खबरदार! कोही नबोल्नू !
लोकतान्त्रिक सरकार बनेको छ,
केही नबोल्नू,
मुखमा पट्टि बाँध्नू।
जयसिंह धामी मारिएका हैनन्,
केही नहेर्नू,
भारत रिसाउँछ फेरि,
त्यसैले आँखामा पट्टी लगाउनू।
एमसीसी को विरोध नगर्नू,
नत्र जेलमा कोचिदिने हो फेरि,
त्यसैले,
खबरदार ! कोही नबोल्नु।
खबरदार ! केही नबोल्नू।
– रुद्र समीर
हेटौंडाको वन विज्ञान संकायमा अध्ययनरत समीरको कविता अहिले सामाजिक सञ्जालमा शेयर गर्ने क्रम बढ्दो छ। उनले अहिलेको राजनीतिक अवस्थालाई कवितामार्फत् उतारेका कारण खाली धर्के पानामा लेखेको कविता मन पराएर सेयर गर्न थालेका हुन्।
उनको कविता मन पराउनुको सिधा अर्थ जनता लोकतन्त्रको पक्षमा छ, एमसीसीको विपक्षमा छ, सीमा समस्या समाधानको पक्षमा छ भन्ने बुझ्न त्यति गाह्रो छैन। उनले कवितामा भनेजस्तै अवस्था बन्दै गएको आभाष धेरैले गर्न थालेका छन्। नागरिकको अभिव्यक्ति स्वतन्त्रता वा वाक् स्वतन्त्रतामाथि सत्ताको टेप लाग्ने लक्षण देखिँदैछ। कारण, सरकार कुटनीतिक भाषा प्रयोग गरी ‘महाकालीमा मारिएका जयसिंह धामी’ को पक्षमा नबोल्न धम्याइरहेको छ, लिखित सूचना जारी गरी ।
त्यो वास्तवमा सूचना नभई अप्रत्यक्ष उर्दी हो, त्यो उर्दीको अर्थभित्र लोकतान्त्रिक भनिएको सरकारको नियत झल्किएको छ। अहिलेको जल्दोबल्दो विषय भनेको जयसिंह धामीको घटना प्रकरण मात्र हैन, एमसीसी पनि उत्तिकै महत्त्वको विषय हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहणसँगै एमसीसी पास गराउने विषयमा उब्जिएका आशंकालाई कम गर्न कुनै निर्णय गरेको छैन। यसको विपरीत सरकार र सरकार पक्षका व्यक्तिहरू एमसीसीको प्रशंसा गरिरहेका छन्।
एमसीसीको विषयबारे प्रष्ट बनाउनुको सट्टा एमसीसीको विरोधमा सडकमा उत्रिएकाहरूलाई राजनीतिक पूर्वाग्रहको दृष्टिको डण्डा लगाउँछ। एमसीसीबारेमा स्वतस्फूर्त रूपमा आएका अभिव्यक्तिमा सरकार आतंकको बारुद देख्छ। यसैले त्यसलाई मत्थर बनाउन फेरि आदेश जारी गर्छ–‘हालैका दिनमा मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तीलाई लक्षित गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सञ्चार माध्मम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरूप्रति नेपाल सरकारको गम्भीर ध्यानार्कषण भएको छ। विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न, नगराउन मन्त्रालय अनुरोध गर्दछ। त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानूनबमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ।’
यसरी सरकार लिखित रूपमै तर्साउँछ। तर्साएर सरकार सञ्चालन गर्ने सोचमा पुगेको सरकार विपक्षीलाई त परै जाओस्, आफ्नै पार्टीकालाई समेत बोल्न सेन्सर लगाउँछ। यसको पछिल्लो उदाहरण प्रधानमन्त्री देउवाले भक्तपुरको कटुञ्जेमा आयोजित कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई गरेको व्यवहार बनेको छ।
सरकार जतिजति निष्ठुर र निरंकुश बन्छ, त्यसको मिति त्यति छिटो नजिकिन्छ, इतिहास यही छ। यसैले सरकारले जनताको भावनालाई बुझ्नै पर्छ। जनताको मुख थुन्दैमा, मुखमा पट्टी लगाइदिँदैमा विचारहरू अंकुराउन छोड्दैन भन्ने कुरा सरकारले हेक्का राख्नुपर्छ। स्प्रिङलाई जति बढी दबायो, फलामलाई जति बढी पिट्यो, त्यति नै त्यसको शक्ति बढ्ने हो।
लोकतान्त्रिक सरकारको छवि बनाएको सरकारले लोकतान्त्रिक सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्छ। जनतालाई खुसी बनाए मात्र छिमेकी खुसी हुन्छन्, मित्रराष्ट्र खुसी हुन्छ, यसलाई नर्बिसँदा जाती हुन्छ। समीरको अभिव्यक्ति यही कुरा मागिरहेछ। सरकार समीर जन्माउनतिर नलाग्दा उत्तम हुन्छ कि?
प्रकाशित: २० भाद्र २०७८ ०८:२३ आइतबार