प्रख्यात अमेरिकी कवि इमिली डिकिन्सनले शीर्षकविनाका करिब दुई हजार कविता लेखिन्। उनका त्यतिका कविताहरू उनी बाँच्दैमा किन छापिएनन् भन्ने अर्को कथा छ।
त्यतापट्टि नजाऊँ अहिले। त्यसमध्ये मैले थोरबहुत जे पढेँ, त्यसमा मृत्युबारे लेखेको र उनको मृत्युपछि छापिएको यो कविता असाध्यै राम्रो छ। जति राम्रो छ यो, सायद त्योभन्दा धेरै बढी म मन पराउँछु। यही कारणले होला,मैले यो कविताको चर्चा धेरैपटक गरेको छु। आज पनि गर्दै छु। नेपालीमा अनुवाद गर्दा कविताको पहिलो चार लाइन यस्तो छ-
मैले मृत्युलाई पर्खन नसक्दा–
उ स्वयम् नै विनम्र मेरो लागि रोकियो
बग्गीमा केवल हामी मात्र थियौ
र, अमरत्व।
गोविन्दप्रसाद लोहनीको अन्तिम इच्छा मृत्युको अनुभव बताउने थियो। धेरैले गरेजस्तो मृत्युको कल्पना भयंकर स्वरूपको उनले नगरेको हुन सक्छ।
तर टप्प टिपेर लग्दा उनले केही भन्न पाएनन्। कवि डिकिन्सनले आफ्नो कवितामा मृत्युलाई बैंसालु र बडो भलादमी पाएकी छन्। त्यसैले सबै कामकाज छोडेर आरामसँग सहयात्रा गरिन् अन्त्यतक। अमरत्वसँगै थियो। यहाँनिर अमरत्वको विशेष अर्थ छ।
कुनै व्यक्ति ऊ बाँचेको समाजमा मृत्युपर्यन्त बाँचिरहनेमा मात्र सीमित छैन यो। मृत्युपछिको शान्ति र ईश्वरसँगको विलयसँग आबद्ध छ। यहाँनेर आइपुगेपछि म गोविन्द लोहनीलाई सम्झन्छु। मैले विभिन्न स्वरूप देखे उनको आफ्नै आँखाले–म आफैँ बालक, युवक र ज्येष्ठ नागरिकको अवस्थामा आइपुग्दासम्मको अवधिमा।
विभिन्न समयमा देखेको स्वरूपको सही पहिचान गर्न त्यतिवेलाको परिवेशसँग जोडेर हेरेपछि मात्र राम्ररी देखिनेछ। त्यसैले उनको व्यक्तित्वलाई ठम्याउन त्यो परिवेशलाई झल्याकझुलुक भए पनि हेरेर जानुपर्ने हुन्छ।
उनको स्वरूपको कुरा गर्दा म उनको शारीरिक अवस्थाको कुरा गरिरहेको छैन। त्यो त करिब सबैको एउटै हो–जन्मदेखि मृत्युसम्मका क्रममा। कोक्रोदेखि मसानसम्मको यात्रा कति टाढा, कति नजिक हुन्छ मान्छेको,त्यसले निर्धारण गर्दछ। मेरो चासो उनी कस्तो पात्र थिए भन्ने मात्र हो।
प्रत्येक मान्छे कस्तो पात्र बन्न सक्यो भन्ने मात्र मृत्युपर्यन्तसँग जोडिएको हुन्छ। मूलतः सय वर्षका लागि दिइएको भनिने मानव जीवनमा अहिलेसम्म एकाध मान्छेले १२२ वर्ष पनि काटेका छन्। तर, जीवनमा ऊ कति वर्ष बाँच्यो भन्नेसँग खास सम्बन्ध छैन। हेर्ने हो ऊ कस्तो पात्र बन्यो भन्ने।
पाँच वर्षको उमेरमा संगीत सिर्जना गर्ने मोजार्ट महान् पात्र बन्न सके। र, ३५ वर्षमा बितिसकेका थिए। कुनै लडाइँ नहारेर विश्व विजेता बने सिकन्दर २५ वर्षको उमेरमा। र, मरे ३२ मा।
स्वामी विवेकानन्दले सन् १८९३ मा सिकागोको विश्वधर्म महासंघमा धर्म र आध्यात्मिकताबीचको आकाश र जमिनको जस्तो फरक देखाएर विश्वलाई चकित पारे।
३० वर्षको उमेरमा उनी तत्काल प्रख्यात भए। यो फरक पूर्वको वैदिक दर्शनबाट पश्चिमलाई सिकाए करिब ७ वर्ष अमेरिकाभर लेक्चर दिएर र, भने–विज्ञान र आध्यत्मको संगममा मात्र मान्छेको अपूर्व बुद्धिको सम्पूर्णता प्रकट हुन्छ। यो सन्देश दिएर बिते ३९ वर्षमा। शंकराचार्यको पनि त्यस्तै हो।
१८ वर्षको उमेरसम्म पेटभरि खान आइतबारको दिन इस्कोनले बाँड्ने फ्री दालभात पर्खी बस्ने स्टिभ जब्सले एप्पल कम्प्युटर विश्वलाई दिएर २८ वर्षमा अर्बपति बनिसकेका थिए।
