२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

ध्वाँसे मुहार

कथा

नन्दलाल आचार्य 

 

साउने खडेरीले राजविराज नगरीको सडक खुब तातेको छ। वरपरको छहारीमा शरण लिँदै मानिसहरू अझ गरम कुरा गरिरहेका छन्। म जिल्ला प्रहरी कार्यालयको हिरासतको एक कुनामा थुप्रिएको छु। मनमा तीता–टर्रा दृश्यहरू आइरहन्छ; गइरहन्छन्। कुनै घटना क्रमलाई रोकेर मनमै मथ्न सक्दिनँ। नमथे नौनी निस्कने कुरै आएन।

गेट नजिक डिउटी गरिरहेको प्रहरी ठिटोको संकेत पाउनासाथ जुरुक्क उठ्छु। मन चङ्गा बनाउँछु। मलाई कोही भेट्न आएको सोच्छु र अनायास पाइला अघि बढाउँछु।

ठिटो फिस्स हाँस्दै भन्छ– एई माष्टर ! सुन्; तेरी स्वास्नीको शव यात्राको खलबल र तेरा विरूद्धको नाराबाजी !

म बाहिरतिर नजर फ्याक्न खोज्छु। आँखा त चार भित्ताभित्रै कैद भएको पाउँछु। कानलाई चनाखो पार्छु र कैदमुक्त अवस्थामा हिरासत कक्ष बाहिर पठाउँछु।

सुन्छु–  पत्नी हत्यारा अरमानलाई – फाँसी दे ! फाँसी दे !

मास्टरको नाममा अरमान – गद्दार हो; गद्दार हो ! 

दुष्टको दमन नै – समाजको उत्थान हो ! उत्थान हो !

निर्दोष कमलीको आत्माले – शान्ति पाओस् ! शान्ति पाओस् !!

आफूविरुद्धका नाराहरू सुनेर मन हुँडुलिएर आउँछ । आँखाका कोसहरूले आँसु बारेर राख्न सक्तैनन्।

फलतः आँखा रुझिरहन्छन् मनमा आशंकाको हुरी चलिरहन्छ। वरपरको मानव कुराकानीले समेत गालामा थप्पड बर्साइरहन्छ।

–एई सुनिस् नि; तँ हत्यारा नै होस् भन्ने कुरा। साँचो बयान दे ! हाम्रो केरकारलाई असहजरूपमा नले। प्रहरी ठिटो थप्दै गयो। कलिलै उमेरमा जेल जाने परिस्।

उसको भाषणले विश्राम नलिँदै म पुनः कुनामै थुप्रन आइपुग्छु । गहिरो श्वास लिन्छु। मनमा बेचैनीलाई धपाउने प्रयत्न गर्छु।

अनायास मन विष्फोट हुन्छ– प्यारी कमली ! मैले तिमीलाई दुर्व्यवहार गरेकै छैन। मात्र बेवास्त गरेर मानसिक आघात पुर्याएको हुँ।

हो; म आफ्नै सहपाठी सरलातिर ढल्केको थिएँ। बातचितबाहेक अन्य सम्बन्ध बनाउन तिमी बाधक भएकै हौ। तिम्रो अनुमति बेगर म एक डेग पनि हिँड्न सक्तिनथेँ। अझ तिम्रो पेटमा मेरो वंश हुर्किरहेको थाहा पाएर म हर्षले पुलकित भएको थिएँ।

बिस्तारै म तिमीबाट पग्लँदै थिएँ। तिमी अझ कठोर बन्दै थियौ। म विश्वासको वातावरण बनाउँदै थिएँ। तिमी घोर अन्धकारमय खाडल खन्दै रहिछ्यौ।

तिमीले पेटको तीन महिने गर्भ फालेको थाहा पाएपछि म रन्थनिएको थिएँ। आफ्नो इरादाविरुद्धको तिम्रो कृत्य पचाउन मलाई सकस परेको थियो।

त्यही झोकमा दुईचार लात र बात बर्साएको थिएँ। तिमीले झुन्डिने नै निर्णय गरिछ्यौ।

कमली ! म तिम्रो मृत्युको कारण अवश्य बनेँछु तर हत्यारा होइन। तिम्रो नजरमा पतित पात्र बनेँछु तर याद राख; घृणित चरित्र भने बनाएको छैन।

म तिमीसँग फुलाएका दुई वसन्तको याद गर्दै बस्न बाध्य छु । तिमीले आत्महत्या गरेर आफूलाई मात्रै दण्ड दिइनौ। ममार्फत् मेरो खानदानकै मुहार पोतिदियौ । पोतिएको मुहार लिएर धरती टेक्न विवश छु।

प्रकाशित: ४ श्रावण २०७८ ०६:१७ सोमबार

अक्षर