धनचन्द्र राई
म चार्ल्स टावरमाथि चढेर
स्वयम्भूको आँखाँबाट
मेरो देश नियालिरहेछु
सेतो बादलको बिचमा
आकाश छोएर उभिएको
त्यो सगरमाथाको उचाइ
मैले छर्लङ्गै देखेँ
त्योभन्दा माथि मेरो टोपी देखेँ
त्योभन्दा माथि घाम र जून देखेँ
हेर्दै जाँदा
अनेक – अनेक देखेँ
पारुहाङका सहेलीजस्तै
हिँउको फेटा बाँधेर लहरै बसेका हिमालहरू देखेँ
सुम्निमाका कोसेलीजस्तै
पmेदीमा फुलेका गुराँस र चिमालहरू देखेँ
वाह !
हिमाल अनि नेपाल
म अनि आमा
पर्याय बाँचिरहेका छौँ।
हिउँ ओछ्याएर सुते पनि
न्यानो लाग्ने यी हिमाली काखहरू
ग्वाली र हवेलीहरू भत्के पनि
प्यारो लाग्ने यी भिराला पाखाहरू
कदम – कदममा पोखिएको पसीनाले लुपुक्क भिजेका
यी मलिला गराहरू
खेतका आलीहरूमा,
बिरुवाका डालीहरूमा नाचिरहेका
यी भमरा र चराहरू
यी सप्पै –सप्पै मेरा हिमायती हुन्
हिमायती मात्र होइनन्
मेरा श्री
मेरा सम्पतिहरू हुन्।
हिँउको शहर छोडेर
युग–युगदेखि बगिरहेका त्रिशुली र कर्णालीहरूमा
पराईसँग साइनो जोडेर
सिमानामा बगिरहेका मेची र कालीहरूमा
शुद्ध पानी मात्रै बग्दैन
मेरा हजार पुस्तादेखि जिन्दगानी बगिरहेको छ।
मेरो नसा–नसामा बगिरहेको तातो रगत
काली र कर्णालीहरूमा बगिरहेको चिसो पानी
सम्बन्ध उस्तैउस्तै छ
पmरक यति हो
पानी चिसो भएर बगिरह्यो
रगत तातो भएर बगिरह्यो।
हाम्रा अटुट सम्बन्ध
हाम्रा गाढा प्रेम
न हिमालले छेक्यो
न पर्खालले रोक्यो
मेरो मनजस्तै सङ्लो बगिरहेको
काली र कर्णालीहरूमा मैले पनि मन मिसाएर
तलसम्म बगिरहेँ,
निकै टाढाको सपनाहरू देखिरहेँ
यही पानीमा मिसिएर बग्दै–बग्दै
महासागरको गहिराइमा पुगूँ
बरु,
बङ्गालको खाडीमा खसूँ,
फिकर छैन
या त,
बर्मुडा टैं«गलमा फसूँ फिकर छैन
हरेक हिँउखोलीहरूको
महासागर पुग्ने सपना हुन्छ
हरेक चोलीहरूको
गहिराइमा पुग्ने सपना हुन्छ।
जब सपनाको भ्रमबाट फर्केर आएँ
चाल्र्स टावरबाट तलसम्म हेर्दा
तुवाँलोभित्र सप्तकोसी धमिलो देखेँ
दुई किनारका बस्तीहरू धमिलो देखेँ
साँच्चै,
सप्तकोसीको पानी धमिलो हो?
या त तुवाँलो नै धमिलो हो?
मलाई शंका छ,
दक्षिणबाट बिस्तारै–बिस्तारै
बगिरहेको यी तुवाँलोले
धेरै फाँटहरू छोपिसकेको छ
धेरै बस्तीहरू छोपिसकेको छ
यी भयङ्कर तुवाँलोभित्र
सङ्लो कोसीहरू छोपिएका छन्
बफादर, निर्दोषीहरू छोपिएका छन्।
बगंैचाका पालुवाहरू
करेसाका बालुवाहरू छोपिसकेका छन्
मानौं,
यहाँ मध्यरात छ
केही टुकीहरूले
उज्यालो खोजिरहेछ।
हुन सक्छ,
ती किनारका बस्तीहरूले
कुहिरामा हराएको कागजस्तै
मुस्किल–मुस्किलले
सुर खोजिरहेका छन्
हुन सक्छ,
ती हरिया फाँटहरूले
स्वाधिनताको ऐनामा
आफ्नो अनुहार खोजिरहेका छन्
हुन सक्छ,
ती बालुवा र पालुवाहरूले
आफ्नै राष्ट्रियता खोजिरहेका छन्
या त सिधै भनौं,
यी सारा जीवनहरूले
पैतृक अंशभित्र
आफ्नो साँध – सिमाना खोजिरहेछन्
म चाल्र्स टावरमाथि चढेर
स्वयम्भूको आँखाँबाट
मेरो देश नियालिरहेछु।
असार ३०, २०७८ धरान।
प्रकाशित: १३ श्रावण २०७८ ०४:५५ बुधबार