नारायण कोइराला
म विकट गाउँको चिसोमा ज्याकेट लगाएर हिँड्दै थिएँ। खुट्टामा लगाएको जुत्ताले जमीनी चिसो छेकेको थियो। म चिसोबाट सुरक्षित थिएँ।
चिसोले मलाई सोध्यो,“यो गाउँमा जुत्ता लगाएर किन आइस्?” मैले उसको कुरातिर ध्यान दिइन।
अलि पर पुग्दा हुस्सुल(कुइरो)ले मलाई अर्को प्रश्न गर्यो,“यो गाउँमा किन ज्याकेट लगाएर आइस् ?”
ज्याकेटले मेरो शरीर छोपेको हुँदा जाडोबाट म सुरक्षित थिएँ। उसको कुरामा पनि ध्यान दिइन।
म गाउँको बीच भागतिर पुग्दै थिएँ। बच्चाहरू म भएतिर आए। म उनीहरूलाई हेर्दै थिएँ। उनीहरू काप्दै थिए। न त शरीरमा ज्याकेट थियो,न त चप्पल। उनीहरूमाथि हुस्सु र जमीनी चिसो हाँसिरहेको अनुभव भयो। उनीहरू मजस्तो जाडोबाट सुरक्षित थिएनन्।
मलाई फेरि प्रश्न आयो,“के यो गाउँमा आफू जाडोबाट सुरक्षित छु भनेर गाउँलेलाई देखाउन आएको होस्।”
त्यतिबेला मसँग उत्तर थिएन। आजभोलि गाउँमा मानिसहरू जाडोसँग डराउनु पर्दैन। गाउँमा स्थापना भएको घरेलु उद्योगले जाडो छेकेको छ।
हुस्सु र जमीनी चिसोले आजभोलि प्रश्न होइन यस्तो पो भन्छन त,'तपाईंलाई बधाई छ,हामीलाई हराउनुभएकोमा।'
प्रकाशित: ३ श्रावण २०७८ ०२:५८ आइतबार