२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गायत्री मन्त्र सुनाउने गुरु पिता

धेरै वर्षअघिको कुरा हो। सायद आधा शताब्दीअघि नै हुन सक्छ। तिनताका मीनपचासमा काठमाडौंका स्कुल बिदा हुन्थे। दुई महिनाको लामो बिदामा काठमाडौंको चिसो छल्न हामी चार दिदीबहिनी चितवन जान्थ्यौँ। चितवनमा हाम्रा साना बा बस्नुहुन्थ्यो।

हाम्रा पिता (राष्ट्रकवि माधव घिमिरे) जागिरको सिलसिलामा काठमाडौं बसोबास गर्नुहुन्थ्यो। पहाडमा आमासँगै हुर्किरहेका कान्छो भाइलाई त्यहीँ छोड्दा गाउँबेसी गर्न दुःख हुने ठम्याई चितवन बसाइँ सारे। पहाडमा दुःखले जीवन धानेका एक आफन्त परिवारलाई समेत खेतीपातीको बन्दोबस्त मिलाइ भाइको संरक्षणार्थ सँगै बसाइँ सारे। उनै साना बाको घरमा हामी मीनपचासको बिदा मनाउँथ्यौँ।

सहरबाट आएका चेली भन्दै साना बा लगायत अरू आफन्तको माया र ध्यान हामीमै केन्द्रित हुन्थ्यो। हामीलाई कतै, कुनै, कसैबाट रोकटोक थिएन। त्यो वास्तविक स्वतन्त्रताको आनन्दको अनुभूतिले काठमाडौंको कृत्रिम र बन्दी जीवनबाट हामीलाई निरन्तर गाउँतिर खिचिरह्यो। कलेजको पढाइ सुरु भएपश्चात् हाम्रो चितवन जाने क्रम भंग भयो।

आधा रातमा सुतिरहेको छाप्रोनजिकै बाघको पदचाप, एकाबिहानै ब्युँझेर आँखा मिच्दै हेर्दा आँखाले भ्याएसम्म देखिने सुनजस्तै सुनौलो अनगिन्ती तोरीको फूलबाट तपतप चुहिने चाँदीजस्तै चम्कने शीतको थोपा, दिनभर नागबेली खहरे खोलाको किनारैकिनारको दौडाइ, साँझमा अँगेना वरिपरिको न्यानो बसाइलाई अर्थपूर्ण बनाउने नेप्टु हजुरबाको अकबर–वीरबलको कथा र अरू यस्ता धेरै सुन्दर पल सम्झनामा मात्रै रहने भयो।

एउटा बिदामा गाउँ जाँदा हाम्रो नजिकैका करिब हाम्रै उमेरका माहिला काकाको भर्खर व्रतबन्ध भएथ्यो। गुरुको आज्ञा अनुसार ११ वर्षका ती काकाले बिहान सूर्योदय हुनासाथ र बेलुका सूर्यास्तपहिले १०८ पटक गायत्री मन्त्र जप गर्नुपर्थ्यो। अरू वेला मुख समेत धुन आनाकानी गर्ने काका हामीलाई देखाउन पुस महिनाको चिसोमा समेत स्नान गरी धोती फेरेर अर्धनग्न शरीरमा जप गर्न अग्रसर हुन्थे। 

आँखा चिम्लिएर एकाग्र भई जप गरेजस्तो गर्ने तर बीचबीचमा कर्के आँखाले सुटुक्क हाम्रो प्रतिक्रिया पनि बुझ्दै गर्थे। त्यति वेला उनको आँखामा लुकेको पुरुष हुनुको गर्वभाव हामीलाई उनीप्रति ईर्ष्या जगाउन पर्याप्त हुन्थ्यो। गर्दै गरेको जपले उनलाई कत्तिको आनन्द दिन्थ्यो, त्यो हामीले थाहा पाएनौँ र बुझ्न पनि चाहेनौैँ। तर, उनीप्रति जागेको हाम्रो ईर्ष्याले दिएको चरम आनन्दाभाव उनको अनुहारबाट लुकाएर लुक्दैनथ्यो। यही उनको त्रिभुवन विजय, यही उनको गायत्री मन्त्र जपको फल थियो।

