पुष्पा नेपाल (सुवेदी )
आज धेरै गलिएजस्तो छ,जीउ पनि करकर खाएर टाउको भारी भएको छ। बेलुकीको खाना खाँदै गर्दा धनबहादुरले कमलालाई सुनायो। दिनभरि आली लगाएर आउनुभाको, धेरै थाक्नु भएर होला । अब आराम गर्नुहोस्। बिहानसम्म ठिक हुन्छ होला भन्दै कमला धन्दातिर लागि।
तर बिहान उसलाई झन् हनहनी ज्वरो आएर ओछ्यानबाटै उठ्न सकेन। बेसी खेतमा हिल्याउने मेलो छ। घरको मुली नै थला परेपछि कमलालाई पर्नु पिर पर्यो। हुर्केको छोरो पनि सदरमुकाममा विदेशी भाषा परीक्षाका लागि पढ्दैछ। जसोतसो अर्मपर्म गरेरै भए पनि रोपाइँ उकासी कमलाले तर धनबहादुर निको हुने छाँट भने देखिएन। ओछ्यान्मै बिलाउन लागिसक्यो। कमलाले जान्नेलाई देखाउँदा खोलाको भूत लागेको भनेर कालो पोथी पनि मन्साए तर पनि केही उपाय लागेन।
एकबिहान खाना खाँदै गर्दा ५ कक्षामा पढ्ने छोरीले ‘बालाई बरु अस्पताल लैजाऊ। भूतसुत केही हुन्न रे स्कूलमा सरले भन्नुभाको’ भनेपछि कमलाको होस खुल्यो र अस्पताल लैजाने तयारी गरी। अस्पताल त लाने तर पैसा खै? उसले करेसा जोडिएको जेठाजुदेखि सारा आफन्तकहाँ गुहार मागी तर कसैले सहयोग गरेनन् बरु घरमै चिराइतो र निमको झोल खुवाएर ज्वरो ठिक पार्न सकिन्छ भन्दै डाक्टरीपन देखाए।
केही सीप नलागेपछि गोठको १० लिटर दूध दिने लैनो गाई धितोमा राखेर धनबहादुरलाई उपचार गर्न सदरमुकामतिर लागी। डाक्टरले जाँचेर अरू ढिलो भएको भए बचाउन गा¥हो हुन्थ्यो भन्दै कालाज्वर भएको सुनाए र उपचार गर्न लागे।
जसोतसो वर्खा सकियो। कमलाको स्याहारले धनबहादुर पनि तङ्ग्रियो। दशैँ लाग्दा–नलाग्दै छोराले भाषा परीक्षा पास गरेर कोरिया जान पाउने खबरले दुवै दम्पती खुशी भए। दशैँपछाडि छोराको कोरिया जान समय एक हप्ता अगाडिदेखि नै घरमा आफन्तहरू एकपछि अर्को बहाना बनाउँदै आउन लागे। कोहीले त धनबहादुरको साख्खै आफन्त हुँ सम्म भन्न भ्याए। कमला भने २ महिना अगाडि लोग्ने ओछ्यान पर्दा फर्केर नहेर्ने आफन्त भनाउँदाहरूको चेपारोसँग मनमनै कुडिँदै थिई।
प्रकाशित: १३ श्रावण २०७८ ०८:४८ बुधबार