त्वपूर्ण अवधारणालाई अघि सारेका छन्। २००७ सालको जनक्रान्तिको समाप्ती भइसकेपछि राजाद्वारा प्रजातन्त्रको घोषणा हुनुभन्दा केही दिनअघि जेलबाट छुटेका गणेशमान सिंहलाई लाखाैँ जनताले ‘हाम्रो नेता जिन्दावाद’ भन्दै गगनभेदी नारा लाएका थिए। यसरी नेपाली जनताद्वारा पहिलोपटक स्वःस्फूर्त र सार्वजनिक रूपमा ‘नेता’को सम्मान दिइएका राजनेता गणेशमान सिंहलाई ‘आदिनेता’ मान्न सकिने तर्क लेखक ढकालको छ।
गणेशमानको राजनीतिक जीवनको पूवार्द्ध १९९७ सालयताका साहसिक र चुनौतीपूर्ण घटनाप्रति आमजनतामा रहेको पूर्ण जानकारी र तिनका प्रतिको स्वःस्फूर्त जनसम्मानको भावना त्यस नारामा उद्बोधन भएको पाइन्छ। त्यसकारण गणेशमानलाई ‘आदिनेता’को सम्मान दिइनु उपयुक्त हुने विचार लेखकले व्यक्त गरेका छन्।
पुस्तकमा अर्को प्रसंग गणेशमानको व्यक्तित्वलाई चीरस्मरणीय बनाउन राष्ट्रिय स्तरमा गहकिलो पाइला चालिएको छैन भन्ने छ। २०४६ सालयताकै समग्र राष्ट्रिय राजनीतिक नेतृत्व जनकेन्द्रित नभएर मूलतः सत्ताकेन्द्रित रहँदै आएको सम्झँदा देशको सांस्कृतिक एवं सामाजिक सभ्यताका उन्नायक र तिनका योगदानप्रति राज्य उदासीन मात्र रहेको देखिन्छ।
गणेशमानले निर्माण गरेका राजनीतिक एवं सांस्कृतिक चैतन्य र जागरणको महागाथालाई सम्मान गर्नबाट सरकार निरपेक्ष रहनु मुलुकको गौरवबोधकै लागि निरपेक्ष रहनुसरह हो।
उनको जीवनगाथालाई दस्तावेजीकरण गर्न एउटा बृहत् परियोजना बनाउन राज्यको ध्यान केन्द्रित हुनसकेमा आगामी पुस्ताले गणेशमानद्वारा प्रवाहित राजनीतिक चेतनाको उज्यालोलाई सदा वरण गर्न पाइरहनेछन्। लेखकले गणेशमानलाई अभागी राजनेता भनेका छन्।
लोकतान्त्रिक संघर्षका क्रममा राजनीतिक यातनासँगै अनेकौं चुनौतीको सामना गर्नुलाई राजनेताहरूले आफ्नो सामथ्र्यका आधार मानेका छन्। आफूले पाएका दुःखका बिलौना बिपी/गणेशमान लगायत नेताले गरेको पाइँदैन।
पहिलो अध्यायमा पौराणिक ग्रन्थहरूका आधारमा ‘नेता’को वर्गीकरणको प्रयत्न गरिएको छ। गणेशमान कुन श्रेणीका नेता थिए भन्ने कुरालाई ‘मेरो कथाका पानाहरू’ मा वर्णित घटनाहरू, उनीप्रति बिपीद्वारा व्यक्त उद्गारसहित उनले राष्ट्रिय इतिहासको निर्माणमा पुर्याएका वैचारिक योगदान लगायत अनेक भूमिकाका आधारमा मूल्यांकन गरिएको छ। राजनेता, जननेता र प्रणेताका रूपमा गणेशमानको भूमिका कस्तो रहँदै आयो भन्ने ऐतिहासिक सन्दर्भलाई समेटिएको छ।
यस खण्डमा सबैभन्दा मार्मिक कुरा नेपालबाट सीमावर्ती प्रवासमा पुगेका कार्यकर्ताले लाएका जुत्तामा अड्केको माटोमा देशको सुगन्ध अनुभूत गर्दै त्यसको तिलक निधारमा लाउन चाहने गणेशमानको अतुलनीय राष्ट्रप्रेमको भावनासँग मिसिएको यथार्थ तर मिथकीय प्रसंगलाई पुन:स्मरण गरिएको छ।
कविवर व्यथितद्वारा त्यस कारुणिक घटनालाई संस्मरण गरिएको मन्तव्यका आधारमा गणेशमानको राष्ट्रप्रेमलाई मनन गर्ने हो भने जो कोही प्रतिभाशाली कविद्वारा अभिव्यक्त गरिएका राष्ट्रप्रेम वा देशभक्तिका काव्य/कविता र तिनका व्याख्या-विवरणबाट प्राप्त हुने अनुभूतिभन्दा गणेशमानमा रहेको राष्ट्रप्रेम धेरै माथि रहेको अनुभूत गर्न सकिन्छ।