परापूर्व कालदेखि गायत्री मन्त्र गुरुले शिष्यलाई व्रतबन्ध वा कुनै यस्तै शुभ अवसर पारेर सुनाउने हिन्दू धर्मको परम्परा हो। यो मन्त्र महिलाले सुन्न हुन्न भन्ने मान्यताले धेरै वर्षसम्म महिलालाई गायत्री मन्त्र सुनाइएन। महिलाहरू मासिक धर्मचक्रमा अपवित्र मानिने हुनाले उनीहरू पवित्र गायत्री मन्त्र सुन्न योग्य भएनन्। यति मात्र होइन, महिलाले यो मन्त्र सुनेमा पागल हुन्छन् भन्नेसम्मको सामाजिक मान्यता हिन्दू धर्मावलम्बीको थियो।

बालमनोविज्ञान अचम्मको हुन्छ। जे गर्न हुन्न भन्यो, त्यही गर्न मन लाग्ने। परिणामको तत्क्षण वास्ता नहुने तर त्यो निषेधित कार्य गरिसक्नासाथ त्रसित पनि भइहाल्ने। हामीलाई पनि बालक काकालाई फकाई र साँच्चै भन्ने हो भने धम्काई फुत्काएको गायत्री मन्त्रका केही शब्दले कहीँ पागल त भइन्न भन्ने त्रासले धेरै वर्ष सताइरह्यो। थाहै भएन, कहिले बालक मनको त्यो त्रास समयको साथै अवसर पाउनासाथ उत्सुकतामा बदलिएछ।

एक शुभ समारोहमा हामीले पनि गायत्री मन्त्र सुन्ने अवसर पायौँ, त्यो दिनदेखि मनमा धेरै वर्ष लुकेको त्यो त्रास आनन्दमा रूपान्तरण भयो। हामीले संस्कृत भाषाको वैदिक गायत्री मन्त्रको प्रत्येक शब्दको अर्थ बुझ्यौँ र शुद्ध उच्चारण पनि गर्न सक्यौँ। कक्षा ८ मा संस्कृत विषय अनिवार्य अपनाउनुपर्दा पाखण्डी विषय आफूमाथि थोपर्ने अभिभावक र गुरूप्रतिको त्यो वितृष्णा गायत्री मन्त्र सुनेको क्षणबाटै अनुग्रहमा रूपान्तरण भयो।

जो–कोहीलाई संस्कृत शब्द शुद्ध उच्चारण गर्न र बुझ्न कठिन हुन्छ। प्रायः व्रतबन्ध कलिलै उमेरमा हुने हुँदा बालकले गायत्री मन्त्रको अर्थ बुझ्नु त परै सही मन्त्रोच्चारण समेत गर्न जान्दैनन्। यसैले यो अनुष्ठान औपचारिकता मात्र हुने सम्भावना छ। 

यस्तो मलाई यस कारणले लाग्यो- बालक काकाले हामीलाई सुटुक्क भनेका गायत्री मन्त्रका कतिपय शब्द हाम्रा गुरुले सुनाएका गायत्री मन्त्रको श्लोकमा फेला परेनन्। ती शब्द मूल शब्दका अपभ्रंशजस्ता लाग्थे। अथवा काकाले गलत शब्द  सम्प्रेषण गर्नुको तात्पर्य हाम्रो धम्काइको चतुर प्रतिकार पनि हुन सक्छ। 

आफ्नै उमेरका छोरीहरूलाई पागल हुनबाट बचाउने एउटा उपाय मात्र पनि हुन सक्छ। जेहोस्, गायत्री मन्त्रको व्याख्या हाम्रा गुरुले जे गरे, म त्यही स्मरण गर्दै छु। त्यो विशाल सागरमा यो सानो घैलोले उबाउँदा कति अटायो, त्यो कुरो आफैँ  महत्त्वपूर्ण छ।

गायत्री मन्त्र ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद को सार हो। गायत्री मन्त्रमा सूर्यदेवकोे प्रशंसा, ध्यान र प्रार्थना छ। सूर्यदेव प्रत्यक्ष ब्रह्मा, विष्णु र महेश्वर हुन्। सूर्यदेवबाट वायु, भूमि, जल, अग्नि र आकाश उत्पन्न हुन्छन्। 

गायत्री मन्त्र यिनै जीवनदाता, पालनकर्ता र मुक्तिदाता सूर्यदेवको सर्वोच्च दिव्य तेजको ध्यान हो। गायत्री मन्त्र हृदयको अन्धकार हटाई चेतना जागरणका लागि गरिने सर्वोच्च दिव्य तेज सूर्यदेवको प्रार्थना हो। गायत्री वैदिक मन्त्रभन्दा ठूलो प्रार्थना विश्वमा अरू कुनै छैन।