हाम्रो महाकविको महान् कृति ‘मुना मदन’ बबरशमशेरको कान्छो छोरो ब्रह्म शमशेरको सहयोगमा पहिलोपटक छापिँदा उनी २६ वर्षका थिए। र, त्यस्तै सँगालिएको विश्वास लिएर नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए बिपी कोइराला ४५ वर्षमा। कुरा कम उमेरको मात्र होइन।
पानी जहाजमा दुईपटकको हृदयघातसँग जुझ्दै अमेरिकाको न्युयोर्क सहर पुगेर ७० वर्षको उमेरमा इस्कोन स्थापना गरेका प्रभुपादले त्यसपछिको सात वर्षमा भगवान् कृष्णको चेतना संस्थागत रूपमा विश्वव्यापी पारे। बुढौतीको संघर्ष झन् निर्णायक हुन्छ सायद। यो देखाउन होला, अर्नेस्ट हेमिङ्वेले एउटा पात्र बनाए, सानटियागोलाई बूढो माझीको।
उनले जीवनसँग हार नमानेर समुद्रमा गरेको ठूलो माछा मार्ने संघर्षको वर्णनले हेमिङ्वेलाई साहित्यमा नोबेल पुरस्कार दिलाउन मद्दत पुर्यायो। उँभो चेतनाले होला, विद्यार्थी कालको उर्लंदो वेग पठनपाठनको निर्धारित सीमाभित्र नखुम्चिएर राजनीतिक,साहित्यिक र आध्यात्मिक फाँटहरूलाई स्पर्श गर्दै करिब ९३ वर्षको लामो यात्रा तय गर्यो त्यो प्रवाहले,जुन गोविन्द लोहनी बनेको छ। उनी पनि यसरी आफ्नो स्वरूपको एउटा पात्र बने।
त्यसैले कुरा पात्रको हो। को कस्तो पात्र बन्न सकेको छ, त्यसैमा मृत्युपछिको उसको सम्बन्ध रहन्छ कि रहँदैन भन्ने यकिन हुन्छ।
रह्यो भने पनि कुन तहको र कहिलेसम्म रहन सक्ने, त्यसको छानबिन हुन्छ। समुद्रमा अनवरत आएको छालले किनाराका बालुवाका कणलाई प्रत्येक सेकेन्ड अदलीबदली गरेजस्तै यो सम्बन्धमा परिवर्तन भइरहेको हुन्छ। आखिर मान्छे के हो र? एउटा यस्तै कण हो। त्यो कणमा कोटि सूर्य प्रज्ज्वलित हुन सक्छ, ऊ पात्र बन्न सकेको छ भने। यहाँनिर म श्रीमद्भगवद्गीताको यो लाइन सम्झिरहेको छु। भगवान् कृष्ण भन्नुहुन्छ अर्जुनलाई– निमित्त मात्रं भव सव्यसाचिन्।
सव्यसाची भनेको दुवै हातले उत्तिकै दक्षतासँग हतियार चलाउन सक्ने व्यक्ति हो। महाभारत युगमा यस्तो व्यक्ति अर्जुन मात्र थिए। त्यसैले उनको नाम सव्यसाची बन्यो।
कृष्ण भन्नहुन् –सव्यसाची, तिमी निमित्त मात्र बन। अर्थात्, गर्ने सबै म हुँ। एउटा पात्र बन्ने हो धर्मयुद्धको। जब यो कुरालाई हामी बाँचेको समाजसँग जोडेर हेरिन्छ,लाग्छ नियति कस्तो छ, कसको त्यसैमा ऊ कुन तहको पात्र बन्छ, सो ठहर हुन्छ। यसको मतलब सबै नियतिमा छोडेको होइन।
आफ्नो मेहनत, लगनशीलता र लक्ष्य प्राप्तिको कर्मबिना केही पनि हुँदैन। पात्र बनेको हो, तर युद्ध त अर्जुनले नै लडेको हो। स्वामी विवेकानन्दले यतिसम्म भनेका छन्– एउटा फुटबल खेलाडीले भगवान् कृष्णको सामीप्य पाउने गीता पढेर होइन, राम्रो फुटबल खेलेर हो। त्यसैले नियति निर्णायक छ तर त्यो निर्णायक बाटो तय गर्ने कर्मले हो।
९३ वर्षको लामो जिन्दगीमा कस्तो पात्र बने गोविन्द प्रसाद लोहनी ? कस्तो कर्म गरे उनले ? यसलाई अब हेर्ने प्रयास गरौँ। अत्यन्त सीमित रूपमा किन नहोस्, गोविन्दप्रसाद लोहनीको विभिन्न स्वरूप देखेँ मैले एउटा फराकिलो सामाजिक क्यानभासमा। मैले जे देखेँ, त्यसलाई अब सरसर्ती नियति, कर्म, मृत्युसँगको यात्रा र अमरत्वसँग जोडेर हेरौँ।
पहिलो दृश्य मेरो आँखाअगाडि आउँछ टुँडिखेलको, जहाँ मैले उनलाई पहिलोपटक देखेको थिएँ। कसरी र कुन रूपमा देखेँ त्यो भन्नुअगाडि अलिकति टुँडिखेलको बारेमा कुरा गरौँ। नटुक्रिएको र बार नलागेको टुँडिखेल रानीपोखरीदेखि अहिलेको दशरथ रंगशाला तलसम्म फैलिएको वेला एसियाको ठूलो परेड ग्राउन्ड भनिन्थ्यो। करिब बीचमा अवस्थित खरीको बोटमा बनेको चौतारीबाट सैनिक सूचनाको घोषणा हुन्थ्यो।
