अम्बिका खरेल उप्रेती
कक्षामा रमा मिस आउनुभो र आफ्नो पढाउने विषयलाई यसरी सुरु गर्नुभो–‘समाजमा विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। बाहुन,छेत्री,कामी,दमाई सार्की , नेवार,राई ,लिम्बू तराईमा थारु,राजवंशी ,सतार आदि मानिस बस्छन्। ती मानिसहरूले बोल्ने भाषा पनि जातपिच्छे फरक हुन्छन्। प्राय नेपाली भाषा सबैले बोल्छन्। जातका दृष्टिले सबै मानिस समान हुन्छन्।
जातका आधारमा कसैलाई भेदभाव गर्नुहुँदैन। समाज र राष्ट्रका लागि हित हुने काम गर्ने मानिसहरू ठुला हुन्। दुःख र अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्ने मानिस ठुला हुन्। त्यसैले जातका आधारमा हेला वा अपमान गर्छ भने त्यो सामाजिक अपराध हो। अपराध गर्नेहरू दण्डको भागीदार हुनुपर्छ।’ यत्तिकैमा रामे उठ्यो र भन्यो।
– मिस! हाम्रा गाउँमा पनि जातका आधारमा भेदभाव हुन्छ। तिनलाई के गर्ने?
– समाजमा त्यस्ता मानिसलाई उभ्याउनुपर्छ। सबैसँग माफी माग्न लगाउनुपर्छ। अबदेखि यस्तो हुँदैन भनेर मिसले बोलिन्।
– हुन्छ मिस,अब पण्डित बाजेले माफी माग्ने भए। रामेको मुहानबाट मुस्कान निस्कियो।
– पण्डित ! .... मिसका अनुहारमा भने पीडाको झझल्को देखियो।
प्रकाशित: ७ श्रावण २०७८ ०८:३२ बिहीबार