१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

पोल

लघुकथा

गंगा खड्का

‘हेलो, अनुपका  बाबा! हेर्नुस् न भोलि जग्गा पास गर्न भनेर झिकेको पैसा राति नै चोरी भएछ। घरमा भएका सबै गरगहना पनि लगेछ।’ कतारमा भएको श्रीमानलाई फोन गर्दै कमला क्वाँक्वाँ रोई।

‘नरोऊ सानू, हुने कुरा भइसक्यो। अब रोएर केही हुँदैन। धन्न तिमी र छोरालाई केही गरेनछन्। सम्पत्ति भन्ने कुरा त फेरिफेरि कमाइन्छ नि। तिमीहरू सुरक्षित छौ। मलाई त्यही लाख भयो।’ कतारबाट सुमनले भन्यो।

सुमनको घर चोरी भएको कुरा जताततै फैलियो। पुलिस आयो, घटनास्थलको निरीक्षण गरयो। कमलासँग बयान लियो। गाउँलेहरूले नि उनीहरूका घर चोरी भएकोमा खेद प्रकट गरे।

धेरै अनुसन्धानपछि पनि चोर पत्ता लागेन। बिदा मिलाएर कतारबाट सुमन आयो। ऊ आएको एक हप्ता नहुँदै कमला हराई। उसले सबैतिर खोज्यो। केही सीप नलागेपछि पुलिसलाई खबर गर्‍यो। तर पनि पत्ता लागिरहेको थिएन।

ऊ निकै चिन्तित भयो। उसले छोरालाई अँगालो हाल्दै भन्यो, ‘मलाई माफ गर छोरा, मैले तिम्री हराएकी ममीलाई खोज्न सकिनँ।’

‘बरु माफी त मैले माग्नुपर्छ बाबा हजुरसँग। मैले डरै डरमा हजुरसँग धेरै कुरा लुकाएँ। यो घरबाट न जग्गा किन्ने पैसा हराएको हो न ममी नै। यो सब रवि अंकल र ममीको खेल हो। तैँले मुख खोलिस् भने तेरो बाउलाई मारिदिन्छु भनेकाले मैले कसैलाई नभनेको। ममीले भन्नुभएको रवि अंकल त ममीको पहिलादेखिकै बोइ फ्रेन्ड रे। म त रवि अंकलको छोरा रे।’

छोराले यति कुरा बकिरहँदा सुमन भुइँमा बेहोस अवस्थामा ढलिसकेको थियो।  

प्रकाशित: १ पुस २०७८ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App