कृष्णदेव रिमाल
१)
साथमै कृष्ण छ क्रीडा नगर्ने कुरै भएन,
छातीमै वृन्दावन छ अन्त जाने सुरै भएन।
कंशहरू मुर्मुरिइरहून् त्यस्ता हावाले छुँदैन,
तिमी मुस्कुराए प्रेम प्याला अपुरै भएन।
२)
गर्मीको राज बैशाखलाई,
जाडोको पीडा माघलाई।
सोधिरहेछन् गोठालाहरू,
बाख्राको आयु बाघलाई।
३)
अलिकति रश्मि फुत्काएर आएको छु ,
तृष्णामा मारियाना ट्रेन्च धाएको छु।
जून र समुन्द्र प्रदत्त यी उपहारहरू,
तिमीलाई चढाउने कसम खाएको छु।
४)
मैले धर्ती हेरें तिम्रो समाधिमा फूल फुलेछ,
तृष्णामा रहेछु म मेरो चिहानमा मूल फुटेछ।
मुस्कुराएँ म हाम्रो मायाको चिनो नजिकै बसेर,
त्यही मूलको पानी उही फूलमा हाल्न जुटेछ।
५)
शहर बस्ने छोरो ज्यान थाक्यो भन्छ,
मुग्लान पस्ने छोरो मन पाक्यो भन्छ।
हेरी ल्याउँदा बलियो त मै पो रहेछु,
किसानी मन असारले डाक्यो भन्छ।
प्रकाशित: १३ श्रावण २०७८ ०४:२९ बुधबार