दोस्रो अध्याय ‘हुने बिरुवाको ‘खस्रो’ पात’ शीर्षकमा गणेशमानको बाल्यावस्थादेखि युवावस्थासम्मका वैयक्तिक, पारिवारिक र सामाजिक दृष्टिले नकारात्मक ठहर्याउन सकिने घटनाको मूल्यांकन गरिएको छ। तेस्रो अध्यायमा गणेशमानको राजनीतिक जीवनको आरम्भ अर्थात् नेपाल प्रजा परिषद्सँगको संलग्नतादेखि कारागारको २४ फुटे पर्खाल नाघेर भाग्दासम्मका घटनाक्रमको मूल्यांकन गरिएको छ।
झन्डै चार वर्षको त्यस कालखण्डलाई गणेशमानको तपस्याकाल वा साधनाकालका रूपमा विश्लेषण गरिएको छ। मित्रका अनेक लाञ्छना र व्यंग्यलाई संयमतापूर्वक सहनु, घरबाट ल्याइने व्यञ्जनलाई निषेध गर्नु, जेलमा उपलब्ध हुने सामान्य सुविधा पनि त्यागेर अझ कष्टकर ढंगमा रहन थाल्नु आदि सबै गणेशमानका तपस्या थिए। सहिद बलबहादुर पाण्डेप्रतिको सेवाभाव परोपकार कर्मको साधना थियो।
कठोर जेलजीवनबाट उम्कन गरेको चरणबद्ध प्रयास गणेशमानको बलियो अठोटको परिणाम थियो। यस अध्यायमा साधना र तपस्याका कारण गणेशमानले ‘चिल्लो पात’ हुनेतर्फको यात्रारम्भ गरेको वर्णनात्मक विश्लेषण छ।
गणेशमानसँगै जेलजीवन भोगिरहेका कविवर सिद्धिचरण श्रेष्ठले यसै सत्यलाई हृदयदेखि नै अनुभूत गर्दै लेखेका प्रसंग पनि लेखकले उद्धृत् गरेका छन्, ‘मर्न होइन, जिउन रोज्छु, अमरता त्यो ओढ्न खोज्छु...।’
गणेशमानभित्र दन्किरहेको क्रान्तिको ज्वालाबाट प्रवाहित चैतन्यतापलाई प्रत्यक्ष अनुभूत गरेरै सिद्धिचरणले उनकै बारेमा यस कविताको रचना गरी कारागारबाट उनी भाग्नुभन्दा केही दिनपूर्व मध्यरातमा नजिकै आएर सुनाएका थिए।
चौथो अध्यायमा गणेशमानले परिस्थितिवश नभएर हृदयदेखि नै स्विकार गरेका चार नेतासँगका भेटघाट र उनीहरूबाट कसरी गणेशमान प्रभावित भएका थिए भन्ने उल्लेख छ।
कलकत्तामा छँदा गंगालालको चर्चा र प्रशंसा सुनेर त्यसको इख पाल्दै काठमाडौं आएपछि राणाविरोधी राजनीतिमा लागेर उनलाई उछिन्ने अठोट गरेका गणेशमानले मित्र हरिकृष्णको मद्दतबाट गंगालालसँग भेट गरेका थिए।
कुराकानी हुँदा राणाहरूको ज्यादतीबारे गंगालालले व्यक्त गरेका तर्कहरू अकाट्य रहेको महसुस गरेपछि गंगालाल–गणेशमानको राजनीतिक सहयात्रा आरम्भ भएको ऐतिहासिक सन्दर्भलाई उल्लेख गरिएको छ।
प्रजा परिषद् खोज्दै हिँडेका दुवै मित्रले धर्मभक्तसँग सदस्यता लिएपछि एक अर्काको विश्वास जित्दै, घनिष्ठता बढाउँदै गरेका प्रसंग उल्लेख छन्।आफूलाई मृत्युदण्ड दिइन लागेका बेला भएको अन्तिम भेटका क्षणमा गंगालालले ‘मेरो रगतको मूल्यलाई नबिर्स’ भन्दै गणेशमानलाई आफ्नो उद्देश्यबाट कहिल्यै विचलित नहुन सम्झाएको मार्मिक प्रसंगलाई उल्लेख पनि पुस्तकमा उल्लेख छ।
शुक्रराज शास्त्रीसँग भएको पहिलो भेटमै उनको तार्किक शक्तिबाट प्रभावित गणेशमान पछि गएर जुद्ध शमशेरले मृत्युदण्डको सजाय सुनाउने क्रममा उनले देखाएका संयम र निडरताबाट झन् नतमस्तक हुन पुगेको प्रसंग पुस्तकमा उल्लेख छ। यस्तै, धर्मभक्तसँग भएका गणेशमानका भेटघाटका प्रसंग उद्धृत गर्दै लेखकले कसरी गणेशमान सिंह धर्मभक्तका भक्त बन्न पुगे भन्ने कुराको निष्कर्ष सहित विश्लेषण गरेका छन्।
