टुकादेवी पौडेल आचार्य
दिनभरि अन्नप्रसनको कार्यक्रम चल्यो। केही पाहुना आफ्नाआफ्ना गन्तव्यतिर लागे। केही नातेदार रात्रीकालीन पार्टीमा सहभागी हुनका लागि बसे।
साँझ परेपछि बालक खुब रोयो। बालककी आमा जतिजति थुम्थुम्याउँथिन् उतिउति बालक जोडजोडले रुन थाल्यो। रुँदारुँदै थाकेर बालक निदायो। बालक निदाएपछि नाइट पार्टीको तामझाम चल्न थाल्यो। बालककी आमा घरमै सौन्दर्यकर्मी बोलाएर थप सुन्दर बनिन्। बालक निदाइराखेकाले पार्टी सुरु गरियो।
नाइट पार्टीमा झुम्दाझुम्दै शिवम सुनचाँदी पसलबाट फोन आयो।
हेलो, सुवर्णजी! हजुरको बाबु सुयोग यहाँ पसलमा छन् है! छिट्टै पसलमा आउनुपर्यो।’ शिवम सुनचाँदी पसलका प्रोपाटर हत्तारिंदै बोले।
सुवर्ण ओछ्यानमा सुताएको छोरा नदेखेपछि छिटोछिटो गाडी स्टार्ट गरेर सुनचाँदी पसलमा पुगे परिवारका साथ। छ महिने बालक सुयोग दुई खुट्टाले उभिएको थियो। सुर्वर्ण दङ्ग पर्दै थिए।
बालक फटाफट बोल्न थाल्यो, ‘बाबा,म छ महिने बालकले के लगाउँदा राम्रो! के नलगाउँदा नराम्रो! बुझेकै छैन। आखिर किन मलाई यति धेरै गरगहना र झिलिमिली कपडाले सिंगार्नुहुन्छ? मलाई त्यस्तो संसार मन पर्दैन। म मुक्तिको खोजीमा हिँडेको!’
प्रकाशित: १६ मंसिर २०७८ ०६:५३ बिहीबार