जंगबहादुरले कोत पर्वबाट सत्ता हत्याएपछि सत्ता दिगो पारेको यही टुँडिखेलबाटै हो। जाडो महिनामा हुस्सु लाग्दा कहिले नसकिने जस्तो लाग्ने टुँडिखेलमा राणाहरूले घोडा चढेर घुम्न आउँदाको चाकडी ग्रहण र नेपाली जनताको अमानवीयकरणको स्वीकृति लिने ठाउँ पनि यही रह्यो।
टुँडिखेलको आफ्नै रोमाञ्चकारी कथा छ। त्यस्तै शक्ति, चाकडी, अमानवीयकरणको व्यथा पनि। सहर सकिएको र शक्ति जोडिएको ठाउँ हो टुँडिखेल। टुँडिखेल दोहोरो विम्ब बनेको छ,एउटा कालखण्डमा गरिएको अमानवीयकरणको।
त्यसैगरी अर्को कालखण्डले सुरु गराएको छ उन्मुक्तिको। मैले यसबारे आफ्ना पिता वेदप्रसाद लोहनी, जो नेपालमा सिमेन्ट ढलान निर्माण सुरु गर्ने पहिलो नेपाली हुनुहुन्थ्यो, उहाँको आँखाबाट देखेको दृश्य शृंखलामा आधारित एउटा अंग्रेजीमा लेखिएको लेखमा २० वर्षअगाडि उतारेको थिएँ। योभन्दा बढी नजाऊँ अहिले। मैले देख्दाको टुँडिखेल पनि अहिलेजस्तो टुक्रिएको थिएन।
गोविन्द लोहनीलाई टुँडिखेलमा देख्दा म बालक थिएँ। उनी मानिसहरूको एउटा झुन्डबाट घेरिएका हुन्थे। र,तिनीहरूलाई गुरुले स्कुलमा सिकाएको जस्तो गरी केही सिकाइरहेको जस्तो भान हुन्थ्यो मलाई। ज्ञानेश्वरको खरीको बोटको गल्लीभित्रको बाजेको घरमा करिब ४० जनासँगको परिवारमा हुर्किरहेको म सडकसम्म जान वर्जित थिएँ। ‘ए ! मोटरले किच्छ, नजा पर सडकमा’ भन्ने आमाको आवाजले मेरो दौडको वेगलाई रोकिहाल्थ्यो,जबकि राणाको बग्गी हिँड्नका लागि बनेको सानो सडकमा मोटर फाट्टफुट्ट मात्र देखिन्थे।
पछि थाहा पाएँ ती मोटर शासक वर्गका लागि वीरशमशेरको पालादेखि उनको जेठो छोरा गेहेन्द्रशमशेर, जो नेपालको पहिलो वैज्ञानिक र जसले नेपालमा पहिलो तोप बनाए, उनले भीमफेदीदेखि मान्छेहरूलाई बोकाएर ल्याएका थिए।
धेरैपछि मैले पढेँ यसबारे अमेरिकी न्युज म्यागजिन ‘न्युजविक’मा ‘विकास पछाडि फर्केको छ नेपालमा’ भन्ने शीर्षकको लेख, जहाँ ठाडो पहाडमा मान्छेहरूले बोकेर उकालेको मोटरको फोटो पनि छापिएको थियो।
यस्तो अवस्थामा हुर्किएको बाटोघाटो नदेखेको फुच्चे म किन र कसरी सुन्न पुगेँ टुँडिखेलमा गोविन्द लोहनीको लेक्चर? के मैले उनीलाई चिनेको थिएँ? निश्चित रूपमा थिएन। सामाजिक परिवेशको अनौठो उपज थियो यो। त्यो परिवेशमा नेपाल भनेको काठमाडौंभित्र अटाएको थियो। सहर भनेको टुँडिखेलको पश्चिमपट्टि मात्र थियो। अर्थात्, भोटाहिटीबाट मात्र। भित्ताको कान हुन्छ भनेर आफ्नो घरभित्र पनि जनता सुस्तरी बोल्न डराउँथे।
आमोदप्रमोदको वस्तुसरह बनाइएको थियो जनतालाई, शासक र धर्मका मठाधीशको मिलेमतोबाट अर्थराजनीतक र सामाजिक शोषण गरेर। यसरी अमानवीयकरणले समेत कानुनी र सामाजिक स्वीकृति पाएको थियो।
आफ्नो घरमा रंग लगाउन सक्दैनथे, राणाको आँखा लाग्छ भनेर। पर राणाको कुनै दरबार भए धेरै वरका नेपालीले आफ्नो घरको झ्याल टाल्नुपथ्र्यो। २००७ साल पछि मात्र सेतो पोतिएका घरका खुलेका ती झ्यालबाट खुला हावा घरभित्र छिर्न पाएको थियो।
आफ्नै आकाशमुनिको ठूलो टुँडिखेलमा नेपाली गतिविधिहरू बल्ल सुरु भएका थिए। बाह्रे मजा बेच्ने, नाटकीय पाराबाट दन्तमन्जन बेच्ने, चटक देखाउने, घाम ताप्ने र फुटबल खेल्ने,व्यायाम गर्नेहरू मात्र होइन,सीमित सचेत नेपालीको जम्मा हुने र विचार विमर्श गर्ने ठाउँ पनि बनेको थियो।
