१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

भन त आमा – म के गरूँ ?

कविता

पुष्प आर जे

 

हिमालको चिसो काखमा जन्मिएको मान्छे  

तल नीलो समुद्र र

माथि नीलै आकाश छिचोल्दै  

बोइङ जहाजबाट उत्रिएर

साठी डिग्रीको  

तातो मरुभूमिको पहिलो स्पर्श गरें

अनि मनमनै बाचा गरें

भो ! म यहाँ बस्दिन।

        +   +   +

फेरि याद आयो – साहुको सयकडा

मखमलीको पेटमा हुर्कंदै गरेको  

सानो भ्रूण

जसलाई यो संसारमा योग्य बनाउँनु छ

अनि जिम्मेवार पिता हुनुको – गर्व गर्नु छ।

साट्नु छ  

एक अर्काका खुशी र अनगिन्ती सपनाहरू।

+

त्यसैले त म

पोल्ने तातो वायुको बिरानो देशमा  

एक्लै आएँ।

सारा खुशी त्यतै छोडेर  

यादहरू भने मनभरि छचल्किरहेका छन्

भन त आमा – म के गरूँ ?

        +     +     +

सुनेको थिएँ साथीहरूबाट

रातो बाकसका कथाहरू

हेपिएको हरियो पासपोर्ट  

मेनपावरका जाली कथाहरू

रातो टीका र मालामा सजिदा

तपाईंको कामेको हातले दिएको आशीर्वाद  

लरबरिएको बोली  

मेरो स्मृतिपटलमा – अझै ताजा छ।

मखमली उभिएको भित्तातिर फर्किएर गरेको  

सुँक्कसुँक्क...।

मनभरि सबैलाई जतनसाथ राखी

झरेका आँसु नदेखिने गरी पुछ्दै

बिदाईमा खुशी छु भनी  

गहमा आँसु रोकेर  

देखावटी हाँसो हाँसेकै थिएँ ;

भन त आमा – म के गरूँ?

         +    +     +

पल्लो कोठाको निमा दोर्जेन

‘आमा म भोलि फर्कदैछु कहिले यो देश नआउने गरी’

खुशी साट्दै फर्केको थियोे।

घरआँगनीमा टेक्न नपाई  

सानी छोरी बाबा...बाबा भनी हात समाउन आएको  

कल्पनामा हराउँदै गर्दा

सुरक्षाकर्मीहरूको भिडभित्र  

सेतो कपडाले ढाकेको छोरीलाई

‘कठै बरा यति सानो नानीलाई नरपशुहरूले’

आँसु पुच्दै सुँक्कसुँक्क गरिरहेका थिए।

कसैले अस्मिता लुटी फ्याँकिदिएको थियो  

कान्लामुनि झाडीमा।

सुन्दैछु  

वर्षौबित्दा पनि न्याय पाउन नसकी

निमा अझै हत्यारा खोज्दै हिँडुदै छ रे

अनि न्यायको आसमा

ऊ कानुनको ढोका ढकढकाउँदै छ रे।

            +     +     +

मेरै साथी पिताम्बर

छ महिना पहिले  

फर्केको थियोे स्वदेशमै केही गर्छु भन्दै।

नेपालको ढिलासुस्ती  

कानुनी उल्झन  

पाइलैपिच्छे तिर्नुपर्ने कर र कमिसनबाट थाकेर  

जीवनका सपनाहरू अधुरै थाती राखी

रोजेको थियोे – मृत्यु।

    +      +      +

तराईको उब्जनी जग्गा  

बैंकमा धितो राखि

म जस्तै पीडा र वेदनासँग लड्दै..

धेरै धन कमाउने आसमा

“सहदेव“

पसेको थियोे मरुभूमि।

भेडीगोठमा कैयौं मृत्युसँग जुध्दै

फर्केको थियोे आफ्नै प्यारो देश

बैसाखी टेकेर

क्षतिपूर्तिस्वरूप पाएको केही रकम लिएर।

ऊ घर पुग्दा  

आफ्नै खेतमा

ठडिएको थियोे कसैको महल ;

अनि उसलाई मृतक घोषणा गरी

बेचिएको थियोे खेत।

सुन्दैछु आजभोलि – सहदेव

विक्षिप्त बनेर

सडक र गल्लीमा भिख माग्दैछ रे।

              +   +    +

फोस्रा आदर्शका कुराहरूले मात्र

कहाँ भरिन्छ र भोको पेट।

राजनीतिको ओसले

चाउरिएको तपाईंको अनुहार  

अनि मेरी  

मखमलीको मलिन अनुहार

आफू बाध्यताको बन्दी बनेको देखेर

मरुभूमिमा झरेका  

मेरा बलिन्द्रधारा आँसुहरू

साथीहरूका ढलेका मार्मिक सपनाहरूको  

साक्षी मात्र बन्नसक्यो

भन त आमा – अब म के गरुँ...?

प्रकाशित: ६ श्रावण २०७८ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App