गायत्री मन्त्र सुनेदेखि गुरूपूर्णिमा र जन्म दिनमा हामी यही मन्त्रोच्चारण गर्दै गुरुको प्रशंसा, ध्यान र प्रार्थना गर्दै आएका छौँ। हामीलाई जसले गायत्री मन्त्र सुनायो, उही हाम्रा गुरु हुन्। महिलाले गायत्री मन्त्र सुन्न हुन्न भन्ने मान्यतालाई चुनौती दिँदै हाम्रा पिताले हाम्री आमा, हामी ६ छोरी र दुई बुहारीलाई आफ्नो ८४औँ सहश्र सूर्य दर्शनको शुभ दिन पारेर गायत्री मन्त्र सुनाए। वेद, उपनिषद, पुराण, गीताजस्ता महान् ग्रन्थको गहन अध्ययनबाट आत्मानुभूति प्राप्त हाम्रा पिता हाम्रो भौतिक शरीरको पालनकर्ता मात्र थिएनन्, उनी हाम्रो चेतना स्तरको उत्थानमा निरन्तर लागिरहने गुरु थिए। 

गुरु पिताले हामीलाई गायत्री मन्त्र सुनाउने औपचारिकता मात्र पूरा गरेनन्। प्रत्येक शब्दको सही उच्चारण र अर्थ बुझेर गरिने मन्त्रोच्चारणबाट प्राप्त हुने मनका तीन गुणको सन्तलुनसँग समेत परिचय गराए। सत्त्व (शान्त, सन्तलुन, सकारात्मक, समग्रता, शुद्धता, राजस (अहंकार, आत्मा केन्द्रित, आन्दोलित, गतिशीलता) र तामस (अज्ञानता, जडत्व, अशुद्धता, नकरात्मक, दुष्टता)– यी तीन गुणका सन्तुलनले मन सार्वभौम शान्त र आनन्दित हुन्छ।  

हाम्रा पिता परिवारका महिला वर्गलाई गायत्री मन्त्र सुनाएर, महिलालाई पुरुषसरह ज्ञानको हकदार र योग्य प्रमाणित गरी सम्पूर्ण महिला वर्गको सामाजिक प्रतिष्ठा स्थापित गर्ने क्रान्तिकारी गुरु थिए। महाभारतका अश्वस्थामाको निधारको रत्तरञ्जित टीकालाई केन्द्रबिन्दुमा राखेर ‘अश्वस्थामा काव्य’ रचना गरी, त्यही काव्य वाचन गर्दै सम्पूर्ण संसारलाई अणु बमको गलत प्रयोगबाट हुन सक्ने सम्भावित विनाशबाट बचाउन खबरदार गरिरहने विश्व शान्ति गुरु थिए उनी। 

वेदको मर्मलाई साहित्यको आत्मा बनाई, त्यही साहित्यको माध्यमबाट सर्वशक्तिमान, अनन्त, सर्वव्यापी, हृदयको अज्ञानता हटाएर ज्ञानको ज्योति जागृत गराई मानव जातिलाई सत्यको बाटोमा हिँड्न सिकाउने वैदिक गुरु थिए उनी।

यी जगत् कल्याणकारी साहित्य गुरु, हाम्रा गुरु पिता यस संसारबाट अस्त भए। गुरु पिताको ब्रह्म निर्वाण यात्रामा हामी गायत्री मन्त्र उच्चारण गर्दै ब्रह्मनालसम्म उनको साथै रह्यौँ। वेदीमा अग्नि देवताले अँगालेपश्चात् उनको भौतिक शरीर हामीबाट अलग्गियो। त्यो अग्निबाट एउटा ज्योति पुञ्ज उत्पन्न भई आकाशतिर लाग्यो। 

त्यसै दिनदेखि त्यो विशाल आकाशमा एउटा चहकिलो तारा थपियो। त्यसै दिनदेखि हामी त्यो ज्योतिको महिमा, ध्यान र प्रार्थना गर्छौैं। त्यसै दिनदेखि त्यही ज्योतिले हाम्रो हृदय अखण्ड आलोकित छ। 

 (लेखक राष्ट्रकवि माधव घिमिरेपुत्री हुन् ।)

प्रकाशित: ९ आश्विन २०७८ ०२:१७ शनिबार

अक्षर