१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

मेरो भ्रमणः मनको आनन्द

वन्दना कटुवाल

नेपाल सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक रूपमा भरिपूर्ण देश हो। नेपालमा हरेक ठाउँ सम्पदाहरूले भरिएको छ। भौगोलिक रूपमा सानो भए पनि घुम्नका लागि पर्यटकीयस्थलको कमी छैन। विदेशबाट यही सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिकस्थल हेर्न धेरै मानिस धेरै पैसा खर्च गरेर आँउछन्। मुगुको रारा ताल होस् वा सप्तरीको छिन्नमस्ता, आन्तरिक तथा बाहिरी पर्यटकहरूको मन कहिले पनि उदास बनाएको छैन। कञ्चनजघाको काखमा बसेकी पाथीभरा पूर्वमा देख्न पाइन्छ भने यता पश्चिममा खप्तड बाबाको, मुसुक्क मुस्कुराउँदै माछापुच्छ्रेको फेदीमा विन्ध्यवासिनीको बास छ भने, काली गण्डकीको किनारमा रहेको पाल्पाको रानी महल देख्न पाइन्छ। नेपालमा यस्तै प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक ठाँउहरूको वर्णन गर्न थालियो भने कुरै सकिँदैन।

मलाई यस्तै प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक ठाउँ घुम्न अत्यन्त मनपर्छ। यी ठाउँहरू घुमियो भने मनमा शान्तिको बास हुन्छ। यसरी विभिन्न नौला ठाउँहरू भ्रमण गर्ने मेरो इच्छाअन्तर्गत मैले सुर्खेत जिल्ला पनि घुम्न पाएँ।

काठमाडौँभन्दा पश्चिम दिशामा स्थित सुर्खेत सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक रूपमा भरिपूर्ण छ। म सुर्खेत पहिलोचोटि जाँदै थिएँ। मनमा उमंग छाएको थियो। मैले टिभीमा तथा सामाजिक सञ्जालमा सुर्खेतबारे धेरै देखेसुनेको थिएँ। त्यहाँ जाने मेरो सपना बल्ल पूरा भयो। सुर्खेत जानुभन्दा अगाडि म कर्णाली पुल घुम्न गएको थिएँ। नेपालको लामो नदीमाथि स्थित पुल, बर्दिया र कैलाली जिल्लाको सिमानामा पर्दोरहेछ। त्यहाँबाट  ५ घण्टा जतिको बस यात्रामा बर्दिया र बाँके जिल्लालाई पार गर्दै म सुर्खेत पुगेँ। माथि दैलेखको डाँडा अनि बग्दै गरेको भेरी नदीले मनमा निकै उत्साह छायो। त्यहाँ पुग्दा राति भइसकेको हुनाले भोलि बिहानै घुम्न जाने योजना बनाइयो। म आफ्नो मम्मीसँग घुम्न गएको थिएँ। हाम्रा केही आफन्त सुर्खेतमै बस्ने भएर हामी उहाँहरूकोमै बस्ने निधो गर्यौँ।

भोलि बिहान भएपछि सुर्खेत शहर घुम्ने तयारी गरियो। वीरेन्द्रनगर सदरमुकाममा बुलबुले ताल काँक्रे विहार, सुर्खेत घण्टाघर जस्ता पर्यटकीयस्थलहरु थिए। देउती बज्यैचाहिँ छिन्छुमा पर्नेरहेछ। अर्थात् सदरमुकामभन्दा अलि टाढा मंगलगढी आदि अरू केही पर्यटकीय ठाउँ थिए। वीरेन्द्रनगर कार्णाली प्रदेश (प्रदेश नं.६) को राजधानी भएर पनि होला, मैले सुर्खेत विकसित नै देखेँ।

वरिपरि हरियाली छाएको, स्वच्छ हावा र वातावरणलाई हेर्दै र महसुस गर्दा भिन्न किसिमको आनन्द आयो। म त्यहीँ वातावरणमा रमाउँदै आफ्नो गन्तव्यतिर लागेँ। मैले काँक्रे विहार, बुलबुले ताल र घण्टा घर सबै घुमेँ। अग्लो घण्टा  