गोविन्द लोहनी अग्रणी सचेत नेपाली र म एउटा फुच्चे। टुँडिखेलको त्यो ‘खुला पाठशाला’को खुला कक्षामा उभिएर मैले उनको कुरा सुनिरहेको हुन्थेँ। अरूसरह बसेर सुन्ने मेरो औकात थिएन।
मेरी आमाले बल गरेर तानेपछि म विवश भएर उहाँको हात समातेर लुरुलुरु टुँडिखेल काट्थेँ। नबुझे पनि मलाई त्यो लेक्चरको वातावरण असाध्यै राम्रो लाग्थ्यो। पहिलोपटक देखेको थिएँ मैले त्यहाँ।
गोविन्द लोहनीको लेक्चर सुन्न कसरी पुगेँ त म भन्ने कुराको उत्तरमाथि देखाइएको त्यतिवेलाको सामाजिक परिवेशको झल्याकझुलुकसँग नै जोडिएको छ। मेरा बाजे कप्तान पण्डित रुद्रप्रसाद लोहनीलाई बार्दलीमा घाम तापेर बसेको देखेपछि तलको धारो भएको चोकबाट चौडिल कटेर सिँढी झरेर गल्लीमा जानुपर्दा मेरी आमाले घुम्टो काटेर निहुरिएर हिँडेको म देख्थेँ। त्यति मात्र होइन, एकजना साथी हुनैपर्थ्यो आइमाई बाहिर जाँदा।
चोकमा खेलिरहेको मलाई सुस्तरी बोलाएर भन्नुहुन्थ्यो– ‘हिँड् तँ मेरो साथी बनेर।’ अनि उहाँको औँला समातेको म पासपोर्टसरह बन्थेँ माथिबाट हेरिरहेको बाजेको आँखाको अगाडि। उहाँको अर्को हातमा पूजासामानले भरिएको ढक्की राखिएको एउटा झोला हुन्थ्यो। यसरी म उहाँको नियमित प्रदोषको व्रतको दिन ज्ञानेश्वरको महादेवस्थान पुग्थेँ।
त्यसैगरी शनिबार महांकाल र संकटा मन्दिर। महांकाल भैरवको मन्दिर जाँदा टुँडिखेलको बीचबाट हिँड्थ्यौँ। त्यहाँ म देख्थेँ, गोविन्द लोहनीलाई भीडभित्र। जाँदा त होइन, त्यही बाटो फर्कंदा म आमाको हात फुस्काएर दौडेर पुग्थेँ। घर फर्कंदा आमा भन्नुहुन्थ्यो– तैँले के बुझ्छस् र गोविन्द लोहनीको लेक्चर सुन्न गएको ? उनी त विद्वान् मान्छे हुन्। मैले यसरी उनको नाम थाहा पाएको थिएँ। र, त्यस घेरामा लेक्चर सुन्ने एउटा मान्छेको नाम पनि आमाले बताउनुभएको थियो। ती थिए, गोपालप्रसाद रिमाल।
विद्वता के हो म जान्दिनथेँ। जब यसको अर्थ क्रमशः समयको अन्तरालमा अलिअलि खुल्दै गयो, तब गोविन्द लोहनीका बारेमा सुनेका कुरा बुझ्दै गएँ। उनका लेखहरू केही हेर्दै जाँदा थाहा भयो, उनी अरूभन्दा फरक थिए। कर्मकाण्डी बुद्धिजीवी थिएनन्।
कुरोको चुरो पत्ता लगाउन सक्ने उनी। गहिरिएर बुझ्न सक्ने क्षमता भएका कारण टुँडिखेलमा त्यतिवेला उनले २००७ सालको परिवर्तनबाट खुला आकाशमा सास फेर्न पाएकालाई कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्त सिकाइरहेका थिए।
शासक वर्ग र सर्वहारा वर्गबीचको संघर्षले कसरी चरणबद्ध सामाजिक परिवर्तन हुन्छ, अन्ततः बढ्दै गएको विरोधाभासको आफ्नै बोझ थाम्न नसकेर पुँजीवाद कसरी समाप्त हुन्छ र समाजवादको बाटो खुल्छ भन्ने व्याख्या गरिरहेका थिए। उन्मुक्ति बोकेको टुँडिखेलको खुला आकाशमुनि कार्ल मार्क्सको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन र राजनीतिक अर्थशास्त्र पढाइरहेका थिए। तर उनी जडसूत्रवादी थिएनन्।
मलाई थाहा हुने कुरै भएन, मूलतः औद्योगिक मजदुरका लागि भन्दा धेरै बढी तेस्रो मुलुकको गरिबभन्दा गरिबका लागि मार्क्सवाद एउटा रोमान्स हो, रोम्यान्टिसिजम हो। अझ बढी आक्रोशको सिंगो ज्वालामुखी हो, ती व्यक्तिका लागि, जो चरम आर्थिक अभावमा हुर्किरहेका हुन्छन् र बीचबीचमा अर्धचेतनाको स्पर्श हावाको झोँक्काजस्तै गरी अनुभव पनि गरिरहेका हुन्छन्।
