१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

प्रेग्नेन्सी रिपोर्ट

लघुकथा

आचार्य प्रभा 

 

–“हाम्री कान्छी जाँगरिली छे। मिठो पकाएर खुवाउँछे है ?” भन्दै पिठ्यूँमा धाप मार्दै जनार्दन साब आँखा कर्काउँदै बोले।

कान्छी अलिक हच्किएझैं गरेर पर सरी। त्यहीबेला साहेबनीले “कान्छी पानीले एक ग्लास” भनेर आदेश दिइन्।

घरमा निकै पाहुनाहरू आएका थिए। कान्छीलाई भ्याईनभियाई थियो।

एकदिन अचानक गाउँमा हल्ला चल्यो। कान्छीले आत्महत्या गर्ने प्रयास गरी रे भनेर। सबैजना उक्त घरमा भेला भए। कान्छीलाई केरकार गर्न थाले। निकैबेर उ मौन बनी।

ऊ बोल्दै नबोलेपछि साहेबनीले कर्किएर सोध्न थालिन्, “भन्, तँलाई के त्यस्तो पर्यो र झुन्डिएर मर्ने कोसिस गरिस् ? तैंले त हामीलाई अप्ठ्यारोमा पार्ने इच्छा गरिछस्। तँलाई चित्त नबुझेको भए भन्दा हुन्थ्यो नि। पैसा थोर भएकोथ्यो कि?  हामीले खान–लाउन दिएका थिएनौं कि ? हामीलाई अपगालमा पार्ने तेरो नियत हो कि ? भन् के हो ?”

कान्छीले एकपल्ट सबैको अनुहार हेरेर भन्न थाली, “मलाई पैसा थोर भएको होइन। खान–लाउन नदिएको पनि होइन। म त तपाईहरूकोमा काम गर्न आएकी हुँ। तपाईहरूको वचन अनुसार आफ्नै छोरी समान गर्ने। पछि बिहेबारी पनि गरिदिने भन्ने सर्तमा तर मलाई त यहाँहरूले घरको काम लाउने मात्र गर्नु भएन।” यति भनेर ऊ रोकिई।

साहेबनी जंगिदै कराउन थालिन् –“ए नकच्चरी के गर्न लायौं ?अरू तँलाई। पालेको चरीले आँखा ठुङ्ग्छ भनेको यही हो। छोरीको दर्जामा राखेको, अझ पलापिएर यतिसम्म भन्ने आँट पो गरी है ? जाइहाल यहाँ बस्ने काम छैन। तेरो हिसाब गरिदिइहाल्छु।”

“पख्नुहोस्, मेरो हिसाब यहाँले गर्नु पर्दैन। यो कागजले गर्छ।’ भन्दै कान्छीले कागज देखाई।

कागजमा लेखिएको थियो– प्रेग्नेन्सी रिपोर्ट पोजेटिभ। सबै चकित भए। साहेब–साहेबनी दुवैको मुहारमा रातो रङ्ग सल्बलायो। जनार्दन सा’ब लुसुक्क उठेर निस्कनै लागेका थिए। कान्छीले छेकारो काटेर रोक्दै भनी, “ यसको जिम्मेवारी म लिन्छु। तँ निर्धक्क भएस्। भन्नुभा होइन ?”

प्रकाशित: २३ श्रावण २०७८ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App