घरमाथिबाट देखिने त्यो सुर्खेत उपत्यकाको दृश्य मनै लोभाउने थियो अनि शिखर शैलीमा बनेको नेपालको अग्लो कलात्मक विहार, काँक्रे विहार (दोस्रो लुम्बिनी), हरियो वनको बिच उपस्थित रहेछ। त्यहाँ जान गाडीको छुट्टै र मानिसको छुट्टै टिकट काट्नुपर्ने रहेछ। त्यहाँ आसपासको क्षेत्रमा मैले धेरै अन्य कलात्मक मूर्ति र कीर्ति खम्बाहरू देखेँ।

बौद्ध र हिन्दू धर्मावलम्बीहरूको पर्यटकीयस्थल भएको भएर होला मैले बुद्धको प्रतिमा मात्र होइन गणेश, शिव, सरस्वती, पार्वती आदिका प्रतिमा पनि देखेँ। जंगलको बीचमा अवस्थित यो शिखर, मन्दिरको वरिपरि हरियाली तथा सरसफाइ थियो। त्यो रमाइलो दृश्य, मनलाई सम्झाउँदै, काँक्रे विहारको नजिक बुलबुले तालतिर म लागेँ।

बुलबुले ताल जान पनि टिकट काट्नु पर्दोरहेछ। विद्यार्थी भएर होला, मैले चाहिँ रु.१० मात्र शुल्क तिर्नुपर्यो।

‘सुर्खेतमा बुलबुले ताललाई यो माया,

लेऊ चिनो रुमाल...।’

साँच्चिकै बुलबुले तालमा प्रवेश गर्नेबित्तिकै सुन्दरताले मन तान्यो। जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको रहेछ। काँक्रे विहार जतिकै त्यहाँ पनि पर्यटकहरूको घुइँचो थियो।

रंगीन बगैँचा, सुन्दर फूलहरू, हरिया रूख, डुंगाको सवारी र तालको मिश्रणले बनेको थियो बुलबुले उद्यान। त्यहाँ स्थानीयहरू नुहाउन तथा खानेपानी लिन आँउदा रहेछन्। त्यहाँ मैले एउटा शिवको मन्दिर पनि देखेकोे थिएँ।

पार्कमा पर्यटकहरू बस्न उपयुक्त वातावरणको साथ बेन्चहरू पनि राखिएको थियो। अनि नजिक घर भएका मानिसहरूचाहिँ पिकनिक मनाउन पनि आउँदा रहेछन्। मैले सुने अनुसार केही वर्ष यता बुलबुले तालले भौतिक रूपमा आफ्नो आकृति फेरेको रहेछ।

मैले वीरेन्द्रनगरको काखमा अवस्थित ती ठाउँहरूको भ्रमण गरेँ। सबै ठाँउ एकदम राम्रोसँग अवलोकन गरेर ज्ञान प्राप्त गर्नुको साथै धेरै रमाएँ पनि। मैले मेरो भ्रमण यादगार बनाउन सबै ठाउँको तस्वीर खिचेँ। यति धेरै ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पुरातात्विक इतिहास बोकेका ती ठाँउहरू अझै ओझेलमा छन् भन्ने कुरा मैले त्यहाँ गएर महसुस गरेँ।

सरकारले सँगसँगै स्थानीयबासीहरूले पनि प्रचार गर्दै भौतिक रूपमा विकास गर्दिए भने ती ठाउँ अझै उत्कृष्ट गन्तव्य ठहरिन्छन्। यी सबै सुर्खेतका रमाइला पलहरूलाई मनमा कैद पारी म बाँके जिल्लामा अवस्थित नेपालको एक मात्रै  महादेवको मन्दिर बागेश्वरी मन्दिर गएँ। तालको बीचमा रहेको महादेवको मन्दिरलाई दर्शन गर्दा मनमा निकै शान्ति प्राप्त भयो।

कक्षाः९

 विजेश्वरी  ज्ञान मन्दिर सैनिक महाविद्यालय,स्वयम्भू, काठमाडौं

प्रकाशित: ३० कार्तिक २०७८ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App