विष्णु भण्डारी आचार्य
छोराछोरीले पढिदिएनन्। पढिदिए त खर्च गर्न लोभ गरिन्थेन भन्ने धेरै थिए। आफूलाई भने पढाइ कमजोर भए पनि त्यति चिन्ता थिएन, हातमुख जोर्न धौधौ पर्ने भएपछि ठूलो इच्छा पलाउँदो रहेनछ मनमा।
छोरो पढाइमा तिक्खर निस्किदियो। प्लस टुमा पनि नब्बे पर्सेन्ट कटायो। स्कुलका सरहरूले छोरालाई एमबिबिएस पढाउने सल्लाह दिए ।
इन्ट्रान्समा पनि राम्रो अंक ल्याइदियो। नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहारझैँ भइदियो।अरू भए चार बित्ता उफ्रिन्थे हुन्।
नाम त निकाल्यो तर फिप्टी पर्सेन्ट डोनेसनम , बीस लाख त आफूले बुझाउनुपर्ने भयो। कतै ऋण पाइन्छ कि, आफन्तकामा समस्या चुहाएँ।
कसैले मुन्टो बटारे भने कसैले बोलीले सटारे।
रित्तो हात रित्तो मन घर फर्किन बाध्य भएँ। बीस लाख जम्मा गर्नु थियो। रातभरि मनमा कुरा दौडेर निन्द्रा परेन। जीवनभरिको कमाइले त्यही एउटा चार कोठे घर मरीतरी जोडिएको थियो।
सस्तो दाममा बेचिदिएँ र बुझाएँ। भाडामा बस्न थालेँ।
दुःखैले पढ्यो छोरो , निकै मेहनत गरेछ। स्कलरसीप पाएर एमडिका लागि अमेरिका जाने भएछ सुनायो। उसकी आमा र मैले पहिलेका जम्मै दुख बिर्सियौँ।
आफन्तले बधाई बर्साउन थाले।
बोलीले सटार्ने र मुन्टो बटार्ने जम्मै आफन्तले बधाई दिँदै भने,“बधाई छ।”
मैले भने– अँ स्कलरसीप पाएर मात्रै हो नत्र हाम्रो उपाय थिएन।
सालाले भन्यो, “हैन के भन्नुभाको भिनाजु , एउटा भ’ को भान्जालाई हामी नै खर्च गरेर पठाउथ्यौँ नि।”
भाइले भन्यो, “दाइ, खर्चबर्चको अभाव भए हामीलाई भन्नुहोला।”
– बेलबारी, मोरङ।
प्रकाशित: २० श्रावण २०७८ ०८:५५ बुधबार