१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मृत्युको भय

किशन पौडेल

डाक्टरले उसको ब्लड रिपोर्ट हेरेपछि  उसको अनुहारमा गहिरोसँग नियाल्दै भन्यो, ‘तपाईँलाई ब्लड क्यान्सर भएको रहेछ। यहाँ उपचार सम्भव छैन।  उपचारको लागि जतिसक्दो छिटो भारतको कुनै राम्रो अस्पताल जानुहोला।’

डाक्टरको यो आकस्मिक सुझाव र ब्लड रिपोर्ट देखेर ऊ  छाँगाबाट खसेजस्तै  भयो। अकस्मात् ओठ, मुख र तालु सुकेर आयो। हातखुट्टा लत्रक्क भएर सुस्तरी गल्दै गयो। उसका लागि यो अकल्पनीय थियो।

दुईचार दिनदेखि शरीरमा अलि असहज महसुस भएपछि नजिकैको प्राइभेट अस्पतालमा  होल बडी  चेकअप गरिहालूँ न त भन्ने उद्देश्यले  पुगेको थियो। उसलाई  यस्तो अकल्पनीय रिपोर्ट आउला भन्ने रतिभर पनि शंका थिएन।

ऊ डाक्टरसँग बिदा हुँदै आफ्नो रिपोर्ट बोकेर गहिरो सोचमा डुब्दै सडकमा निस्कियो। बिहान जुन जोसजाँगर र उमङ्ग  लिएर घरबाट निस्केको थियो त्यो पटकै थिएन। थकित र गलित भैसकेका थिए उसका हातखुट्टाहरू।

साना छोराछोरीको अनुहार सम्झिएर भक्कानियो। घर, नानी र श्रीमतीको कलकलाउँदो मुहार सम्झेर कल्पियो। विदेश गएर महँगो उपचार खर्च गर्ने हैसियत पनि देखेन।

–मरेपछि कसले यिनीहरूको लालनपालन गर्लान्। घरगृहस्थी कसरी चलाउली। बिहे गरेको पनि भर्खरै ५/७ वर्ष भयो। कल्पिदै आत्तिंदै घरको ढोकामा पुग्यो।  बाबा आउनुभो भन्दै छोराछोरीहरू खुसीले उफ्रिँदै अँगालोमा टाँसिए।

श्रीमतीले आश्चर्य भाव मिश्रित स्वरमा सोधिन् –हैन के भयो तपाईलाई?

ऊ केही बोलेन। घोप्टो परेर कुर्सीमा थचक्क बस्यो। चारैतिर अँध्यारो  कालो बादलले घेरेको मृत्युको भय मडारिरहेको देख्यो।

शरीरभित्र कताकता एकदम पीडा भएको महसुस गर्न थाल्यो।

मोबाइल  एकोहोरो  बजिरहेको  थियो। उसले उठाउने हिम्मत पनि गर्न सकेको थिएन। दुईतीन पटक लामो रिङ बजेपछि उठायो–नमस्ते, म लाइफ केयर अस्पतालबाट। माफ गर्नुहोला, तपाईँले लिएर जानुभएको रिपोर्ट साटिएको रहेछ। कृपया त्यो फिर्ता ल्याइदिनुहोला।

प्रकाशित: २४ मंसिर २०७८ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App