राजु क्षत्री अपुरो
मुलुकमा कालो बजार र भ्रष्टाचार ब्याप्त थियो। भूमाफिया, शैक्षिक माफिया र मेडिकल माफियाले मुलुकमा लुटतन्त्र मच्चाइरहेका थिए। राजनैतिक प्रणाली उथलपुथल थियो। बन्दहडताल, नाराबाजी र जुलुस नभएको दिन हुँदैन्थ्यो। समयसमयमा सरकार फेरबदल भैरहन्थे। यो पाला पनि सरकार फेरियो।
यो सरकारको पालामा महँगीले आकाश छुँदै गयो। जनता सडकमा उत्रिन थाले। बन्दका आह्वान गरिन थालिए। सामाजिक सञ्जाल पनि गर्मागर्मी भएर तात्यो। एकपक्ष बन्दको विरोध गरिरहेका थिए भने अर्का पक्ष समर्थन गरिरहेका देखिन्थे। बाझाबाझ हुन खोज्दै थियो।
बन्दका विरोध गर्ने केही भलाद्मीहरू खुलेरै लेखिरहेका थिए, ‘बन्द समाधान होइन। अराजकताको सिर्जना मात्रै हो। आम जनतालाई सास्ती हुनुको साथै आर्थिक बोझ बढाउनु हो। मुलुकको अर्थतन्त्र कमजोर पार्नु हो। बन्दहडताल गर्ने र गराउनेहरू अराष्ट्रिय तत्वहरू हुन्।’
उनीहरूको लेखमा सर्वसाधारण जनताको भारी समर्थन थियो।
‘नेपाल बन्द त पहिला पनि भएकै हो। त्यतिबेला तपाईं कुन दुलामा लुकेर बस्नुभएको थियो महाशय?’ कसैले प्रश्न सोधेको थियो।
तल अर्काले जवाफमा लेखेको थियो, ‘त्यतिबेला उहाँको आफ्नै पार्टी सरकारमा थियो नि त।’
प्रकाशित: १६ मंसिर २०७८ ०७:५२ बिहीबार