रेणु अधिकरी मौनता
भुईंभरि लेख्दै कोर्दै च्यात्दै फालिएका कागजका टुक्राहरू छारिएका छन्। त्यही भुईको गलैंचामा वरिपरि किताब, कापी, कलमको पसल नै थापेर बसेजस्तो गरे घरी यो पल्टाउने, घरी त्यो पल्टाउने, घरी लेख्ने, घरी पढ्ने, घरी फाइलमा कुन्नि के पो हो टाँस्ने। घरी ल्यापटपमा खोई केके टाइप गर्ने गर्दै दिनको चार बजिसक्यो तैपनि उसको चित्त बुझ्न सकेको छैन। कोठाको भित्तामा सानो स्वरले टिभी पनि एक्लै भुतभुताइरहेछ। न त त्यो टिभि हेर्ने फुर्सद छ न त बन्द गर्ने नै फुर्सद् छ उसलाई।
सपना, हो सपना हो ऊ ! यो धर्तीमा जन्म लिएर आउनु पनि सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ उसलाई। आफ्नो नाम र जीवन उस्तैउस्तै। कुन कलमले कुन कापीमा के लेखौ भनेर दोधारमा परिरहँदा सबै कलम तँछाडमछाड गर्दै ‘पहिले मेरो कथा लेखिदेऊ, हैन पहिले मेरो कथा लेखिदेऊ’ भन्दै जिस्काएजस्तो। कापीहरू डराएर टाढाटाढा भाग्न खोजेझैं लाग्छ। व्यथा पोखेर ‘मलाई नच्यातिदेऊ’ भनेझैं लाग्छ।
किताबहरूले कुनै सारतत्व नदिएजस्तो मनमस्तिष्कमा शून्यता छाएको महसुस हुन्छ। आफू असफल भएजस्तो। चाहेको जस्तो आफ्नो अन्तर आत्माबाट केही कुरा झिक्न नसकेर छटपटाइरहेकी हुन्छे सपना प्राय त्यो कोठाभित्र।
ऊ आफूलाई असफल लेखिकाको सूचीमा दर्ता गर्छे। निराश भएर ती कलम,कापी र किताबहरू सबै सोरेर बोरामा पोको पारिदिन्छे। आफूलाई फ्रेस बनाउन त्यहींबाट जुरुक्क उठेर नुहाइधुवाइ गरी एकघन्टा बाहिरको शीतल हावामा घुमेर घर आइपुग्छे अनि फेरि ओछ्यानमा पल्टेर मोबाइल खोल्छे म्यासेन्जरमा म्यासेज आएको हुन्छ। तपाईंलाई हाम्रो पत्रिकाले काव्य सम्मान दिने घोषण गरेको छ। हाम्रो तर्फबाट यहाँलाई हार्दिक बधाई छ!
प्रकाशित: ३१ श्रावण २०७८ ०८:१९ आइतबार