लता केसी
दोधार मनस्थितिमा उनी एकोरिरहेकी थिइन्। के गरूँ, के नगरूँ ? दिऊँ भने भरे थाहा पाएसी बसिसक्नु हुन्न। लामै भाषण सुन्नुपर्छ फेरि। नदिऊँ भने छोरा चकलेट भनेर रोएर खपिसक्नु भएन। बुबा दन्त विशेषज्ञ भए भनेर बच्चालाई रोक्न कहाँ सकिन्छ र ? आ... बालखा त हो, बाबालाई नभन् है भन्दै उनले सानो छोरालाई चकलेट दिइन्। ऊ मक्ख पर्यो। खाएर दिनभरि सुत्यो। मौका छोपेर उनी घरधन्दामा अलमलिन्।
‘नकनक’ ढोकामा आवाज आयो। ढोका खोलिन्। अनौठो मानिन् र सोधिन्, ‘सञ्चो भएन कि? समयभन्दा छिटो आउनुभयो नि?’
कारण नबताई नै उनले छोरा खै भनेर सोधे। सुतेको थाहा पाएपछि दुई दम्पती कुरा गर्न थाले। साथीको छोराको जन्मदिनमा जानुपर्ने भयो सपरिवार। छिटै तयार होऊ।
आवाज सुनेर छोरा उठ्यो। बाबा देखेर ऊ खुसी भयो। उठेर औंलो हाल्न पुग्यो। छेउमा एउटा प्याकेट देख्यो।्उत्साहित हुँदै सोध्यो, ‘आहा चकलेट, मलाई हो बाबा?’
उनले प्याकेट लुकाउँदै भने,‘होइन बाबु, मेरो ज्ञानी छोराले चकलेट खाँदैन नि, होइन र ? यो त रवि अंकलको छोराको जन्मदिनमा उपहार दिन ल्याएको नि। ल, तिमी पनि ममीसँगै तयार होऊ। हामी सबै जाने है।’
उसले मुख आँ .. गरेर देखाउँदै भन्यो, ‘बाबा, अघि त मैले चकलेट खाएर सुतेको, दाँत दुखेन त!’
प्रकाशित: ३१ भाद्र २०७८ ०४:४० बिहीबार