त्रिपुरा खरेल
बूढीको नाम ,जात,थर ‘एकल आमा’। तिनी बिमाताचाहिँ पक्कै होइनन्।
“आमा मेरो अफिस जानु छ भात पस्किनुस्।” छोरा ध्वनि रन्कियो।
“हुन्छ।” क्रियाको नकारात्मक पक्षमा तिनी छैनन्। बिहे भएपछि सकारात्मक मात्र जान्दछिन्।
“सासू आमा नातिनातिना खाटबाट लड्लान्।” आरी रेटेजस्तो बुहारी स्वर गुन्जियो।
“आमा, आज खाना मीठो छैन् , बाबुआमाले पकाउन सिकाएनन् कि क्या हो ?”
आमाको अगाडि पितृ अनुहार देखापरे।
“तिम्री आमा जहिले बिमारीको बहानाबाजीमा ओछ्यान तताउने त हुन्। खाना मीठो चाहिन्छ ,ढङ्ग मरु। उता मेरी आमाको भान्सामा चौरासी व्यञ्जन पाक्छ।”
“हुन्छ, भोलिदेखि मीठो पकाउँछु।” आवाज लर्बरियो।
धेरै अघिदेखि रोगाएको शरीरले ओखती पाएको थिएन। कर्णमा शंख फुकेको आवाज घन्किदैथ्यो।
“सुन्नुस् त! रातिका लागि भात पकाउनु, लुगा धुनु, बच्चालाई समयमा खाना खुवाउनु, दिसापिसाब गराउनु, हामी सिनेमा जान्छौं।”
“हुन्छ।” भुँडीबाट मुसा कुदेको आवाजले बोल्यो।
“... ऐया मरे। बुहारीको चुच्चो जुत्ताले तिनको खुट्टा टेक्यो। बिमारीबाट जबर्जस्ती ओछ्यानबाट घिसारेर निकालेकी आमा भुईंमा बजारिन्।
नक्कल पारेकी नाइँ ! उसको बूढाले जोडेको सम्पत्ति लुकाएर राखेकी छ। मेरो लोग्नेले पसिना बगाएको सम्पतिको ओखती खान लडेकी।”
स्वकीया आमाले सीत्कार निकाल्दै धमिलो आँखाले रित्तो कन्तुर हेरिन्।
छोरो किच्च हाँसेर जोइटिङ्ग्रेको अर्थ बुझायो।
“हुन्छ।” भुईं लडेको अस्थिपन्जरबाट अन्तिम आवाज निस्कियो।
आमाको लास अँगालेर रोएको आवाजले छिमेकीहरू भेला भए।
“मेरी आमा मलाई छोडेर किन गयौ? मलाई पनि आफूसँगै लिएर जाऊ।”
“मेरी सासू आमा, अब यो घर शून्य भयो। हामीलाई टुहुरा– टुहुरी पारेर किन गयौ। अनायास बुहारी जमिनमा पछारिइन्।
छिमेकीहरूले तिनीहरूको आँखाबाट बगेको भल सुकाउन सकेनन्। छेउमा बसेर चार वर्षे नाति भिक्सको बट्टा खेलाउँदै थियो। नातिनी मुतले भिजेर सिकसिको मानेर रुँदै थिई।
प्रकाशित: १४ श्रावण २०७८ ०२:२२ बिहीबार