खगेन्द्र बस्याल
उनी दिदीलाई भेट्न दैलातुङ्ग फाँट गएका थिए। नयाँ भित्रिएकी भान्जी बुहारी कस्ती परिछन् बुझ्ने उनको भित्री भावना थियोे।
त्यहाँ गएदेखि ती भान्जी बुहारीले देखाएको शिष्टताले उनी साह्रै खुशी भए। असल संस्कारमा हुर्किएको लक्षण पलपलको क्रियाकलापले देखाइरहेको थियो। सासू आमाले जे भने पनि नरिसाउने बानी रहेछ।
तर उनकी दिदी बुहारीदेखि सन्तुष्ट थिइनन् । जे गरे पनि जस नदिने र पछाडिबाट हातेले सरापिरहेको देखियो। उनी बाहिर कतै निस्केको बेला भानिजलाई सोधे– किन हो तपाईंको मम्मीले नयाँ भित्रिएकी बुहारीलाई देखिनसहेको।
उनले भने – मामा, भाउजू साक्षात् देवी हुनुहुँदो रहेछ तर मम्मीले आफ्नो पालामा सासूबाट धेरै हप्की खाएकाले त्यही सिक्नुभएको हो भने अर्को उहाँले सोचेजति दाइजो नआएको कारण त्यही रिस व्यवहारमा खनिएको मात्रै हो।
दिदी आइसकेपछि उनले भने –दिदी म यहाँ पीडा पोखेर हलुङ्गो हुनु आएको हुँ। आमाले स्वर्गको बाटो लिइसक्नुभयो। अब हजुर नै आमा समान हुनुभयो । मेरो दुः ख पोख्ने ठाउँ हजुरबाहेक अन्त छैन।
के भयो भाइ ? उनले गम्भीर हुँदै भनिन्।
म समय अनुसार चल्न नसकेर साह्रै दुः ख पाएँ। दाइजोको आस गर्दा मलाई सधैं बुहारीले केही नदेखेका मान्छे भनिरहने, जोसंग पनि माइतीको धाक देखाइरहने हुँदा मेरो घरको सौन्दर्य नै गुमेको छ। अब म कान्छो छोराको विवाह गर्दा दाइजोको नाममा चम्चा पनि लिन्न र छुट्टिएपछि उनीहरू संगै बस्छु। बेलामै दूरदृष्टि लिनुपर्ने रहेछ दिदी!
प्रकाशित: १० श्रावण २०७८ ०५:३८ आइतबार