यस्तो हुने बुझेर होइन, सुनेर हो। कल्पनाको सुन्दर दुनियाँ देख्न चाहेर हो। तर रूपान्तरित यथार्थता बिल्कुल फरक देखिएको छ। कार्ल मार्क्सको दास क्यापिटल कति भाग छ भन्ने होइन, किताब नै कहिले नदेखेको मानिस महान् माक्र्सिस्ट बनेको पनि हुन सक्छन्।
जब त्यसमध्येको टाठो लुच्चोले सत्तामा आउन पायो भने जर्ज अर्वेलले ’एनिमल फार्म’मा वर्णन गरेजस्तै परिष्कृत स्वरूपको झन् ठूलो सामन्ती र शोषण बनेको देखिन्छ। परिवर्तनका लागि लडेका जनताले यो भोगिरहेका छन्। अहिलेसम्मको इतिहासले यही भनिरहेको छ।
कार्ल मार्क्सको सन् १८४८ मा प्रकाशित पाम्पलेट कम्युनिस्ट मेनिफेस्टोलाई २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी संस्थापक महासचिव बनेका पुष्पलाल श्रेष्ठले नेपालीमा अनुवाद गरिसकेका थिए। पुष्पलालका सहोदर दाइ हुन् गंगालाल, जो प्रजातन्त्र नेपालमा ल्याउन संघर्ष गरिरहेका थिए, टंकप्रसाद आचार्यको नेतृत्वमा। उनलाई गोली ठोकेर मार्यो, जुद्धशमशेरको शासनले।
जागरण र आक्रोश लिएर राजनीतिमा आएका पुष्पलाल दिल्लीरमण रेग्मीको पार्टी राष्ट्रिय नेपाली कांग्रेसका अफिस सेक्रेटरी थिए कलकत्तामा। उनलाई माक्र्सवादतर्फ आकर्षण गर्ने कार्यमा गोविन्द लोहनीको प्रेरक बौद्धिकताको पनि भूमिका रहेको देखिन्छ। पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टी खोल्न भारतीय कम्युनिस्ट पार्टीले अयोध्या प्रसादलाई पठाएर मद्दत गरेको थियो।
नेपालमा केहीले मात्र भर्खरजस्तो सुनेको नाम थियो, कार्ल मार्क्स। त्यसैले नाम सुनेकालाई पनि मार्क्सवाद गोविन्द लोहनी सिकाइरहेका थिए। यसर्थ उनी मार्क्स ‘ मार्क्सवादको पहिलो गुरु’ थिए नेपालको। लेनिन बितेको चार वर्षपछि जन्मेका गोविन्द लोहनीले मार्क्सको आदर्श लेनिनले बनाएको जनवादी केन्द्रीयताले गर्दा फुक्न नसकेको कुरा हेक्का राखेर सिकाए या सिकाएनन् त्यो थाहा भएन।
लेनिन आफैँले भने यो कुरा थाहा पाइसकेका थिए, जब स्टालिनको म महत्त्वाकांक्षाले गर्दा यो केन्द्रीयताले राक्षसी स्वरूप लिँदै गएको थियो। तर उनी केही गर्न नसक्ने अशक्त बनिसकेका थिए। त्यसैले गोविन्द लोहनीले मात्र होइन,कसैले कल्पना गर्न सक्ने कुरै थिएन,त्यति वेला माक्र्सको विचार र आदर्शलाई अंगीकार गरेर लेनिनले बनाएको संगठनात्मक जनवादी केन्द्रीयताको संरचनाअन्तर्गत बोल्सेभिक क्रान्तिबाट सत्तामा पुगेकाहरूकै रेजिमेन्टेड केन्द्रीयताका कारण कालान्तरमा सोभियत संघ टुक्रिन्छ भनेर।
हो, सन् १९९१ मा टुक्रियो जब समाजवादको नाममा एकातिर एउटा पाउरोटीका लागि नटुंगिने लाइनमा जनता उभिरहेका थिए भने अर्कोतिर लाल पुँजीपति वर्गको धान्नै नसकिने गरी विकास भएर मुसदण्डहरू आलिसान महलमा बसेर राष्ट्र लुटिरहेका थिए। यसको थालनी लेनिनपछि लगत्तै सत्तामा आएका स्टालिनले सुरु गरेको हो। सर्वहारा वर्गको अभिनायकत्वको नेतृत्व गरिरहेका स्टालिन त्यति वेला विश्वका दश सर्वाधिक धनी व्यक्तिमध्ये एक थिए।
गोविन्द लोहनीले टुँडिखेलमा कम्युनिस्टले गरिबको हित कसरी गर्छ भनेर सिकाउँदा नेपालमा कम्युनिस्ट शासन आउन सक्ने कुरो कल्पना बाहिरको थियो। त्योभन्दा पनि बाहिर थियो नेपालका कम्युनिस्टहरू नै मूलतः देशद्रोही हुन्छन् भन्ने कुरा, यसर्थ कि तिनीहरूले मौका पाउनेबित्तिकै राष्ट्रिय पुँजीपति वर्गलाई दलाल पुँजीपति वर्गसँग पार्टनरसिप गरेर विस्थापित गर्छन् र मुलुकलाई यसरी तहसनहस पार्छन् भनेर। यहाँनिर म देवकोटाका यी हरफ सम्झिन पुगेको छु–