यस्तै, बिपी कोइरालासँग भएको प्रथम ऐतिहासिक भेटघाटको समयदेखि नै जीवनकालभरि अटूट सम्बन्ध रहने आधारका रूपमा बिपीमा रहेका गुण र क्षमताको चर्चा गर्दै गणेशमानले उनलाई आफ्नो नेता मान्न थालेका कारणबारे यस अध्यायमा चर्चा गरिएको छ। यस खण्डमा गणेशमानको प्रजातन्त्रप्रति समर्पित निडर, निष्कपट राजनीतिक व्यक्तित्वको प्रारम्भिक कालखण्डको सारपूर्ण विश्लेषण गरिएको छ।
पाँचौँ खण्डमा जनआन्दोलन २०४६ मा गणेशमानले खेलेका भूमिकाको तथ्यपरक विश्लेषण गरिएको छ। यसै खण्डमा २०१७ सालको प्रतिगमनकारी घटनापछि विकसित हुँदै आएका प्रजातान्त्रिक संघर्षका महत्त्वपूर्ण घटनाक्रमलाई स्मरण गर्दै २०३९ सालमा बिपीको देहावसानपछि प्रजातन्त्र पुन :स्थापनाका लागि निर्णायक जनआन्दोलनको तयारीका क्रममा रहेको गणेशमानको भूमिकालाई लिपिबद्ध गरिएको छ।
गणेशमानका विचार र सुझावलाई पनि आधार मानी नेपाली कांग्रेसले २०४८ मा हुने आमनिर्वाचनका लागि घोषणापत्र तयार गर्नुपर्ने थियो तर उनका सुझावलाई बेवास्ता गरिएको तत्कालीन सन्दर्भलाई छैटौं अध्यायमा पुनस्र्मरण गरिएको छ।
२०५१ को मध्यावधि निर्वाचनपछि गठित नेकपा एमालेको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले गणेशमानबाट प्राप्त सुझाव अनुसार नै वृद्धभत्ता दिने घोषणा गरेका थिए।
यस्ता सुझावलाई नेपाली कांग्रेसको नेतृत्वको सरकारले पहिलेदेखि नै पूरा गर्दै जान सक्थ्यो,तर त्यसो हुन नसकेको विडम्बनापूर्ण स्थितिको विश्लेषणात्मक चित्रण यस अध्यायमा छ।
२०४८ सालको निर्वाचित सरकारद्वारा पुनस्र्थापित प्रजातन्त्रलाई सुदृढ बनाउन सहजरूपमा गर्न सकिने कार्यहरू पनि नगरिरहेको स्थितिमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने अठोटका साथ गणेशमानले देशका कैयौं जिल्लामा पुगेर लाखौं जनतासामु सम्बोधन गरेका थिए।
सरकारलाई दिइएका सुझाव एवं त्यसबेला प्रकाशित अनेक पटकका वक्तव्य यस अध्यायमा समावेश गरिएको छ। आफ्नो जीवनको उत्तरार्द्धमा गणेशमानले प्रारम्भ गरेका जनजागरण अभियानलाई मुलुक र मुलुकवासीको हितका लागि निरन्तरता दिइनुपर्ने सुझाव लेखकको छ।
‘वीरभोग्या वसुन्धरा’ शीर्षकको अर्को (आठौँ) अध्यायमा लेखकले वीरत्वको अर्थ र मर्म केलाउँदै विश्वप्रसिद्ध केही राजनेताको उदाहरणसहित बिपी र गणेशमानलाई पनि ‘वीर’ कहल्याइन योग्य नेताको रूपमा मूल्यांकन गरेका छन्। अन्तिम खण्डमा गणेशमानले प्रधानमन्त्री पदको परित्याग गरेका सन्दर्भमा लेखकसँग भएको संवादको विस्तृत विवरण प्रस्तुत छ।
उनलाई बाहुनक्षत्री विरोधी भन्नेहरूप्रति विगतमा उनले नै देखाउँदै आएका बाहुनप्रतिका विश्वास र सम्मानका सन्दर्भलाई समेट्दै लेखकले गणेशमानलाई स्वभाव, गुण र विचारबाटै जातीय संकीर्णताभन्दा माथि रहेका नेता भएको विश्लेषण गरेका छन्।
यस ग्रन्थमा गणेशमानका बाल्यकालदेखिका वैयक्तिक, सामाजिक, राजनीतिक लगायतका घटनाक्रम समाविष्ट छन्। गणेशमानको व्यक्तित्वका अनेक आयामको सविस्तारसँगै नेपालको लोकतान्त्रिक इतिहासका महत्त्वपूर्ण कालखण्ड प्रस्तुत गरिएकाले यो ग्रन्थ पठनीय छ।
प्रकाशित: ३ पुस २०७८ ०३:३० शनिबार