राजेन्द्र पहाडी
ऊ शिक्षण सेवामा आबद्ध भएको दुई दशकभन्दा बढी भैसक्यो। नयाँ मान्छे देख्यो कि आफ्ना शिक्षण अनुभवहरूको फेहरिस्त प्रस्तुत गर्न लालायित भैहाल्छ। दुनियाँको नजरले उसलाई विद्यालयमा अनियमित हुने, कक्षामा कम जाने, विद्यार्थीले नरुचाउने र दलीय राजनीतिमा रुचि भएको शिक्षकका रूपमा चिन्छन्। तर, अरूले मानून् या नमानून् आफूले पढाउने विद्यालय र समग्र शिक्षा प्रणालीको चिन्तनमा लगभग चौबीसै घण्टा बिताउनु उसको दिनचर्या हो भन्ने ठान्छ उसले।
एकदिन विद्यालयको रजत महोत्सव समारोह चलिरहेको थियो। कार्यक्रम सञ्चालकले उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकहरूलाई सम्मान तथा पुरस्कार ग्रहणका लागि मञ्चमा बोलाउँदै थिए। ऊ सम्मानित हुनेमा ढुक्क थियो। तर, उसको नाम आएन, आउँदै आएन। ऊ दङ्ग परयो, छक्क परिरह्यो।
एक्लै पुट्पटियो– ‘असल मान्छे चिन्न कोही तयार छैन। चोरलाई चौतारो र साधुलाई सुलीमा चढाउने जमाना जो छ।’
समारोहमा उपस्थित कुनै अभिभावकले आफू नजिकैको अर्को व्यक्तिसँग फुस्फुसाउँदै थिए– ‘कक्षाकोठामा पूरा समय बसेर विद्यार्थीको मन जित्ने गरी पढाउने शिक्षकहरू पुरस्कृत भए। तर, राजनैतिक दलको झोला बोकेर पढाउन ध्यान नदिने कामचोर, अर्काको कुरा मात्र काट्ने र आकाश–पातालका गफले शैक्षिक विकासको कोकोहोलो गर्ने तिरस्कृत भए ।’
अर्का अभिभावकले थपे– ‘पुरस्कार र तिरस्कारको बीचको भिन्नता क्या गजबले देख्न पाइयो।’
प्रकाशित: ३ श्रावण २०७८ ०८:२२ आइतबार