१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

तारा केसीका दुई बालकविता

बालकविता

तारा केसी

 

बाबा भन्नुहुन्छ डाक्टर बन्नुपर्छ,

आमा भन्नुहुन्छ इन्जिनियर बन्।

सेवा गरौ कि म निर्माण गरौ कि ?

नयाँ नेपाल समृद्धिको खाका कोरौ कि।

 

हजुरबाले भन्नुहुन्छ बाँझो भया खेती,

प्राविधिक बनेर म कृषि गर्ने हो कि ।

भन्नुस् मेरी हजुरआमा के पो गरौ मैले ?

यो देशको मुहार फेर्न पढ् नाति पहिले।

 

दाइ – दिदी धेरै पढे विदेशतिर छिरे,

पढाइ–लेखाइ स्वदेशको सीप अन्तै छरे।

भन्छन् उल्टै मलाई पनि भिसा पठाउँछु,

राम्रोसँग पढ्नु तिमी उतै बोलाउँछु।

 

कस्तो होला दाइ – दिदी बस्ने शहर,

मलाई पनि लागेको छ हेर्ने रहर।  

झिलिमिली स्वर्गजस्तो नेपाल बनाउँछु,

यो देशको लगानी म यतै लगाउँछु।

            २) परी

 

नीलगिरि क्षितिजबाट परी आइन् हेर,

आऊ साथी आँगनीमा खेलौं केही बेर।

 

सुनकेस्रा केश उनको फुर्र उड्न थाल्यो,

लालीमय ओठ पनि मन्द खुल्न थाल्यो।

 

हुस्सुसँग लुकामारी खेल्दै आकी होलिन्,

उघारेर लाजको घुम्टो कति मिठो।

 

आऊ साथी हामी पनि उनीसँगै नाँचौ,

भुलाएर उन्लाई हामी सँगसँगै राखौं।

 

लुकामारी खेलौं हामी अनि छोइडुम,

गोलो घेरा लगाएर अब उन्लाई घुम।

 

झेली गर्न पाइँदैन हाम्रो नियम रुल,

सँगै बस हामीसँग जाने कुरा भुल।

कहाँबाट आयौ भन के हो तिम्रो नाम,

कति राम्री रहिछौ नि कस्तो होला गाम।

प्रकाशित: १४ श्रावण २०७८ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App