२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

नौटंकी नि कति जान्ने भित्र एउटा बाहिर अर्कै

गजल

कमला घिमिरे

सबै ठाउँमा ईर्ष्या–डाह भावना नै फुटे जस्तो,  

आफूआफूमा हानाथाप भातृत्व नै टुटे जस्तो।

नौटंकी नि कति जान्ने भित्र एउटा बाहिर अर्कै,

बुहारीलाई तर्साएर छोरीलाई कुटे जस्तो।

आफ्नो पद र प्रतिष्ठाको गुणगान गाउने आफै,

अरू पुगे सोच्न थाल्छन् सर्वस्व नै लुटे जस्तो।

अरूकोमा जुम्रा देख्ने भैंसी देख्नु छैन आफ्नै,

गालीगल्लौजको पराकाष्ठा तेलमा मकै भुटे जस्तो,

स्वार्थ पूरा नभै दिँदा शत्रु बन्छ मित्र आफ्नै।

खहरेको भेल तर्दा च्यापेको हात छुटे जस्तो,

पछारेर अरूलाई आफू अघि बढ्न पाए,

दुनियाँलाई देखाइदिन्छन् मेलमिलापमा जुटे जस्तो।

प्रकाशित: १ पुस २०७८ ०४:५८ बिहीबार

अक्षर