शक्ति प्रियाले आइबोलिन्, दिन्छु म मिठो मेवा
मैले बोलेँ, मेरो अमृत मानिसहरूको सेवा
बोले इन्द्र, सुरपुर सुन्दर झिलिमिली छ मेरो दरबार
मैले बोलेँ, बाल्नु छ बत्ती अझै छ अँध्यारो संसार
सत्तारूपी शक्ति प्रियाबाट मेवा खाए। इन्द्र बनेका दलाल पुँजीपतिको झिलिमिली दरबारमा बस्न पुगे यी। यसका लागि जनता, विकास र समृद्धिको गफ अति धेरै गरे। यथार्थमा न जनताको सेवा, न सके जगाउन अँध्यारोमा गाँजिएको मुलुकमा उज्यालोको आशा।
यी त राजा महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएका वेलादेखि सत्ताधारीको न्यानो पाउन र सो नचाहने बीचको झगडाबाट २०१९ सालमा पहिलोपटक टुक्रिएपछि अहिलेसम्म अनवरत ‘टुटफुट–जुट–टुटफुट’ मा छन्। पछिका टुटफुट भने सत्ताधारीको न्यानो नभएर सत्ताको न्यानोका लागि हुने गरेको छ। र, यस क्रममा आफ्नै कमरेडलाई गद्दार भन्ने र आफ्नो समूहमा आफ्नो देवत्वकरण गर्नेमा लागेका छन्।
कुनै वेला पुष्पलाललाई पनि गद्दार घोषणा गरेर किताब नै लेखेका थिए। नेतृत्वमा पुगेपछि स्टालिन प्रवाहमा हेलिने क्रममा यस्तो स्वरूप आएको हो। गोविन्द लोहनीले माक्र्सिजम् सिकाउँदा सायद यो हेक्का हुने कुरो थिएन।
पछि उनले यो देखेर नै वामपन्थी व्यक्तिवादी चरित्रबाट टाढा रहेका देखिन्छन्। आफ्नो लेखनीमा प्रगतिवादी भएनन्, तर सधैँ प्रगतिशील विचार प्रवाह गरे। यो क्षणको नेपालमा स्टालिन युगको अवशेषलाई पार्टीमा निर्णायक रूपमा भित्र्याउने योजनाबद्ध प्रयास देखेको भए गोविन्द लोहनी के भन्थे होला?
पहिलोपटक बुझेर म मुग्ध भएको उनको एउटा प्रवचन सुनेर हो। ठाउँ याद भएन, तर उनी बोलेको कुरा केही याद छ। २०२७ सालमा म अर्थशास्त्रमा एमए गर्दै थिएँ। त्यतिवेला उनी नेपाल राष्ट्र बैंकको मुख्य आर्थिक सल्लाहकार थिए। यहाँनिर अलिकति केही कुरा थपौँ। नेपालको संस्थागत राजनीतिको पहिलो क्रान्तिकारी नेता, अत्यन्त इमानदार र मुलुकलाई माया गर्ने नेता हुन् टंकप्रसाद आचार्य।
उनले नेतृत्व गरेको प्रजा परिषद् पार्टी, जसले संगठित रूपमा प्रजातान्त्रिक संघर्षको सुरुवात गर्यो १९९३ सालमा, जुन पार्टीका चार योद्धाहरू नेपालको पहिलो सहिद भए १९९७ सालमा। त्यस्तो ऐतिहासिक पार्टीलाई कसले,के खान र किन अपवित्र विलय गरे ओलीको प्रधानमन्त्रित्वसँग, त्यो यतिखेरको छलफलको विषय होइन। तर यो छलफल भविष्यमा नेपालको राजनीतिक इतिहासमा निश्चित रूपमा उठ्नेछ, जब प्रजा परिषद्को खोजी हुन्छ।
पार्टी विलय गरे पनि टंकप्रसाद आचार्य विलय हुन सक्तैनन्। २०१२ सालमा उनी प्रधानमन्त्री भएर होइन, प्रधानमन्त्री त ३८ जना भइसकेका छन्, सो सरहको हिसाब नगर्दा पनि। टंकप्रसादले अमरत्व पाएका छन्, उनको इमानदारी र देशप्रेमले गर्दा।
यो यात्राको प्रतिफल हो, २०१३ सालमा उनले स्थापना गरेको नेपाल राष्ट्र बैंक पनि,जसरी उनले पहिले पञ्चवर्षीय योजना र निजामती सेवालाई कानुनसम्मत संस्थागत रूप दिएका थिए। र, नेपाल राष्ट्र बैंकमा एउटा राम्रो जोडी बन्यो–पहिलो गभर्नर हिमालय शमशेर र पहिलो अनुसन्धान अधिकृत गोविन्दप्रसाद लोहनीको। आज राष्ट्र बैंक जहाँ पुगेको छ, त्यसको श्रेय यो टोलीलाई जान्छ, जसले परसम्मको सोच लिएर लिगमा हाले मुलुकको केन्द्रीय बैंकलाई।
