परशुराम पराशर
साइँला बढाबा रवाफिला व्यक्ति थिए। उनका दुइटै छोराहरू अमेरिकामा बस्छन्। हाम्रा बुबालाई उनले भन्ने गरेका थिए– “हेर् ठुले, छोरा त मेराजस्ता पो हुनुपर्छ। ठुलो देश भनेको ठुलै हो। त्यहाँको पैसा पनि ठुलो। तिमेर्का छोराछोरीले यता बसेर माखो मारेका छैनन्। पठाइदेओ अलि ठुलै देसाँ। यस्ता देसाँ बस्नेले के पो गर्लान् र ! हेर तिमेर्को गति। जीवन चलाउन पैसो चाहिन्छ पैसो।” उनी नोटका बिटा देखाउँदै भन्थे।
उनका यस्ता कुरा काट्ने हिम्मत कसैमा पनि थिएन। हरेक गफमा उनी नै अगाडि हुन्थे। उनका लागि मानसम्मान पनि बेग्लै हुन्थ्यो। उनको लुवाइखुवाइ पनि रवाफिलो नै थियो। घर राम्रै खालको बनाएका थिए।
बढेमा बाँचुन्जेल उनलाई केही भएको थिएन। उहाँको मृत्युपछि भने निकै खस्केका देखिन्छन्। अब भने एक्लो महसुस गर्न थालेका जस्तो लाग्छ। लगभग असीको हाराहारीमा पनि पुगेका होलान्। बुढो शरीर ओछ्यान पर्दा तातोपानी खुवाउने छोरा–नाति छेउछाउ नहुँदा आँसु चुहाउँदै भन्न थालेका छन्, “जीवन चलाउन पैसा होइन परिवार चाहिने रहेछ। मेरा छोराहरू अमेरिका पठाएर गल्ती गरेछु। उनीहरू कर्तव्यमुखीभन्दा पैसामुखी बनेका छन्। बोलाउँदा आउँदै आउँदैनन्। आफू जान सक्दिनँ। पहिले पहिले म आफूलाई निकै भाग्यमानी ठान्थेँ तर भाग्यमानी त तिमीहरू पो रहेछौ। तिमेर्का छोराछोरी तिमेरु नमरुन्जेल साथमै हुने भए । सम्पत्ति साथमा हुनेभन्दा छोराछोरी साथमा हुने जहिल्यै भाग्यमानी हुन्छन्।”
प्रकाशित: २० श्रावण २०७८ ०४:३३ बुधबार