२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भाग्य

लघुकथा

किशन पौडेल

 

गुरुसँग साइत हेरेर घरबाट अलि पर के पुगेको थिएँ कालो बिरालोले बाटो काट्यो। मैले तुरुन्तै ज्योतिष गुरुलाई फोन गरे ,

‘गुरु, कालो बिरालोले बाटो काट्यो। अब म के गरूँ ?’

गुरुको आदेश भो, ‘तपाई तुरुन्तै घर फर्किनुस् , राहुकालमा प्रस्थान गर्नुभएको रहेछ काम सफल हुँदैन।’

गुरुको आदेशबमोजिम म घर फर्केर आएँ र साइत हेरेर बस्न थाले। दुई दिनपछि चन्द्रमा दाहिने हुने रहेछ। फेरि यात्रा सुरु गर्ने विचार गरे र घरबाट निस्केर सडकमा मात्र के पुगेको थिएँ, एक महिला खाली गाग्री बोकेर पानी लिन जाँदै रहेछिन्।

टक्क अडिएर सोच्न थाले– ओहो बरबाद हुने भो, खाली गाग्री देखियो।

अपसगुन हुने भो भन्ने सोचेर ज्योतिष गुरुलाई फोन लगाएँ – गुरु बरबाद भो नि, हिँड्न लागेको थिएँ । खाली गाग्री देखियो, के गरूँ अब गुरु ?

गुरुले केहीबेर गमेर भन्नुभयो– तुरुन्तै फर्किहाल्नुस् । अहिले हिँड्नु ठिक छैन।

गुरुको आज्ञा शिरोपर गर्दै फेरि घर फर्किएँ।

फेरि दुईचार दिनपछि अबचाहिँ हिँड्नुपर्ला। ढिलो नगरौँ भन्ने सोचेर बिहानै हिँड्ने तरखरमा थिएँ। एकाबिहानै घरको ढोकामै आएर कालो काग करायो । लौ आज नि बरबाद भो यात्राको साइत जुरेकै रहेन छ भन्ने लागेर निराशा भएर ओछ्यानमै पल्टिएर समाचार सुनेर बस्दै थिएँ।

एक्कासि गुरुको फोन आयो– हजुरको आज ग्रहगोचर धेरै बलियो देखिएको छ । कतै नहिँड्नु होला। गन्तव्य आफैँ बाजागाजा लिएर हजुरलाई घरमा लिन आउँदै छ।

गुरुको भविष्यवाणीले म दङ्ग पर्दै थिएँ।  

यता समाचारले फुकिरहेको थियो– उहाँलाई तुरुन्तै नियुक्ति गरेर बाजागाजासहित ल्याएर शपथ गराउनु भन्ने श्रीमानको आदेश भएको छ !

प्रकाशित: ४ श्रावण २०७८ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App