नेपाल राष्ट्र बैंकको तर्फबाट उनले धाराप्रवाह बोले, नेपालको अर्थतन्त्रबारे, बातैपिच्छे तथ्यांक दिएर। नेपालको अर्थतन्त्रको ‘स्ट्रक्चरल पिकुलिआरिटिज्’ अर्थात् संरचनात्मक असामान्यताहरूलाई एकदमै सरल तरिकाबाट प्रस्तुत गरेका थिए। यसलाई बुझेर, आत्मसात् गरेर हिँड्नुपर्दछ।
अन्तको विकासको नमुना प्रत्यारोपण गरेर होइन भन्ने उनको धारणा थियो। यस किसिमको फराकिलो सोच र कसरी जानुपर्दछ अगाडि हाम्रा आर्थिक अवरोधहरूबीचका अप्ठेरालाई पन्छाएर, त्यो बाटो प्रस्ट देखिन्थ्यो उनको कुरामा। यस्तो सोच तब मात्र बन्न सक्छ, जब कुनै व्यक्तिले आफ्नो माटोसँग श्वासप्रश्वास गर्न सकेको छ।
अर्थशास्त्रको वृत्तिभाषा भरपुर प्रयोग गरेर धेरैले नबुझ्ने पारी कर्मकाण्डी बौद्धिकताको गफ छाँटेर महापण्डित बनेर ठूलो ओहोदामा पुगेकाको प्रवचनभन्दा फरक थियो। सायद यो कुरो बुझेर होला राजा वीरेन्द्रले गोविन्द लोहनीलाई महत्त्वपूर्ण जिम्मेदारीहरू दिएका थिए। त्यसैमा पर्दछ, राष्ट्रिय योजना आयोगको सदस्य बनेको र पाकिस्तानका लागि राजदूत भएको।
काठमाडौं–कोदारी राजमार्ग खुलेको करिब दुई वर्ष मात्र भएको थियो, उनले भनेका थिए– हामीले चीनसँगको व्यापार बढाउनुपर्छ। आउने युग भनेको चीन आर्थिक शक्ति बन्दै जाने हो। तिब्बतबाट व्यापार र पर्यटनको प्रशस्त सम्भावना छ। हाम्रो आर्थिक घाटा,व्यापार विविधीकरण,व्यापारको कम्पोजिसन र डिरेक्सनबारे यसैको सेरोफेरोमा तथ्यांकसहित सम्भावनाको प्रक्षेपण गरेका थिए। त्यो वेला त्यो सोच हुनु ठूलो कुरो हो।
हुन त धन कमाउने ठाउँको रूपमा तिब्बतको मिथकीय स्वरूप नै बनेको छ। यो मिथकबाट धन कमाउन लोभिएको कारणले नै ब्रिटिसले मरिहत्ते गरेर नेपालसँग पहिलो सन्धि गर्यो सन् १८०१ मा तिब्बतसँग व्यापार गर्न, नेपालको सर्त मानेर। नेपालको सर्त थियो– भागेर बनारस पुगेका स्वामी महाराज रणबहादुर शाह र उनका ४० जनाको टोलीलाई पाल्ने र नेपाल फर्कन नदिने। ती ४० मा नचिनिएका साधारण एक व्यक्ति पनि थिए– भीमसेन थापा।
यो प्रवचनबाट प्रभावित भएका कारण म तत्पश्चात् गोविन्द लोहनीका लेखहरू भेटाउनेबित्तिकै पढ्थेँ। धेरै पढेको छैन,भनिन्छ उनका करिब २००० लेख र करिब १० किताब छन्। जे पढेँ,त्यसबाट एउटा धारणा प्रस्ट बनेको छ। उनी अरूको कुरालाई दोहोर्याउने वा आफ्नो बनाएर प्रस्तुत गर्ने मान्छे होइनन्। आफ्नै मौलिक सोच दिन चाहने मान्छे हुन्।
मेरो यो धारणालाई बल मिलेको ठानेँ जब एकपटक कुनै सन्दर्भमा गोविन्द लोहनीसँग राष्ट्र बैंकमा सँगै काम गरेकी डा. मीना आचार्यले मसँग भनिन्– ‘लोहनीजी मौलिक रूपमा अनुसन्धान गर्ने मान्छे हो।’ उनको मौलिकताका कारणले होला म सक्रिय पत्रकारितामा रहँदा उनीसँगको सम्बन्ध प्रगाढ रह्यो।
म रहेँ २०३६ सालको अन्त्यदेखि २०५४ सालसम्म पत्रकारितामा– साप्ताहिक परिस्थिति निस्कने र बन्द हुने क्रमसँग अनुबन्धित भएर। स्तम्भ लेखन त अहिलेसम्म अलिअलि चालू छ। उनीसँगको यो प्रगाढ सम्बन्ध भने २०४७/४८ सालतिरबाट हो। फोनबाट सम्पर्क धेरै र भेटघाट पनि निकै हुन्थ्यो त्यो ताका।
उनी मेरा लागि न्युज सोर्स नै थिए ‘साप्ताहिक परिस्थिति’को। कतिपय न्युज पुष्टि गर्दा उनीसँग पनि म सम्पर्क गर्थें। यस अवधिका अनुभव धेरै छन्। रमाइलो मनपराउने, सेन्स अफ ह्युमर भएको, आध्यात्मिक चिन्तन भएको र समस्यालाई सतहबाट होइन गहिरिएर हेर्ने स्वभाव थियो उनको। एक–दुइटा मात्र कुरा गरौँ यसबारे। पत्रिका निकाल्ने अघिल्लो दिन म व्यस्त थिएँ, करिब ११ बजे फोन आयो उनको– ‘शैल उपाध्याय आएका रहेछन्।
काठमाडौं गेस्ट हाउसमा बसेका छन्। जाउँ भेट्न। धेरै कुरो थाहा हुन्छ।’ हार्न नसकेर उनलाई पिकअप गरेर गइयो। शैलजी पेय पदार्थप्रेमी रहेछन्, लर्बराएर बोल्ने अवस्थामा पुगेका। बिपीले अंग्रेजीमा लेखेको चिठी खल्तीमा राख्दा रहेछन्।
त्यो चिठी देखाएर पुरानो कुरो दोहोर्याए, गोविन्द लोहनी हाँसठट्टामा रमाइरहेको। त्यस्तै एकपटक एउटा सेमिनारमा भाग लिएर उनी र म आउँदै थियौँ। डा. मीना आचार्य पनि त्यहीँ मेरै गाडीमा थिइन्। लैनचौरनिर आएपछि भने– जाउँ मल्ल होटलमा। ड्राफ्ट बियर सुरु गरेको छ रे। हामी मानेनौँ, गइएन।
टंकप्रसाद आचार्यकहाँ उनीसँग बराबर भेट हुन्थ्यो। टंकप्रसाद चेसको सौखिन, केही दिन गएन भने फोन आइहाल्यो– खै तिमी किन नआएको? अनि, गएर चेस खेल्यो। चेस खेल्ने त्यो बोर्डको टंकप्रसाद आचार्यले बताएको कथा रमाइलो छ–‘प्रधानमन्त्री भएर चीन जाँदा खै कसरी थाहा पाएछन् म चेसको सौखिन भनेर, यो चेस पो प्रेजेन्ट दिए मलाई।’
खेल्न गएका वेला भेट्दा म देख्थेँ, गोविन्द लोहनीलाई टंकप्रसाद आचार्यले सम्मानयुक्त स्नेह देखाएको। लाग्छ, कारण बौद्धिकता थियो। त्यहाँ भेट्दा मैले भनेँ– दाइ, खै लेख पढ्न नपाएको धेरै भयो। उनले भने– आजकाल म आध्यात्मिक लेख लेख्छु।
पछि त्यस्तो लेख पढ्न दिएका थिए। उनको उत्तर्राद्धका वेला पनि दुई–चारपटक उनको सुत्ने कोठामा वरिपरि अखबार फिँजाएर घाम तापिरहेको अवस्थामा भेटेको हुँ। त्यति वेला मैले उनलाई अर्कै स्वरूपमा देखेँ– शान्त, एकदमै कम बोल्ने, जस्ताको तस्तै बोल्ने।
पछि त कान सुन्न अलि कम भएको अवस्थामा पनि भेटेँ। आखिरीपटक एउटा सानो जमघट थियो घरमा, उनको ९०औँ जन्मजयन्ती मनाउन। म पनि आमन्त्रित थिएँ। त्यतिखेर हो मैले डा. बाबुराम भट्टराईलाई जीवनमा दोस्रोपटक देखेको। पहिलोपटक थियो, २०५२ सालमा जंगल जाने अगाडि अन्तर्वार्ता दिन हाम्रो कार्यालयमा आउँदा। हामीले छापेको थियौँ त्यो।
मार्क्सवाद नेपालमा सिकाउने पहिलो गुरु गोविन्द लोहनीमा पाखण्डता देखिन मैले, जुन पाखण्डता कम्युनिस्टको पर्यायवाची शब्द बनेको छ अहिले यहाँ। ठूलो कम्युनिस्ट नेता बन्न मात्र होइन, कम्युनिस्ट बन्न समेत पाखण्डी चरित्र चाहिने भएको छ।
लोकतन्त्रको गगनचुम्बी व्याख्या सकिन नपाउँदै पाखण्डता झन् अग्लिएर सगरमाथा उछिनिरहेको देखिन्छ। लाग्छ, लोकतन्त्रको व्याख्या हावामा उडेको त्यो थाकेको बादल जस्तो रहेछ, जसको नियति अन्ततः गंगासँग मिल्नुमा सीमित छ। यस्तो मार्क्सवादको थालनी भएदेखि नै कसरी गोविन्द लोहनीमा त्यो देखिएन?
सायद कार्ल मार्क्सको सामाजिक परिवर्तनको वैज्ञानिक सुन्दरता देखे गोविन्द लोहनीले, तर हेर्न चाहेनन् स्टालिनले गरेको त्यसको वीभत्स रूपान्तरण। यसका अवशेषहरू अहिले नेपालको मूल प्रवाह कम्युनिस्ट सत्ता राजनीति बनेको छ। गोविन्द लोहनी गुरु बने मात्र सुन्दरताको, पाखण्डी बनेनन् कहिल्यै।
नियतिले असल पात्र बनायो। कपटरहित भएर कर्म गरे। जीवनको हरेक क्षेत्रमा जहाँ उनले काम गरे, त्यहाँ सुन्दरता पछ्याए। सुन्दरताले सत्यमा पुर्याउँछ। त्यसैले मलाई लाग्छ, मृत्युको अनुभव बताउन नपाए पनि त्यो सुन्दरता बोकेको उनको महायात्रामा अमरत्वसँगै हुनुपर्छ।
प्रकाशित: १८ मंसिर २०७८ ०२:२६ शनिबार